यही भदौ तेस्रो साता दमकमा दमक उद्योग वाणिज्य संघको निर्वाचन हुँदैछ । ६ भदौमा हुने संघको २८ औं साधारण सभापछि उद्योगी व्यवसायी नेताहरु औपचारिक रुपमा नेतृत्व हत्याउने दाउमा लाग्ने गर्छन ।
यस पटकको संघको चुनावलाई यस क्षेत्रमा क्रियाशील राजनीतिक दलहरुले पनि निक्कै महत्व र चासोका साथ हेरिरहेका छन् ।
अघिल्लो पटकको निर्वाचनमा तत्कालिन नयाँ शक्ति पार्टी नेपालको तर्फबाट उम्मेद्वार बनेर पार्टी इतिहासमै पहिलो चुनाव जित्ने उम्मेद्वारको पहिचान बनाएका थिए युवा व्यवसायी तथा लगानीकर्ता राजु खड्काले । आफ्नो कार्यकला सन्तोषजनक रुपमा विताएको स्वमुल्याङकन गरेका खड्का यस पटकको चुनावमा फड्को मार्दै संघको प्रथम उपाध्यक्षको उम्मेद्वारका रुपमा चर्चामा छन् । खड्का प्रथम उपाध्यक्षको उम्मेद्वार बन्ने लगभग निधो भईसकेको छ । प्रस्तुत छ खड्कासंग समसामयिक व्यवसायिक तथा चुनावका बिषयमा केन्द्रित भएर गरिएको कुराकानीको निष्कर्ष ः
यस पटकको निर्वाचनमा तपाइँको भुमिका के रहन्छ ?
पहिलो कुरा त म अहिले दमक उद्योग वाणिज्य संघको कार्य समिति सदस्य हुँ । म अहिले चुनावका बिषयमा भन्दा पनि संघको आसन्न साधारण सभा जो भदौ ६ गते हुँदैछ त्यसैको तयारीमा व्यस्त छु ।
अरु नेतृत्वगण पनि संघको साधारण सभालाई कसरी व्यवस्थित, मर्यादित र उपलब्धीमूलक बनाउने भन्ने तयारीमा नै हुनुहुन्छ । साधारण सभासंग संगै निर्वाचनको कुरा पनि छ । मेरो भन्दा पनि हाम्रो पाटीृ तत्कालिन नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमबीचको एकतापछि बनेको समाजवादी पार्टीका तर्फबाट वाणिज्य संघको यो निर्वाचनमा मैंले नै नेतृत्व गर्ने भन्ने बिषय टुंगिसकेको छ । तर को संग कस्तो राजनीतिक समिकरण गर्ने ? राजनीतिक कुरालाई मात्रै नहेरेर समग्र वाणिज्य संघ यहाँका उद्योग व्यवसायको क्षेत्रलाई कस्तो नेतृत्वको खाँचो छ भन्ने जस्ता कुरालाई ख्याल राखेर त्यहि किसिमको नेतृत्व स्थापित गराउनका लागि सबै खाले प्रयत्नहरु हाम्रो तर्फबाट भईरहेका छन् ।
हामीले सबैभन्दा पहिले यो चुनावको सन्दर्भमा अन्य दलहरुसंग छलफल र वार्ताका लागि छुट्टै समिति पनि बनाईसकेका छौं । समितिले चरणबद्ध छलफलहरु गरिराखेकै छ । अबको निर्वाचनमा हामी संघमा सशक्त उपस्थिती देखाउन र भुमिका निर्वाह गर्ने आन्तरिक गृहकार्यमा छौं ।
तपाइँकै नेतृत्वमा चुनावमा जाँदै हुनुहुन्छ कुन पद रोज्नु भएको छ तपाइँले ?
मैले संघको कार्य समिति सदस्यको रुपमा एक कार्यकाल विताईसकेको हुँदा र आफ्नो कार्यकालमा सक्रिय र जिम्मेवारीपूर्ण भुमिका निर्वाह गरेकै छु जस्तो लाग्छ । आम व्यवसायी महानुभावहरुले पनि मुल्याङकन गर्नुभएकै होला । राजनीतिक रुपमा भन्ने हो भने म हाम्रो पार्टीको तर्फबाट एक्लो उम्मेद्वार हुँ हालको कार्य समितिमा चुनिएको । त्यसैपनि हामी सानै अवस्थामा थियौं त्यसबेला । अहिले समय धेरै वितिसक्यो । राजनीतिक परिवर्तनहरु पनि धेरै भईसके ।
हाम्रो पार्टीले पनि बृहत रुप लिईसक्यो । यो अवधिमा धेरै व्यवसायीहरुमाझ प्रत्यक्ष चिनजान , भेटघाट र सहयोग आदनप्रदानका कार्यक्रममा पनि सरिक भइयो । त्यसकारण अब संघको प्रथम उपाध्यक्ष पदमा मैंले इच्छा राख्दा आम व्यवसायीहरुले स्वीकार्नु हुनेछ र कसैमाथि अन्याय पनि नहोला भन्ने लागेर मैंले यो पदमा इच्छा राखेको हुँ । हामी राजनीतिक समिकरण जो जो संग भएपनि यहि पदसहित केही सदस्यहरुमा उम्मेद्वारी दिएर अघि बढ्दैछौं ।
व्यवसायिक क्षेत्रमा तपाइँको संलग्नता कहिलेबाट हो ?
राजनीतिमा मेरो त्यस्तो लामो सक्रियताको अनुभव छैन । उद्योग व्यवसायको क्षेत्रमा चाहिं मेरो अनुभव उमेरका हिसावले सानैदेखीको हो । म एउटा निजामती कर्मचारी परिवारको सदस्य हुँ । मैंले जागिर रोजिन । व्यवसायमा लगानी गर्दै सामाजिक कामहरुमा योगदान दिन सकिन्छ भन्ने सोच राखेर मैंले स्कूले जीवनपछि देखिनै कुनै न कुनै रुपमा व्यवसायमै नजिक भएँ ।
बैंक तथा सहकारीका साथै कृषि व्यवसायमा मेरो संलग्नता छ । मेरो पुख्र्यौली थलो संखुवासभामा उच्च पर्वतीय बहुउदेश्यीय कृषि केन्द्र र पनोरमा होलिडे फर्मसंगै यहाँ विभिन्न क्षेत्रमा मेरो लगानी छ ।
हरेक युवा एक न एक उत्पादनमा जोडिनै पर्छ भन्ने मेरो मान्यता छ । हुनेले नहुनेलाई साथ दिएर सबैलाई उत्पादनमा जोड्ने नीति हुनुपर्छ भन्ने मेरो विचार छ । म आफैंले पनि सहकारीताका माध्यमबाट युवा साथीहरुलाई व्यवसाय र उत्पादनमुलक काममा जोड्ने काम गरिरहेको छु । मैंले स्वास्थ्यका क्षेत्रमा पनि लगानी गरेको छु । यसका माध्यमबाट समाजमा स्वास्थ्य सेवा पुरयाउन सकिन्छ भन्ने हो ।
तपाइँहरु त कसै न कसैको नेतृत्वमा चुनावमा जाँदै हुनुहुन्छ , छुट्टै प्यानल बनाउने अवस्था छैन होला कस्तो प्यानल रोज्दै हुनुहुन्छ ?
मैंले अघिनै भने यसका लागि हाम्रो छुट्टै समिति छ । समितिले आवश्यक गृहकार्य गरिरहेको छ । म उम्मेद्वार भएका कारण म संग पनि यस बिषयमा समितिले आवश्यक जानकारी आदनप्रदान गर्ने काम गरिरहेकै छ । अब कस्तो प्यानल रोज्ने भन्दा पनि हामी सक्षम नेतृत्वको पक्षमा छौं । अरुको सहअस्तित्वलाई स्विकार्ने गुण, क्षमता , नेतृत्व गर्न सक्ने क्षमता आदि कुरालाई हेर्नेछौं ।
आफैंले पद लिनु पर्ने , आफू मात्रै हुनै पर्ने अरुको अस्तित्व नस्विकार्ने जस्ता सोच राख्ने टिमसंग हाम्रो सहकार्य हुँदैन । सबैको भावनाको कदर गर्दै सबैप्रति समान सोच राख्ने नेतृत्वसंग हाम्रो सहकार्य हुनेछ ।