दमक/ दमक नगरपालिकाले यहाँको बढ्दो सवारी चाप तथा ट्राफिक व्यवस्थापनलाई सहज बनाउने निर्णय लिएको छ ।

नगरपालिका मातहतको दमक यातायात तथा ट्राफिक व्यवस्थापन एवम् शहरी सुदृढीकरण समितिको आज बसेको बैठकले यहाँको यातायात तथा ट्राफिक व्यवस्थापनका लागि दमकमा निर्माण भएको दमक बसपार्कलाई व्यवस्थित गर्दै पूर्ण रुपमा सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।

इलाका प्रहरी कार्यालय दमकमा समितिका अध्यक्ष प्रजापति सापकोटाको अध्यक्षतामा बसेको बैठकले बसपार्कमा दमक प्रवेश गर्ने सबै खाले यातायातका साधनहरुको प्रवेश अनिवार्य गर्ने, काउण्टरहरु समितिले तोकेका स्थानमा अनिवार्य रुपमा एकीकृत गर्ने, सवारी साधनहरुसंग जथाभावी भईरहेको शुल्क असुली नियन्त्रण गर्दै नगरपालिकाले तोके अनुसारको मात्रै शुल्क लिने व्यवस्था मिलाउने लगायतका बिषयमा निर्णय गरेको छ

बसपार्कमा सवारी तथा काउन्टरहरुको व्यवस्थापनका लागि यातायात व्यवसायी गंगा प्रसाद सिटौलाको संयोजकत्वमा उपसमिति समेत गठन गरिएको छ ।
भदौ १३ देखि कडाइँका साथ दमकको यातायात तथा ट्राफिक व्यवस्थापन एवम् शहरी सुदृढीकरण कार्यविधि कार्यान्वयन गराउन यस्तो निर्णय भएको हो । यस अघिदेखि रहेको दमक बसपार्क निर्माण तथा व्यवस्थापन समिति र नगरपालिका मातहतमा रहेको मूल समितिको संयुक्त बैठक बसेर सो बिषयमा निर्णय लिइएको समितिका संयोजक तथा दमक २ का वडाध्यक्ष सापकोटाले बताए ।

 

यातायात तथा ट्राफिक व्यवस्थापन समितिले दमकको ट्राफिक व्यवस्थापनमा रहेका समस्याहरुको स्थलगत जानकारी लिएर ट्राफिक लाइट, सीसि क्यामरा, विभिन्न ट्राफिक संकेत चिन्हहरु राख्ने, पश्चीम बस स्टेण्ड तथा नाइट काउण्टरमा रहेका बसका टिकट बुकिङ काउण्टरहरु बसपार्कमा एकीकृत गर्ने लगायत बिषयमा छलफल भएको थियो ।

आजको बैठकमा इलाका प्रहरी कार्यालय दमकका डीएसपी श्यामल सुब्बा, ट्राफिक प्रहरी कार्यालय दमकका इञ्चार्ज यज्ञराज शर्मा अधिकारी, नगर प्रहरी प्रमुख रुद्रराज कार्कीसहित समितिका सदस्यहरु सहभागी थिए ।
केहि दिन अघि समेत ट्राफिक प्रहरी कार्यालयमा दमकको यातायात तथा ट्राफिक व्यवस्थापन सम्बन्धि कानुन कार्यान्वयनका बिषयमा प्रारम्भिक छलफल भएको थियो ।

Facebook Comments Box