दमक/ नेकपा निकट व्यवसायीहरु आसन्न दमक उद्योग वाणिज्य संघको निर्वाचनका लागि उम्मेद्वार चयन गर्ने कसरतमा जुटिरहेका बेला पार्टीले उम्मेद्वार बन्न चाहने इच्छुकहरुसंग उम्मेद्वारीका लागि इच्छा पत्र मागेको छ ।
करीब एक महिना भित्रै सम्पन्न हुने संघको निर्वाचनमा उम्मेद्वार बन्न पाउँ भन्ने आशयको इच्छा पत्र भर्नेमा अध्यक्ष पदमा २ जनासहित कूल २९ जना रहेका नेकपा निकट स्रोतले जनाएको छ ।
नेकपाबाट यस पटक उम्मेद्वारका लागि इच्छा गर्नेमा तत्कालिन नेकपा एमालेबाट विद्रोह गरी पार्टीबाट ३ बर्ष अघि निष्कासनको कारवाही ब्यहोरेका संघका वर्तमान अध्यक्ष राजेन्द्र ढकाल र वरिष्ठ उपाध्यक्ष विमल खतिवडा समेत छन् । ढकाल र खतिवडा ( दुवै जना)ले यस पटक भने अध्यक्ष उम्मेद्वारको टिकट पाउनका लागि पार्टीमै आवेदन गरेका हुन । समाचार स्रोतहरुका अनुसार ढकालले यस पटक पार्टीले गर्ने निर्णय आफूलाई मान्य हुने नेताहरुसंग आशय राखेका छन भने खतिवडाले पार्टीले गर्ने निर्णयका आधारमा आफूले कदम चाल्ने भन्दै चेतावनीपूर्ण आशय राखेका नेकपा स्रोतले जनाएको छ ।
ढकाल र खतिवडा जस्तै विभिन्न पदमा उम्मेद्वार बन्न पाउँ भन्ने आशयको आवेदन दिने नेकपा निकटका व्यवसायीहरुको संख्या २९ रहेको छ । यस अघिको निर्वाचनमा नेकपा एमालेको तर्फबाट आधिकारिक उम्मेद्वार गणेश बस्नेत नेतृत्वको प्यानलबाट संघको प्रथम उपाध्यक्षमा निर्वाचन जितेका र हालसालै अध्यक्ष पदका लागि चर्चामा रहेका देवी प्रसाद गुरागाइँ ( गोपाल) गुरागाइँले पार्टीमा संघको वरिष्ठ उपाध्यक्ष पदमा इच्छा देखाएका छन् ।
उनले यस अघिको विद्रोही प्यानलका दुई जनालेनै अध्यक्ष पदमा इच्छा राखेपछि आफूले उनीहरुको इच्छालाई सम्बोधन गर्दै लचकता प्रस्तुत गरेको आशय आफ्ना शुभचिन्तक व्यवसायीहरुमाझ राखिरहेका बताइएको छ । अघिल्लो निर्वाचनमा तत्कालिन एमालेका आधिकारिक उम्मेद्वारलाई चुनाव हराउने स्वतन्त्र व्यवसायी भनेर परिचय दिएका व्यवसायी नेताहरु अहिले पार्टीकै सहारामा उम्मेद्वार बन्न खोज्नुलाई पूर्व एमाले भित्रको एउटा खेमाले आपत्तीजनक रुपमा लिदैं आएको नेकपा निकट स्रोतको दाबी छ ।
यस पटक नेकपाबाटै संघको वरिष्ठ उपाध्यक्षमा राजकुमार श्रेष्ठले पनि इच्छा राखेका बताइएको छ । अध्यक्षमा ढकाल र खतिवडा जस्तै उपाध्यक्षमा पनि गुरागाइँ र श्रेष्ठ दुवै जनाले इच्छा राखेपछि नेकपा भित्र दुई प्यानल खडा हुने खतराका रुपमा पार्टीले लिएको र गम्भिर ढंगबाट छलफल गरिरहेको बताइएको छ । नेकपाबाट पूर्व माओवादी केन्द्र निकटका युवा व्यवसायी ज्ञानु पौडेल द्धितीय उपाध्यक्षका उम्मेद्वारका लागि एक्ला दाबेदार बनेका छन् । यससंगै नेकपाबाट द्धितीय उपाध्यक्ष पदका उम्मेद्वार पौडेलनै बन्ने निश्चीत भएपछि विपक्षी कांग्रेस निकट व्यवसायीहरुमाझमा समेत चासो र महत्वका साथ सो बिषयमा चर्चा परिचर्चा शुरु भएको बताइएको छ । सबै पदमा दुई व सो भन्दा बढी आकांक्षी देखिनु र द्धितीय उपाध्यक्षमा पौडेलको एकल उम्मेद्वारी रहने सम्भावनाको कारण र असरका बारेमा चर्चा भएको हो । उपाध्यक्षका लागि नेकपा भित्र संघका वर्तमान तृतीय उपाध्यक्ष युवराज घिमिरे, वर्तमान कार्य समिति सदस्य राजेन्द्र दंगाल, युवा व्यवसायी अजय अग्रवाल लगायतको पनि नाममाथि पनि पार्टी नेतृत्वले छलफल गरिरहेको बताइएको छ । उम्मेद्वारको अन्तिम छिनोफानोका लागि नेकपाका केन्द्रिय सदस्य देवेन्द्र दाहाल, प्रदेश कमिटी सदस्य गगन पुरी, जिल्ला सदस्यहरु अम्बिका खनाल, दुर्गा चौंलागाइँ लगायतका नेताहरु चरणबद्ध छलफलमा जुटेका बताइएको छ ।
यस अघि दमक ८ स्थित बालुवाटारमा रहेको पूर्व माओवादी केन्द्रको कार्यालयमा नेकपा निकट व्यवसायीहरु भेला भएर चुनावका बिषयमा छलफल गरेका थिए । पार्टीले ध्रुव भट्टराईको संयोजकत्वमा २९ सदस्यीय निर्वाचन परिचलान समिति र दुर्गा चौलागाइँको संयोजकत्वमा राजनीतिक वार्ता तथा समन्वय समिति समेत गठन गरिसकेको छ ।
अन्य दलको सहारामा कांग्रेस
संघको अध्यक्ष पदका लागि नेपाली कांग्रेसले भने गोकूल श्रेष्ठलाई सर्वसम्मत उम्मेद्वार बनाउने आन्तरिक तयारी पूरा गरेको बताइएको छ । राप्रपा, संघीय समाजवादी पार्टी नेपाल लगायतका दलहरुसंगको सहकार्यमा चुनाव लड्ने तयारीमा रहेको कांग्रेस भित्र अन्य पदका सम्भावित उम्मेद्वारहरुमा रमा लिम्बु, मुकुन्द उप्रेती, तुलसी दंगाल लगायतको नाम छ । कांग्रेसमा उम्मेद्वारका बिषयलाई लिएर एकमत रहेपनि कांग्रेसले अन्य दलसंगको सहकार्यमा चुनाव लड्ने निधो गरेकाले पदीय भागवण्डाका लागि कसरतमा रहेको बुझिएको छ । कांग्रेससंग संघीय समाजवादी पार्टीले उपाध्यक्षसहित कूल ५ जनाको उम्मेद्वार कोटा मागेको बताइएको छ । कांग्रेस निकट स्रोतले राप्रपा, समाजवादी लगायत अन्य दलसंग समेत सहकार्य भईरहेकाले उम्मेद्वारको टुंगो लागिनसकेको जनाएको छ ।