दमक/ प्रदेश नम्बर एकका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले समाजमा बढदो लागूऔषध दुव्र्यसनका कारण भविष्य डरलाग्दो हुने खतरा बढेको भन्दै युवा पुस्तालाई त्यसको नियन्त्रणमा प्रभावकारी भुमिका खेल्न आव्हान गरेका छन । प्रदेश एकमा लागूऔषधको प्रयोगले दमकमा समेत उच्च जोखिम निम्त्याइरहेको कारण यसलाई नियन्त्रण गर्न जेसीजसंग सहकार्यको प्रस्ताव समेत गरेका छन ।

आज आइतबार साँझ दमक जेसीजको ४२ औं पदहस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले युवाहरुको नेतृत्व र व्यक्तित्व बिकासमा उदाहरणीय भुमिका खेल्दै आएको जेसीजलाई समाजमा व्याप्त लागूऔषधको समस्या हल गर्न घरघरबाट क्याम्पेनिङ हुनु आवश्यक रहेको समेत औंल्याए ।
मुख्यमन्त्री कार्कीले भने– म भर्खरै जेसीजका पाँच वटा शाखाहरुका कार्यक्रममा पुगेको छु सबै देखेपछि मैंले यो काममा जेसीजले महत्वपूर्ण भुमिका खेल्न सक्छ भन्ने मलाई लागेको छ, आज म यो प्रस्ताव जेसीजहरुमाझ राख्न चाहन्छु । उनले एक अर्को प्रसंगमा प्रदेश एकको पहिचान हुने किसिमको नाम राखिने बताए ।

प्रदेश सभा सदस्यको दुई तिहाईले मात्रै प्रदेशको नामाकरण गर्न सक्ने संबैधानिक व्यवस्था रहेकाले सके सम्म सर्वसम्मतीबाटै नभए मतदान प्रकृयाबाट भएपनि नामाकरणलाई उच्च प्राथमिकतामा राखेर टुंग्याउन प्रदेश सभामा सरकारले सहजिकरणको भुमिका निर्वाह गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता छ ।

प्रदेश संरचनाका बिषयमा भइरहेका विभिन्न टिकाटिप्पणी प्रति लक्षित गर्दै मुख्यमन्त्री कार्कीले महालेखा परिक्षणको रिपोर्टलाई हेर्दा प्रदेश सरकार भन्दा बढी स्थानीय र संघीय सरकारको बेरुजु धेरै देखिएको तथ्यलाई हेर्दा पनि यसको आलोचना सहि नभएको प्रष्ट हुने बताए । त्यस्ता किसिमका आलोचनाहरु तथ्यमा आधारित हुनुपर्ने भन्दै मुख्यमन्त्री कार्कीले यसका प्रदेश संरचना आएपछि एक नम्बर प्रदेशमा १२०० किलोमिटर सडक कालोपत्रे भएको र बिकासले गति लिएको तथ्यलाई पनि नबिर्सन युवाहरुलाई आग्रह गरे । सो अवसरमा प्रदेश सभा सदस्य होमबहादुर थापा र दमक नगर प्रमुख रामकुमार थापाले दमक जेसीजले निर्माण शुरु गरेको जेसीज सामुदायिक भवन निर्माणलाई अघि बढाउन आआफनो तर्फबाट सक्दो सहयोगको प्रतिबद्धता जनाए । कार्यक्रममा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकूल श्रेष्ठले व्यवसायिक क्षेत्रमा रहेको संकटपूर्ण अवस्थालाई मध्यनजर गर्दै बैंकहरुमा बुझाउनु पर्ने पुष मसान्त सम्मको कर्जाको अवधिलाई बढाएर कम्तिमा आगामी असार मसान्त सम्म कायम गर्न पहलका लागि मुख्यमन्त्रीको ध्यानाकर्षण गराए ।

बराल गए अग्रवाल आए

दमक जेसीजको ४२ औं पद हस्तान्तरणमा निर्वाचन आयुक्त कमल कटुवालले नवनिर्वाचित अध्यक्ष मुकेश अग्रवाल नेतृत्वको बोर्डका पदाधिकारीहरु निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए । उनले अध्यक्ष अग्रवाललाई सपथ गराएका थिए भने अध्यक्ष अग्रवालले बोर्डका अन्य पदाधिकारीहरुलाई सपथ गराएका थिए ।

दमक जेसीज बर्ष २०२२ का अध्यक्ष सञ्जिब बरालले बर्ष २०२३ का नवनिर्वाचित अध्यक्ष अग्रवाललाई अध्यक्षको चेन हस्तान्तरण गरे । सो अवसरमा निवर्तमान अध्यक्ष बरालले २०२२ मा आफनो बोर्डमा रहेर महत्वपूर्ण भुमिका निर्वाह गर्ने बोर्डका पदाधिकारीहरु, पूर्व अध्यक्ष , निर्वाचन आयुक्त लगायत सहयोग गर्ने संघ संस्थाहरुप्रति धन्यवाद व्यक्त गरेका थिए भने नवनिर्वाचित अध्यक्ष अग्रवालले आफनो स्विकार्य मन्तव्य राखेका थिए ।

महासचिवसहित पाँच जना मनोनित

जेसीज विधान अनुसार दमक जेसीजका नवनिर्वाचित अध्यक्ष अग्रवालले सो अवसरमा आफनो नेतृत्वको टिमलाई सहयोग पुुरयाउने महत्वपूर्ण भुमिकाका लागि महासचिव पदमा रामचन्द्र अधिकारीलाई मनोनित गरेका छन । अधिकारीसंगै कोषाध्यक्षमा राजकुमार अग्रवाल (राज) , कानुनी सल्लाहकारमा निरोज आचार्य , प्रकरण निर्देशकमा सन्ध्या अधिकारी र सचिवमा सन्देश अधिकारी रहेका छन । कोषाध्यक्ष अग्रवाल सो कार्यक्रम संयोजक समेत रहेका थिए ।

     

Facebook Comments Box