विष्णु पौडेल
दमक/ झापा दमक नगरपालिका वडा नं ५ को प्रगति टोलका भद्रमान चाम्लिङ राई आफैं बुढ्यौली र अशक्तताका कारण दिनदिनै थला पर्दैछन् । उमेरले पुग न पुग ७५ बर्षका चाम्लिङकी श्रीमति पहिल्यैदेखि बेसुर जस्तै छिन् ।
प्राय एकसुरमा बस्ने , खान सक्ने सम्मको अवस्थामा छिन् । बुढेसकालमा बसि खाने उमेर तिर ढल्किँदै जाँदा मन शान्त छैन । हात गोडा बस्न थालेका छन् । यो उमेरमा भद्रमानको स्याहार सुसार गर्नुपर्ने दायित्व भएका लगभग २७/२८ बर्षिय छोरा मंगलको पनि शारिरिक र मानसिक अवस्था एक बर्षदेखि क्रमश नाजुक बनिरहेको छ ।
उपचार खर्चको अभावमा छोरालाई विज्ञ चिकित्सक सम्म पुर्याउन सकेका छैनन चाम्लिङले । सुस्त मनस्थितीका कारण मंगल एकसुरमा बस्छन् । बोलायो भने मुश्किलले जवाफ दिन्छन । आफैं होस चेतका साथ केहि काम गर्न सक्दैनन् । दिएको खान्छन । भोकै भए यता उता भौंतारिन्छन् । मंगल एक बर्षदेखि सुस्त मनस्थितीको समस्याका कारण ओछ्यान परेपछि आर्थिक रुपमा कम्जोर सो परिवारको दैनिकी कष्टकर रहेको स्थानीय प्रेम कालिकोटेले जानकारी दिए ।

एकातिर छोरा मंगल र मंगलकी आमाको कम्जोर स्वास्थ्य अवस्था अर्कोतिर आर्थिक विपन्नता । २४ बर्ष अघि त्यहाँको ऐलानी जग्गामा बनाएको एउटा फुसको घर भत्कियो । भर्खरैको भारी बर्षा र घर पछाडीको खोल्सीमा बर्षासंगै आएको बाढीले उनको घर बस्न नहुने अवस्थाको बन्यो । साउनको पहिलो सातादेखि चाम्लिङ परिवार पूर्ण रुपमा बेसहारा बन्यो । धेरै ठुलो झरी र भेल बाढीमा चाम्लिङ परिवारलाई घर नजिकै रहेको दमक ५ का वडाध्यक्ष इन्द्र गुरुङले आफ्नै निवासमा आश्रय दिए । तर एक/दुई दिन वित्दै गएपछि आफ्नै घर टालटुल गरेर बस्न थाल्यो चाम्लिङ परिवार । उनको यो अवस्थालाई वडाध्यक्ष गुरुङले वडा समितिका अन्य सदस्य तथा कर्मचारीहरुसमक्ष छलफलमा राखे ।
दमक नगरमा विपन्नका लागि आवास कार्यक्रम त आएको छ तर यसको प्रकृया पुरा गर्न समय लाग्ने भएका कारण तत्कालै घर निर्माणको आकस्मिक योजना बन्यो । अहिले दमक ५ को वडा कार्यालयले चाम्लिङ परिवारका लागि काठे घर भएपनि बनाउन शुरु गरेपछि लायन्स क्लब अफ दमक विग बुद्धले पनि होस्टेमा हैंसे…..गरेको छ ।
क्लबका अध्यक्ष दिवस राईसंग वडाध्यक्ष गुरुङले घर निर्माणलाई पूर्णता दिन सहयोगका लागि आग्रह गरेपछि १८ साउन शनिबार अपरान्ह क्लबले निर्माणाधिन घरका लागि आवश्यक पर्ने जस्ता पाता हस्तान्तरण गर्यो । बुढेसकालको सहारा छोराको स्वास्थ्य अवस्था र परिवारको समग्रमा आर्थिक अवस्थालाई मध्यनजर गर्दै वडा कार्यालयले गरिरहेको सहयोगमा विग बुद्धले सहयोग गर्न पाएको भन्दै क्लबका पदाधिकारी र सदस्यहरुले थप आवश्यक सहयोगका लागि तयार रहेको बताएका छन् ।
क्लबको समेत सहयोगमा वडा कार्यालयले दुई/चार दिन भित्रै घर निर्माण पूरा गरी चाम्लिङ परिवारलाई पुर्नस्थापना गराउने योजना रहेको दमक ५ का वडा सचिव भोसकुमार थुलुङले बताए । उनले भने – छिट्टै घर निर्माण पूरा गरेर पीडित परिवारलाई हस्तान्तरण गरिनेछ । लायन्स क्लबका लिडर एवम् दमकका सामाजिक व्यक्तित्व गोपाल अग्रवाल लायन्स क्लबमाथि सर्वसाधारणमा रहेको भ्रमलाई चिर्न यस किसिमका सहयोगका कार्यक्रमहरुलाई निरन्तरता दिइनु आवश्यक रहेको बताउँछन् ।
वडाध्यक्ष गुरुङ्गले क्लबले विपन्न परिवारको पुर्नस्थापनाका लागि गरेको सहयोगको प्रशंसा गरे ।