दमक/ दमक उद्योग वाणिज्य संघको २८ औं चुनावी साधारण सभाको मिति नजिकिदो छ ।

संघले पछिल्ला केही बर्षयता हरेक बर्षको ६ भदौमा बार्षिक साधारण सभा गर्दै आएको छ । यसपटक संघको नेतृत्व चयन गर्नुपर्ने चुनावी साधारण सभा भएकाले पनि व्यापारीका साथसाथै यहाँका स्थानीय राजनीतिक दलहरुको पनि साधारण सभामा ध्यान खिचिएको छ । कूल २ हजार ६ सय ९१ साधारण सदस्य रहेको दमक उद्योग वाणिज्य संघले साधारण सभाको तयारीका लागि वरिष्ठ उपाध्यक्ष विमल खतिवडाको संयोजकत्वमा साधारण सभा तयारी उपसमिति बनाईसकेको छ ।

समितिले साधारण सभाका लागि आवश्यक तयारी गरिरहेको बताइएको छ । साधारण सभामा प्रमुख अतिथीको टुंगो लागि नसकेको भएपनि मुख्यमन्त्री शेरधन राई वा नेपाल उद्योगा वाणिज्य महासंघको केन्द्रिय नेतृत्वलाई निम्त्याउने आयोजकको तयारी छ ।
संघको नेतृत्व साधारण सभाको प्राविधिक तयारीमा मात्रै छैन यस पटक संघका अध्यक्ष र वरिष्ठ उपाध्यक्ष दुवैले संघको अध्यक्ष पद ताकिरहेका छन् ।
संघको अघिल्लो निर्वाचनमा स्वतन्त्र व्यवसायीको नारा दिएर बहुमत व्यवसायीको मन जितेका अध्यक्ष राजेन्द्र ढकाल र वरिष्ठ उपाध्यक्ष विमल खतिवडा यस पटकको निर्वाचनमा उम्मेद्वार बन्न पाउँ भन्दै सत्तारुढा नेकपामा आवेदन गर्न पुगेका छन् । यस अघि एउटै प्यानलबाट चुनाव जितेका ढकाल र खतिवडा दुवैले अध्यक्षमा आआफ्नो दाबी राख्न स्थानीय पार्टी नेतृत्व समक्ष पुगेपछि स्वतन्त्र व्यवसायीको प्यानलमै फुट आएको छ । विश्लेषकहरुले सो प्यानल अब स्वतन्त्र हुन नसकेको विश्लेषण गरेका छन् ।

अघिल्लो निर्वाचनमा स्वतन्त्र प्यानलबाट चुनाव लड्दा नेतृत्वका ३ जनाले मात्रै जितेका थिए । उनीहरुले स्वतन्त्र व्यवसायीका नाममा चुनाव जितेपनि चुनाव जित्ते लगत्तैदेखि फेरी दल निकट बनेका थिए । चुनाव अघि स्वतन्त्र भन्नु र जितिसकेपछि दलनै रोज्नु स्वार्थीपना भएको टिप्पणी पनि स्वतन्त्र व्यवसायीहरुले गर्न थालेका छन् । यससंगै यस पटक स्वतन्त्र व्यापारीको छुट्टै प्यानल बन्ने हो नबन्ने हो भन्ने बिषयमा चियोचर्चो पनि हुन थालेको छ ।

नेकपा भित्र यस अघिको निर्वाचनमा तत्कालिन एमालेको तर्फबाट अध्यक्षका उम्मेद्वार गणेश बस्नेतसहितका आधिकारिक उम्मेद्वारहरुका विरुद्ध स्वतन्त्र प्यानल बनाएका उम्मेद्वारहरु नै यसपटक पार्टीको सिफारिसमा उम्मेद्वार बन्ने रस्साकस्सीमा लागेपछि तत्कालिन एमालेबाट यस अघि उम्मेद्वार बनेका व्यवसायीहरुले आन्तरिक रुपमा गम्भिर असहमती राखिरहेका बताइएको छ ।

नेकपाका सम्भावित उम्मेद्वारसंग अन्तरवार्ताले रुष्ट

सत्तारुण नेकपाले संघको निर्वाचनमा औपचारिक रुपमै उम्मेद्वार चयन गर्ने प्रकृया चलाएको लगभग एक साता वितेको छ ।
संघको अध्यक्षमा मात्रै होइन नेकपा भित्र द्धितीय उपाध्यक्ष बाहेक सबै पदहरुमा धेरै आकांक्षीहरु भएपछि इच्छुक व्यवसायीहरुलाई आआफ्नो इच्छा अनुसारको पदमा उम्मेद्वार बन्न पार्टीको सिफारिसका लागि आवेदन नै माग गर्यो ।
पार्टी नेतृत्वमा आवेदन गरेका व्यवसायीहरु पटक पटक पार्टी नेतृत्वले सोधेका जिज्ञासाको जवाफ दिन धाईरहेका छन । एक जना उम्मेद्वारका आवेदकले भने – जागिर दिने जस्तो गरी अन्तरवार्ता लिन्छन । नेताहरुले संघमा काम गरेको अनुभव, योगदान आदिलाई वेवास्ता गरिरहेका छन् । संघमा बसेर गरेको कामलाई मुल्याङकन गरेर उम्मेद्वारी सिफारिस गर्ने कि अन्तर्वार्ता लिएर ? अचम्म लागिराको छ ।
यस पटकको चुनावमा नेतृत्व हत्याउन नेकपा मात्रै होइन प्रतिपक्षी ,नेपाली कांग्रेस, राप्रपा , र सत्ता साझेदार संघीय समाजवादी पार्टी , संघीय लिम्बुवान मञ्च लगायत दलहरुपनि आन्तरिक लविङमा व्यस्त छन् ।
कांग्रेसको नेतृत्वमा सत्ता साझेदार संघीय समाजवादी पार्टी , राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय लिम्बुवान मञ्च समेतको संयुक्त गठबन्धनले सत्तारुढ नेकपासंग चुनावी मुकाविला गर्ने तयारी गरेको छ ।

मुख्य पदमा नेकपाका उम्मेद्वारको होडबाजी

सत्तारुढ नेकपामा अध्यक्षका लागि संघका अध्यक्ष राजेन्द्र ढकाल र वरिष्ठ उपाध्यक्ष विमल खतिवडा छन भने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको नेतृत्वमा बन्ने प्यानलबाट गोकूल श्रेष्ठ सम्भावित अध्यक्षका उम्मेद्वार हुन् ।
श्रेष्ठले यस अघि संघको प्रथम उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन भने उनले अघिल्लो निर्वाचनमा अध्यक्षका लागि ढकालसंग प्रतिस्पर्धा गरेका थिए । वरिष्ठ उपाध्यक्षमा नेकपाबाट देवी प्रसाद गुरागाइँ ( गोपाल ) र राष्ट्रिय वाणिज्य संघका केन्द्रिय सदस्य समेत रहेका राजकुमार श्रेष्ठ दाबेदारका रुपमा छन् ।
लोकतान्त्रिक प्यानलमा पदीय भागवण्डाको क्रम चलिरहेकाले सो पदमा उम्मेद्वारको नाम यकिन नभएपनि संघका पूर्व तृतीय उपाध्यक्ष बबरजंग थापा ( किरण) र राप्रपाका तर्फबाट संघका वर्तमान कार्य समिति सदस्य राजकुमार योङयाको नाम चर्चामा छ । प्रथम उपाध्यक्षका लागि नेकपा भित्र करीब आधा दर्जन उम्मेद्वारका आकांक्षीले पार्टीमा उम्मेद्वारी सिफारिसका लागि आवेदन गरेका बताइएको छ ।
नेकपामा सो पदका लागि हालका द्धितीय उपाध्यक्ष युवराज घिमिरे, वर्तमान कार्य समिति सदस्य टिका प्रसाइँ , पूर्व कार्य समिति सदस्य महेन्द्र खड्का, घनश्याम खनाल,  गंगा ढकाल लगायतले आवेदन गरेका नेकपा स्रोतले जनाएको छ । कांग्रेस नेतृत्वको प्यानलबाट संघका वर्तमान कार्य समिति सदस्य तथा द्धितीय उपाध्यक्षमा नेकपाबाट ज्ञानु पौडेलको एकल आवेदन परेकाले उनी उम्मेद्वार बन्ने पक्कापक्की भएको छ ।
तृतीय उपाध्यक्षका लागि नेकपाबाट संघका वर्तमान कार्यसमिति सदस्य एवम् होटल व्यवसायी संघका अध्यक्ष राजेन्द्र दंगाल, संघका वर्तमान कार्य समिति सदस्य विमल नेपाल  र पशुपति बरालले इच्छा राखेका छन भने कांग्रेस नेतृत्वको प्यानलबाट सो पदमा व्यवसायी महिला नेतृ एवम संघकी वर्तमान कार्य समिति सदस्य रमा लिम्बु उम्मेद्वार बन्ने पक्कापक्की जस्तै भएको छ । सो निर्वाचनमा पदाधिकारीमा उम्मेद्वार बन्ने तयारीमा रहेकी लिम्बु एक मात्रै महिला उम्मेद्वारका रुपमा रहनेछिन् । उनीबाहेक कोही पनि महिलाले पदाधिकारीमा दाबी पेश नगरेका बताइएको छ ।
संघको लेखा समिति संयोजकमा नेकपाबाट खोम प्रसा वगाले , कांग्रेसबाट पारसमणी आचार्य लगायतको नाम चर्चामा छ भने संघको कार्य समिति सदस्यमा हाल सम्म नेकपाका मात्रै उम्मेद्वारको नाम चर्चामा छ । नेकपामा कार्य समिति सदस्यका लागि महिला कोटाबाट कविता पौडेल (अधिकारी) र लक्की सिटौलाको नाम बाहिर आईरहेको छ ।

वस्तुगतबाट श्रेष्ठ र नेपाल पक्का

यसैबीच संघको निर्वाचनमा वस्तुगत संघहरुका तर्फबाट पनि धमाधम सदस्य पदका लागि उम्मेद्वार टुंगो लाग्न थालेको छ । मोवाइल व्यवसायी संघको तर्फबाट भेनस श्रेष्ठलाई उम्मेद्वार बनाउने संघले सर्वसम्मत निर्णय गरिसकेको छ भने अटो मोवाइल्स व्यवसायी संघबाट प्रकाश नेपालको नाम सर्वसम्मत निर्णय भएको छ । अटो मोवाइल्सका अध्यक्ष घनश्याम खनालले नेपाललाई सर्वसम्मत संघको तर्फबाट उम्मेद्वार बनाउने निर्णय भएको जानकारी दिए । सो संघमा अन्य २ जना दाबेदारले नेपाललाई समर्थन जनाउँदै सर्वसम्मत रुपमा उम्मेद्वार बनाउने शुक्रबार निर्णय गरेका हुन् ।

Facebook Comments Box