दमक/ यकिन मिति घोषणा भईनसकेको तर भदौको तेस्रो साता हुने भनिएको दमक उद्योग वाणिज्य संघको निर्वाचनका लागि अध्यक्ष पदका सम्भावित उम्मेद्वारहरुको नाम सार्वजनिक भएसंगै ४ उपाध्यक्ष पदमा समेत विभिन्न व्यवसायी नेताहरुको नाम बाहिर आउन थालेको छ ।
संघको अध्यक्षका लागि नेपाली कांग्रेस निकट लोकतान्त्रिक व्यवसायीहरुका तर्फबाट अध्यक्षमा गोकूल श्रेष्ठसंगै ४ उपाध्यक्षका उम्मेद्वार को को हुने भन्ने बिषयमा पनि चर्चा परिचर्चा शुरु भएको छ । यद्यपी कांग्रेसले राप्रपा र संघीय समाजवादी फोरम र नयाँ शक्तिबीचको एक्ता पछि बनेको संघीय समाजवादी पार्टीसंग समेत सहकार्य गर्ने भएकाले चार वटै उपाध्यक्ष पदमा भने उम्मेद्वार छान्ने कसरत नगरेको निकट स्रोतले जनाएको छ ।
कांग्रेसले ४ उपाध्यक्ष मध्ये सहकार्य गर्ने अन्य दललाई ३ उपाध्यक्ष दिएर एउटा मात्रै आफूले राख्ने कसरतमा रहेको बुझिएको छ ।
अहिलनै सहकार्यका लागि राप्रपा र संघीय समाजवादीसंग अन्तिम टुंगो नलागेको अवस्थामा ति दुवै दल नेकपासंग नजिकिएको अवस्थामा चाहिं कांग्रेस एक्लै कसरी अघि बढ्ने भन्ने बिषयको गृहकार्यमा समेत लाग्नुपर्ने दबाब नेतृत्वमाथि परेको छ ।
कांग्रेस भित्र अहिले सम्म उपाध्यक्ष ४ पदका लागि युवा महिला नेतृ एवम् संघकी वर्तमान कार्यसमिति सदस्य रमा लिम्बुको नाम प्राथमिकतासाथ चर्चा भईरहेको छ भने मुकुन्द उप्रेती, तुल्सी दंगाल लगायतले पनि कुनै एक पदाधिकारीमा आफ्नो उम्मेद्वारीको भित्र भित्रै दाबी शुरु गरिसकेका स्रोतले जनाएको छ ।
कांग्रेस भित्र जस्तै राप्रपा भित्र संघका वर्तमान कार्य समिति सदस्य राजकुमार योङयाको नाम पनि उपाध्यक्ष पदका लागि चर्चामा आउन थालेको छ ।
त्यसैगरी संघीय समाजवादी पार्टीबाट संघका वर्तमान कार्यसमिति सदस्य तथा युवा व्यवसायी राजु खड्काको नाम उपाध्यक्ष पदमा चर्चा भईरहेको छ । नेकपा निकट व्यवसायीहरु माझ अध्यक्ष पदमै संघका वर्तमान अध्यक्ष , उपाध्यक्षहरु समेत ३ जनाले आकांक्षा राखेपछि अबको चुनावमा उपाध्यक्ष पदका लागि संघका वर्तमान कार्य समिति सदस्यहरुको नाम चर्चामा आउन थालेको छ ।
संघका ४ उपाध्यक्ष मध्ये एकका लागि पूर्व माओवादीको कोटाबाट संघका वर्तमान कार्य समिति सदस्य तथा युवा व्यवसायी ज्ञानु पौडेलको नाम अग्रपक्तिंमा चर्चामा छ भने पूर्व एमालेबाट महेन्द्र खड्काको नामका बिषयमा चर्चा भईरहेको छ । नेकपाले उम्मेद्वार बन्न इच्छुकहरुको राय बुझ्ने एउटा टोलीनै बनाएर गोप्य रुपमा सर्वेक्षण गरिरहेको स्रोतले बताएको छ ।
बजारमा चर्चामा आएका र चुनाव जित्ने आधार भएका सम्भावित व्यवसायीहरुका बीचमा नेकपाले अहिलेका वहालवाला जनप्रतिनिधि र पार्टीमा सफल नेतृत्व गरेका तथा अगुवा व्यवसायीहरुलाई चुनावमा आधिकारिक उम्मेद्वार, तिनका विरुद्ध हुन सक्ने विद्रोह, त्यसको व्यवस्थापन लगायतका बिषयमा भित्री रुपमा बुझ्नका लागि खटाएको बताइएको छ ।