पूर्वी नेपालको सहकारी क्षेत्रमा स्थापित नाम हो खोम प्रसाद वगाले । बुबा देवी प्रसाद र आमा धनमायाको चौथो सन्तान ( काइँलो छोरा) का रुपमा ताप्लेजुङको फुङलिङमा २०३२ सालमा जन्मिएका बगालेले प्रारम्भिक शिक्षा फुङलिङकै मोती माविबाट लिन शुरु गरेका हुन् । उच्च शिक्षा अध्ययनका लागि झापा झरेका बगाले आमाबुबा (परिवारसंगै) लखनपुरमै बसोबास गथ्र्यो ।
दमक बहुमुखी क्याम्पसमा स्नातक तह सम्मको अध्ययन गरेका उनी दमकको प्रतिष्ठित र नाम चलेको मेची सहकारी संस्थामा जागिरेका रुपमा २०५५ साल असोज १ गते प्रवेश गरेका हुन् ।
त्यसबेला सह व्यवस्थापकका रुपमा मेचीमा प्रवेश गरेका बगालेले ८ बर्ष सम्म सोहि पदमा र त्यसपछिका दुई बर्ष ०६१ साल सम्म कार्यवाहक व्यवस्थापकका रुपमा जिम्मेवारी निर्वाह गरे । उनको कार्यक्षमता र दक्षताको मुल्याङकन गरेर मेची सहकारी संस्थाले उनलाई ०६१ सालमा व्यवस्थापकको जिम्मेवारी सुम्पियो । सक्षम र सफल नेतृत्वका कारण मेची सहकारीले दिनप्रतिदिन सहकारी तथा वित्तीय क्षेत्रमा उचाईलाई बढाउँदै लगेको छ । सहकारीको संगै यसका व्यवस्थापक र सञ्चालकहरुको पनि उचाईले गति लियो । त्यसका ज्वलन्त उदाहरण धेरै छन् ।
बगाले स्वयम अहिले सहकारी सम्बन्धितका ज्ञाता तथा अभियान्ता अर्थात प्रशिक्षकका रुपमा देशभर परिचित छन । उनले विगत ३÷४ बर्षयता राष्ट्रिय सहकारी कर्मचारी संघको केन्द्रिय सचिव र बैंक तथा वित्तीय संस्था कर्मचारी युनियनको प्रदेश सचिवका रुपमा जिम्मेवारी सम्हालिरहेका छन् ।
अहिले सरकारले सहकारी क्षेत्रलाई व्यवस्थित बनाउन भन्दै नयाँ सहकारी ऐन, नियम र कानुनहरु पनि ल्याएको छ । सहकारी विभागले सहकारी संस्थाहरुमा कर्जा तथा निक्षेपको व्याज दर, अन्तर आदिको पनि दायरा तोकेको छ । प्रस्तुत छ यि बिषयलाई सहकारी संस्था तथा यसका अभियान्ताहरुले कसरी लिईरहेका छन ? आदि बिषयमा केन्दित भएर निष्कर्ष न्यूज डटकमका लागि कार्यकारी सम्पादक विष्णु पौडेलले गरेको कुराकानीको निष्कर्ष ।

khom-bagale.jpg

सहकारी क्षेत्रमा कसरी प्रवेश गर्नु भयो ?

म पहिलो पटक २०५१ सालतिर लखनपुरस्थित इन्द्रेणी बहुउद्धेश्यीय सहकारीको सदस्य बनेको थिएँ । सहकारीका बारेमा धेर थोर त्यसबेलादेखिनै ज्ञान लिन शुरु गरेको हँु । पछि मेची सहकारीमा कर्मचारीका रुपमा जिम्मेवारी सम्हांलेको हुँ । म सहकारी क्षेत्रमा प्रवेश गर्दा छिटफुट रुपमा मात्रै सहकारी संस्थाहरु खुलेका थिए । म बीए अर्थात मानविकी संकाय पढेको विद्यार्थी । पछि मैंले सहकारी सम्बन्धिको विशेष कोर्ष भारतको दिल्लीमा गरेको हुँ । को अपरेटिभ इन डिप्लोमा भन्ने ९० दिन अर्थात ३ महिनाको कोर्ष गरेपछि सहकारीका बिषयमा थप जानकारी वा ज्ञान लिने अवसरका रुपमा मैंले त्यो कोर्षलाई लिएको छु ।

त्यसबेला रोजगारीका अन्य विकल्पहरु पनि थिए होलान , सहकारी क्षेत्रमै लागेर चांहि के पाउनु भयो ?

निश्चीत रुपमा रोजगारीका लागि अरु विकल्पहरु त्यो बेला पनि थिए र अहिले पनि सहकारी बाहेकका क्षेत्रमा पनि रोजगारीको अवसर छ । तर मैंले सहकारीनै रोजें । सहकारी क्षेत्रमा हुँदा सबैसंग सम्पर्क , परिचय आदनप्रदानको अवसर , प्रत्यक्ष साक्षात्कार भईने यिनै कुराहरुले मेरो झुकाव सहकारीमा रह्यो । म सहकारी बाहेक अरु क्षेत्रमा प्रवेश गरेको भएपनि पैसा त कमाउँथे होला । तर अहिले स्थानीयस्तरदेखि देशभर जुन नेटवर्क र सम्पर्क छ त्यो कमाउन सकिँदैन थियो । त्यसर्थ सहकारीलाई मात्र मैंले होइन सहकारीेले पनि मलाई केहि दिएको महसुस गरेको छु ।

देशभरका सहकारीको अवस्थाबारेमा तपाइँ जानकार हुनुहुन्छ, अन्य ठाउँका सहकारी र झापामा चलेका सहकारीहरुबीचमा के फरक पाउनु हुन्छ ?

हो, मैंले सहकारीका क्षेत्रमा धेरै ठाउँमा , धेरै दिन सम्म बसेर पनि अनुभव आदनप्रदान गरेको छु । झापाको तुलनामा पश्चीमका जिल्लाहरुमा चलेका सहकारीहरुको अवस्था कम्जोर छ । हामी झापालीहरु कारोबार र सहकारी नियमसम्वत रुपमा चलाउने कुरामा अगाडी नै छौं । झापाका ४ वटा सहकारी संस्थामा अर्ब माथिको कारोबार छ ।

सरकारले पछिल्लो समय सहकारीहरुमाथि कडाइँ गरिरहेको छ नयाँ सहकारी ऐन कार्यन्वयनसंगै अब सहकारीहरुको अवस्था के होला ?

सरकारले ऐन ल्याइसकेपछि विधि , प्रकृया सम्मत बनेको ऐन, कानुन नमान्ने भन्ने त सवालनै आउँदैन । सहकारी ऐन २०७४ र नियमावली २०७५ मा धेरै राम्रा कुराहरु पनि छन । त्यो लगभग जानकारी भएकै बिषय हो । तर मेरो विचारमा सहकारी अनुगमनको जिम्मेवारी चांहि स्थानीय तहलाई नभई प्रदेशलाई दिइनु अलि ब्यवहारिक हुन्थ्यो कि भन्ने हो । किन भने स्थानीय तहबाट अनुगमन गरिँदा प्रभावकारी नहुन सक्छ । अनुगमनकर्ता र अनुमगन , नियमन गरिनुपर्ने संस्थाका बीचमा निकटताको सम्बन्धले प्रभावकारी नहोला कि भन्ने कुरा हो । बिषय विज्ञहरुको पनि स्थानीय तहमा कमी हुन सक्छ । कतिपय जनप्रतिनिधिहरुनै सहकारीका बिषयमा जानकार हुनुहुन्न ।
अन्य कुरा त जस्तो जनप्रतिनिधिहरु सहकारीको सञ्चालक समितिमा रहन नपाउने, पेशा अनुसारका सहकारीमा मात्रै सदस्य बस्न पाउने, ब्याजको सीमा निर्धारण , ब्याज दरको अन्तर आदि स्पष्ट गरिनु अत्यन्तै सकारात्मक छन् । सहकारी नियम उल्लंघन गर्नेलाई ५ लाख सम्म जरिवाना र जेल सम्म जाने व्यवस्था उल्लेख हुनुले सहकारीको मुल्य मान्यता कायम राख्दै यसमाथिको विश्वासलाई बढाउनेछ । त्यसकारण नियमसम्वत रुपमा चल्ने सहकारी , यसका सञ्चालक, कर्मचारी कोही पनि डराउनु पर्ने अवस्था देख्दिन ।

त्यसो भए अहिले चलिरहेका सहकारीहरुलाई चाहिं सहकारी सम्बन्धिका नयाँँ व्यवस्थाले के प्रभाव पार्ला ?

यो ऐन, कानुन पूर्ण रुपमा कार्यान्वयनमा आएपछि सहकारीका लागि नयूनतम जनसंख्या र न्यूनतम पुँजी पनि तोकिएको छ । प्रभाव त अवश्य पार्छ । अब सहकारीको संख्या व्यापक घट्छ । महानगरमा ५ हजार जनसंख्या, नगरमा २ हजार र गाउँमा ५ सय जनसंख्या तोकिएको छ । त्यति जनसंख्या बराबर एक सहकारी हुनुपर्नेछ । यसबाट हाम्रो दमकमै ५० वटाको हाराहारीमा सहकारी संस्था कायम हुनेछन् । यो ऐन स्थानीय तहबाट पूर्ण कार्यान्वयन भएपछि एकैप्रकृतिका एक वा सो भन्दा बढी सहकारीमा सदस्य हुन पाइने छैन । अहिले सबै संस्थामा त्यसलाई पत्ता लगाउने सफ्टवेयर जडान भईसकेका छैनन । त्यो जडान भएपछि कोही पनि व्यक्ति अर्को कुन संस्थामा सदस्य छ भन्ने थाहा हुन्छ । सरकारले अहिलेका ३३ हजार बढी सहकारीलाई १४ हजारमा झार्ने नीति अनुसार काम गरिरहेकाले दमकमा पनि दर्ता लिएका १ सय ५० जति सहकारी यहाँको जनसंख्याको आधारमा ५० वटामा सिमित हुनेछन् ।

अहिले मेची सहकारीको कारोबारको अवस्था कस्तो छ ?

हाम्रो सहकारीको गत असार मसान्तको कारोबारको अवस्थालाई हेर्दा १ अर्ब ४५ करोड रुपैयाँको ब्यालेन्ससिट छ । शेयर पुँजी १४ करोड ९० लाख रुपैयाँ पुगेको छ । कर्जा लगानी १ अर्ब २० करोड ७४ लाख छ । निक्षेप १ अर्ब १ करोड ५० लाख र मुनाफा ३ करोड ५३ लाख छ । सहकारीका विभिन्न कोषमा ८ करोड रुपैयाँ छ ।

मेची सहकारीले यस पटक नयाँ के ल्याउँदैछ ?

हामीले सहकारी वस्ती निर्माणको योजना कार्यान्वयनलाई यस बर्ष प्राथमिकतापूर्वक अघि बढाउँदैछौं । हाम्रा घरबिहिन सदस्यहरुलाई २० बर्ष भित्र सहकारी बस्तीमा बनेको घरको मालिक बनाउने हाम्रो योजना छ । घर भाडावापत तिर्ने पैसा सहकारीमा तिर्दा बढीमा २० बर्ष भित्र हाम्रा सदस्यहरु घरका मालिक हुनुहुनेछ । अहिले सदस्य भईसकेका र हुन इच्छुकलाई पनि हामी सदस्य बनाएर घरको मालिक पनि बनाउँछौं । त्यो लक्ष्यका साथ हामी अघि बढेका छौं । संस्थाको अर्को नयाँ भवन , जहाँ बृद्ध बृद्धाहरुको होस्टल समेत चलाउने हाम्रो अर्को योजनाको कार्यान्वयन पनि शुरु भईसकेको छ । कानुनी प्रकृया पूरा भईसकेकाले अब यहि मसिंरदेखि त्यो काम शुरु हुन्छ । हामीले यस पटक मेचीका सदस्य र सदस्य परिवारका लागि केहि सुविधाहरु पनि थप गर्दैछौं । पहिला शेयर सदस्यलाई मात्रै दिदैं आएको सुविधा अब शेयर सदस्यका परिवारलाई पनि दिने हाम्रो नीति यस पटकको साधारण सभाबाट पारित गर्ने तयारी छ । एकल महिला र ज्येष्ठहरुलाई पनि हामी सुविधा थप गर्दैछौं ।

Facebook Comments Box