दमक/ दमक वडा नं २ मा पर्ने हंसेदुम्से सामुदायिक वनको ५ हेक्टर जग्गामा एकैसाथ आँपका विरुवा रोप्न शुरु गरिएको छ ।

सामुदायिक वन उद्यम विकास कार्यक्रम अन्तर्गत त्यहाँको साविकको भुटानी शरणार्थी शिविर रहेको स्थानमा वन उपभोक्ता समुहले दमकलाई आँपमा आत्मनिर्भर बनाउने उद्धेश्यसहित उन्नत किसिमका आँपका विरुवा रोपेका हंसेदुम्से सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष हिमालय प्रसाद दाहालले जानकारी दिए ।

उनका अनुसार त्यहाँको ५ हेक्टर क्षेत्रफलमा विभिन्न प्रजातीका आँपका ९ सय ६० विरुवा रोपिँदैछ । ति विरुवा बृहत कोशी जलाधार व्यवस्थापक केन्द्र उदयपुरबाट खरिद गरि ल्याइएको हो । त्यहाँ माल्दह, दशहरा, आमरपाली, बम्बई लगायतका जातका आँप रोपिएको छ । रोपिएका आँपको उत्पादन एक बर्षदेखिनै शुरु हुने भएकाले एक बर्षपछि देखि दमकमा भारत तथा अन्य बजारबाट आउने बिषादीयुक्त आँपलाई केहि हद सम्म भएपनि प्रतिस्थापन गर्न सहयोग पुग्ने हंसेदुम्से सामुदायिक वनको अपेक्षा छ ।

आँपको उत्पादनले यहाँँको आवश्यकतालाई परिपूर्ति गर्न सहयोग पुरयाउनुका साथै वनको संस्थागत आयस्रोत समेत मजबुत हुने र समुहको संस्थागत खर्चका लागि रुख बेच्नुपर्ने अवस्थाको अन्त्य हुने विश्वास गरिएको अध्यक्ष दाहालले बताए । उनले भने –वनले बाटो देखाउने हो यहि तरिकाबाट अन्य खाली क्षेत्रमा पनि जग्गाधनीले आँपको खेती गर्दा दमक आँपमा आत्मनिर्भर हुन सक्छ । दमक २ का वडाध्यक्ष प्रजापती सापकोटा फलफूलमा आत्मनिर्भर बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको उद्घोषलाई साकार बनाउन स्थानीय तहले यस किसिमका कार्यक्रमलाई प्रोत्साहन गर्ने बताए ।

Facebook Comments Box