सन्दिप चापागाइँ ( दिपु) दमकका स्थानीय युवा उद्यमी व्यवसायी हुन् । उद्यम , व्यवसायसंगै समाजसेवाका क्षेत्रमा पनि उनको नाम अग्रपक्तिंमै आउँछ ।
दमकको वडा नं ८ स्थायी घर भएका चापागाइँ पछिल्लो समय आफूलाई निजी क्षेत्रको लगानीकर्ताका रुपमा उभ्याईरहेका छन् । विसं २०४१ सालमा बुबा स्व. दिनेश चापागाइँ र आमा उषा चापागाइँको माइलो छोराका रुपमा जन्मिएका चापागाइँले प्रारम्भिक शिक्षा झापा मोडल अंग्रेजी माविबाट लिएका हुन् ।

उनले एसएलसी काठमाडौंको युनिभर्सल सेकेण्डरी हाईस्कूलबाट उत्तीर्ण गरेका हुन् । सानैदेखि व्यापारमा रुची राख्ने चापागाइँ विजनेश बिषयकै अध्ययन समेतको उदेश्य राखेर एसएलसी पछि साधारण कामका लागि भन्दै संयुक्त अरब इमरेट्सको दुवई तर्फ गए । त्यहाँ उनले साधारण काममात्रै गरेनन् ।
विजनेश तथा व्यवस्थापका बिषयमा स्पेशल कोर्षनै अध्ययन पनि गरे । जुन बीबीएस समानको थियो । संगै उनले त्यहाँ मेनेजर लेभलको तहमा जागिर संगै दमक र आफ्ना चिनजान नजिकको साथीहरु १७ जनालाई रोजगारीका लागि आवश्यक सीपमा दक्ष बनाउँदै रोजगारको व्यवस्था मिलाईदिए ।
लगभग ८ ÷९ बर्ष नेपाल–दुवई आवतजावत पछि विस्तारै स्वदेशमै व्यवसायिक तथा औद्योगिक क्षेत्रमा लगानी गर्ने सोच बनाएका हुन् । उनले पहिलो पटक सामाजिक क्षेत्रमा काम गर्न भन्दै दमक जेसीजमा आवद्ध भए ।
जेसीजपछि उनले रोजेको अर्को अन्तराष्ट्रिय क्लब हो रोटरी क्लब । मेरो रुची सानैदेखि विजनेश प्लस सोसियल सर्भिसनै हो त्यसैले सामाजिक सेवाका क्षेत्रलाई प्राथमिकता दिएको छु– चापागाइँले भने । उनले समाजसेवाका लागि सधैं आमालेनै प्रोत्साहन गर्ने गरेको बताउँछन् । चापागाइँ भन्छन–मलाई सधैं आमाले सेवामुलक काममा लागिरहन प्रेरणा दिनुहुन्छ , उहाँकै प्रेरणाका कारण मैंले सामाजिक काममा प्रवेश गरेको हुँ भने पनि हुन्छ ।
उनले बर्षैभरी गर्ने कामहरुको सूचीमा हरेक महिना कम्तीमा एउटा समाजसेवाको कामलाई राख्ने गरेका छन् । अमेरिका, ब्राजिल, मेक्सिको, सिंगापुर, पेरु लगायतका विभिन्न २८ देशमा पुगेर त्यहाँको आर्थिक, सामाजिक, प्रशासनिक अवस्थाका बारेमा नजिकैबाट नियालेका चापागाइँ अहिले अन्तराष्ट्रियस्तरको क्लब रोटरी क्लब अफ दमकको अध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन् ।
के हो त रोटरी ? चापागाइँ भन्छन– यो एउटा विल्कुलै सेवामुखी भाव राखेर स्थापना गरिएको अन्तराष्ट्रियस्तरको सञ्जाल भएको संस्था हो । आफूलाई रोटरीमा लाग्न प्रेरित गर्ने र सेवाका लागि प्लेटफर्म दिने नविनकुमार श्रेष्ठ भएको उनी बताउँछन् ।
दमकमा समेत रोटरी क्लबका माध्यमबाट रोटरीको सिद्धान्त भित्र रहेर शिक्षा र स्वास्थ्यका क्षेत्रमा केहि महत्वपूर्ण कार्यक्रमहरु सञ्चालन गर्ने योजना रहेको उनले बताए ।
रोटरी क्लबमा आवद्ध हुनैका लागि बार्षिक रुपमा तिर्नुपर्ने शुल्क विदेश पुग्ने भन्दै कतिपयले गर्ने गरेको आलोचनाको प्रतिवाद गर्दै चापागाइँले रोटरी क्लबले नेपालका विभिन्न क्षेत्रमा नेपालीहरुले तिरेको शुल्क भन्दा कैयौं गुणा बढी बजेटका कार्यक्रमहरु प्रदान गरेको फेहरिस्त सुनाए । रोटरी क्लबलेनै दमकमा छिट्टै मिर्गौलाका विरामीहरुका लागि डायलोसिस मेसिन पनि उपलब्ध गराउन लागेको उनले बताए ।
पछिल्लो समय रियल स्टेट एण्ड इन्भेष्टमेन्ट प्रालिमार्फत घर जग्गाको कारोबारमा लगानी गरेका उनले सहकारी क्षेत्रका अतिरिक्त दमक बाहिर प्रदेश नं १ का विभिन्न शहरमा पनि औद्योगिक तथा वित्तिय क्षेत्रमा लगानी गरेका छन् ।
बाह्य देशको समेत व्यवसायिक , सामाजिक र आर्थिक बिषयमा नजिकैबाट नियालेका उनको विचारमा नेपालमा लगानी सुरक्षाको वातावरण अझै बनिसकेको छ्रैन । लगानीलाई प्रोत्साहन गर्ने कार्यक्रमहरु राज्यपक्षबाट आउन नसकिरहेको उनको बुझाई छ । यहाँको औद्योगिक तथा व्यवसायिक क्षेत्रमा श्रमिकदेखि राज्य सम्मको त्रास रहेको चापागाइँ बताउँछन् ।
सबै क्षेत्रमा इमान्दारिताको कमी देखिन्छ , अनुशासन र इमान्दारिताको अभावले पनि धेरै समस्या उब्जिएको महसुस भएको छ । उनी भन्छन– यसका लागि बालबालिकाहरुलाई अहिलेदेखिनै किताबी शिक्षा होइन नैतिक र व्यवहारिक शिक्षा दिनु आवश्यक छ ।