दमक/ दमक उद्योग वाणिज्य संघको आगामी नेतृत्व चयनका लागि निर्वाचनको मिति घोषण नभई संघको विभिन्न पदमा उम्मेद्वारहरु चयन गर्ने आन्तरिक कसरतमा दल तथा व्यवसायीक संघ संगठनहरु लागेका छन् ।
कतिपय व्यवसायीक क्षेत्रका व्यक्तिहरु आआफ्नो दाबीसहित व्यापारीक संघ संगठन र पार्टीहरुसंग आन्तरिक लविङमा जुट्न थालेका छन भने कतिपयले औपचारिक र अनौपचारिक दुवै खाले छलफलहरु चलाईरहेका छन् ।
वाणिज्य संघको विधान अनुसार ठिक एक महिना पछि यहि भदौ तेस्रो साता संघको नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ । नेतृत्व हत्याउन दलीय रुपमा नेकपा ,नेपाली कांग्रेस,राप्रपा , समाजवादी पार्टी लगायतका मुख्य दलहरु आआफ्ना निकटका व्यवसायीहरुमाझ जान थालेका छन् ।
हाल तिनै तहको सरकार र दमक उद्योग वाणिज्य सङ्घमा समेत वर्चश्व राखेको दल नेकपाले वाणिज्य सङ्घको निर्वाचनका उम्मेद्वारहरु चयनका लागि कसरत शुरु गरेको नेकपा स्रोतले जनाएको छ । नेकपाले निर्वाचनमा उम्मेद्वारका आकांक्षी धेरै भएपछिको सो को व्यवस्थापनमा निक्कै चुनौती झेल्नु परिरहेको पनि बताइएको छ ।
नेकपा निकट व्यवसायीहरुले निर्वाचन परिचालन समिति गठन गरिसकेपनि उम्मेद्वारका बिषयमा आन्तरिक रुपमा गहिरो र जटिल किसिमको मतभेद रहेको बताइएको छ । ध्रुवप्रसाद भट्टराईको संयोजकत्वमा औषधी व्यवसायी राजेन्द्रकुमार ढकाल सहसंयोजक रहेको २९ जना सम्मिलित निर्वाचन परिचालन समिति नेकपा निकटका व्यवसायीहरुले बनाएका छन् । पार्टीकै पहलमा सो समिति बनेको बताइएको छ ।
नेकपाले राजनीतिक रुपमा निर्वाचन नियमन र समन्वयका लागि पार्टीका नेता दुर्गा चौलागाईंको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको स्रोतले जनाएको छ । पार्टीले नेकपा निकटका व्यवसायीहरुबीच उम्मेद्वार चयनमा रहेको जटिलतालाई मध्यनजर गर्दै दमकको बालुवाटारस्थित पूर्व माओवादीको कार्यालय तथा जनवर्गीय संगठनहरुको जिल्ला कार्यालयमा शुक्रबार बिहानैदेखि छलफल गरेको छ ।
नेपाली कांग्रेसले पनि संघको निर्वाचनलाई लक्षित गर्दै पार्टी निकट व्यवसायीहरुको भेला तथा छलफल कार्यक्रमलाई निरन्तरता दिएको छ । कांग्रेसले महासमिति सदस्य सुरेश सुव्वाको नेतृत्वमा संघको निर्वाचनमा अन्य राजनीतिक दलहरुसंग सम्वाद र समन्वयका लागि समिति गठन गरेको बताइएको छ ।
पार्टीको नगर तथा क्षेत्रीय समितिको साउन ९ गते बसेको बैठकले सुव्वाको संयोजकत्वमा ७ सदस्यिय वार्ता समिति बनाएको हो । समितिले सवै राजनीतिक दलहरुसँग छलफल र बहस गरि सवैको समानुपातिक प्रतिनिधित्व हुने ढंगबाट नेतृत्व चयन प्रकृयालाई सहयोग गर्ने बताइएको छ ।
वाणिज्य संघको आसन्न साधारणसभा तथा नेतृत्व चयन प्रकृयालाई लक्षित गरि राप्रपा पनि सक्रिय भएको छ । वाणिज्य संघको नेतृत्व चयनलाईनै लक्षित गरि राप्रपाले दमक नगर समितिले बिजय बरालको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ । समितिका सदस्यहरुमा भिम पौडेल, तारा प्रसाद अधिकारी, बासुदेव भट्टराई र कृष्ण तिम्सिना सदस्य रहेका छन् । समितिले अन्य राजनीतिक दलहरुसँग समन्वय तथा संवाद गर्ने, पार्टीको तर्फबाट उम्मेद्वारतय गर्ने लगायतका काम गर्ने बताइएको छ ।
संघीय समाजवादी पार्टी नेपालले यस अघिनै वाणिज्य संघको निर्वाचनलाई लक्षित गरि एक पहल समिति गठन गरेको छ । पार्टीका प्रदेश अध्यक्ष प्रविण चाम्लिङ्गको संयोजकत्वमा एक निर्वाचन परिचालन तथा पहल समिति गठन गरिएको जिल्ला अध्यक्ष दिपेनवाला राईले जानकारी दिएका छन् ।
को को छन सम्भावित उम्मेद्वार ?
यस पटकको उद्योग वाणिज्य संघको निर्वाचनलाई निक्कै महत्वका साथ हेरिएको छ । तीनै तहमा नेकपाको बहुमत सरकार रहेको र दमकको स्थानीय तहमा दुई तिहाई बढीको हैसियत राखेको नेकपा भित्र संघकोे अध्यक्षसहित धेरै पदका आकांक्षीहरु संख्यात्मक रुपमा धेरै देखिएका छन् भने अन्य दलसंगको सहकार्यमा चुनावी प्रतिस्पर्धामा जाने तयारीमा रहेको नेपाली कांग्रेसले सर्वसम्मत रुपमा अध्यक्ष पदमा संघका पूर्व प्रथम उपाध्यक्ष तथा युवा व्यवसायी गोकूल श्रेष्ठलाई उठाउने सम्भावना बढेको छ ।
पार्टीको पहलमा भएको कांग्रेस निकट व्यवसायीहरुको भेलाले यस अघिको संघको निर्वाचनमा समेत अध्यक्षमा कडा प्रतिस्पर्धा गरेका श्रेष्ठलाइनै अध्यक्षका लागि सिफारिस गर्नुपर्ने आवाज उठेपछि उनको सम्भावना पक्कापक्की जस्तै देखिएको हो । कांग्रेसले अन्य पदहरुमा धेरै आकांक्षी रहेपनि अन्य दलसंगको सहकार्यका लागि भन्दै उम्मेद्वार घोषणा गरेको छैन । कांग्रेसले आइतबार साँझ सम्ममा सबै उम्मेद्वारको टुंगो लगाइसक्ने निकट स्रोतले जनाएको छ ।
नेकपा भित्र भने यस अघिको निर्वाचनमा तत्कालिन एमालेबाट विद्रोह गरेर चुनाव जितेका उम्मेद्वारहरुनै फेरीपनि अध्यक्ष पदमा दाबेदारका रुपमा देखिएका छन् । पहिले विद्रोह गरेपनि अहिले पार्टीको नगर कमिटी सदस्यको समेत जिम्मेवारीमा रहेका संघका अध्यक्ष राजेन्द्र ढकाल , उनकै नेतृत्वको समुहबाट उम्मेद्वार भई वरिष्ठ उपाध्यक्ष बनेका विमल खतिवडा र तत्कालिन नेकपा एमालेको तर्फबाट आधिकारिक उम्मेद्वार बनेर प्रथम उपाध्यक्ष बनेका देवी प्रसाद गुरागाइँ ( गोपाल) लाई अहिले अध्यक्ष पदका प्रत्यासीका रुपमा हेरिएको छ । नेकपा निकट व्यवसायीहरु माझ मात्रै नभई पार्टी नेतृत्वनै संघको अध्यक्षका उम्मेद्वारका बिषयलाई लिएर विभाजित रहेका बताइएको छ ।
नेकपा भित्र यस अघिको निर्वाचनमा तत्कालिन एमालेको तर्फबाट अध्यक्षका उम्मेद्वार गणेश बस्नेतसहितका आधिकारिक उम्मेद्वारहरुका विरुद्ध विद्रोह गरेकाहरुनै पार्टीको तर्फबाट यसपटक उम्मेद्वार बन्न रस्साकस्सीमा लागेपछि गत निर्वाचनका उम्मेद्वार व्यवसायीहरुले आन्तरिक रुपमा गम्भिर असहमती राख्ने सम्भावना पनि उत्तिकै देखिएको छ । ( निष्कर्ष न्यूज साप्ताहिकको १३ औं अंक, १८ साउनबाट)