दमक/ झापाको दमकमा स्थापित विभिन्न सामाजिक संस्थाहरु माझ पहिलो पाईला नेपाल नामक संस्थाले दिनप्रतिदिन सामाजिक गतिबिधिमा क्रियाशीलता बढाएको छ ।
देशव्यापी सञ्जाल रहेको सो संस्थाको दमक शाखाले विशेष गरी जनचेतनामूलक शिक्षा र स्वास्थ्यका साथै मानवीय सेवाका कामहरुमा क्रियाशीलता बढाएको हो । संस्थाका पदाधिकारी एवम् सदस्यहरुको बैबाहिक बर्षगाँठ, जन्मदिन लगायतका विशेष अवसरहरुमा संस्थाको समन्वयमा सेवामुलक कार्यहरु समेत गर्ने गरेको छ ।
सो संस्थाको अगुवाईमा शनिबार दमकमा रहेका राष्ट्रिय अन्तराष्ट्रिय सञ्जाल भएका लायन्स तथा रोटरी क्लब, दमक जेसीजका अतिरिक्त सशस्त्र प्रहरी, सामुदायिक प्रहरी, नगर प्रहरी, यहाँका कलेज तथा अन्य संघ संस्थाहरुको समेत सक्रिय सहभागितामा बृहत सरसफाई कार्यक्रम सम्पन्न भयो ।
दमक ६ का वडाध्यक्ष तथा नगरपालिकाको वातावरण तथा सरसफाई समिति संयोजक टेकबहादुर थापाको प्रमुख आतिथ्य र संस्थाका अध्यक्ष छवि बाँस्कोटाको अध्यक्षता र सामाजिक व्यक्तित्व तथा लायन्स लिडर विमल शर्माको विशेष आतिथ्यमा भएको सो कार्यक्रममा संस्थालाई हाल सम्म विभिन्न माध्यमबाट सहयोग पुरयाउने करीब २० जना व्यक्तित्वहरुलाई कदर पत्रसहित सम्मान गरिएको थियो ।

यस अघि समेत पहिलो पाइला नेपालले सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीहरुको शैक्षिक निरन्तरताका लागि स्कूल ब्याग ( भाग्य बोक्ने झोला), कापी, पेन्सील, कलम तथा खाजा सामाग्री वितरण गर्नुका साथै ठाउँ ठाउँमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । संस्थाका कोषाध्यक्ष मेघनाथ फुयाँलका अनुसार विभिन्न समयानुकूल संस्थाले आवश्यकतामा आधारित कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । सधैं परिवर्तनका लागि भन्ने मूल नारासहित स्थानपना भएको सो संस्थामा सामाजिक काममा रुची राख्ने युवा, विद्यार्थीहरु स्वतस्फूर्त रुपमा सहभागी हुने क्रम बढ्दो रहेको संस्थाकी सचिव निशा घिमिरेले बताइन् ।
संस्थाको विधान अनुसार सो संस्थाको सदस्यताका लागि रु १ हजार प्रवेश शुल्क निर्धारण गरिएको छ । सदस्यता लिएपछि संस्थाको केन्द्रले नै बनाएको टिसर्ट र परिचय पत्र प्रदान गर्ने गरिएको सहसचिव राजु निरौलाले बताए ।