दमक/ झापाको दमकमा आज महिला सशक्तिकरणका लागि एक रुपैयाँ अभियानका बिषयमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ ।
राष्ट्रिय महिला अधिकार मञ्च झापाको आयोजना तथा दमक नगर समितिको व्यवस्थापनमा आयोजना गरिएको सो कार्यक्रमका सहभागीहरुले महिलाहरुको सशक्तिकरणका लागि आय आर्जनसंगै बचतमा जोड दिए । सो अवसरमा एक रुपैयाँ अभियान किन र के का लागि भन्ने बिषयमा चर्चा परिचर्चा गरिएको थियो ।
सो कार्यक्रम लगत्तै सो संस्थाले दमकको अनाथ तथा बाल बृद्ध आश्रममा पुगेर खाद्यन्न सहयोग समेत हस्तान्तरण गरेको नगर अध्यक्ष रमा लिम्बुले जानकारी दिइन् ।
संघीय सांसद महेन्द्रकुमारी लिम्बुको प्रमुख आतिथ्य र राष्ट्रिय महिला अधिकार मञ्चकी झापा अध्यक्ष पुनम बजागाइँको अध्यक्षतामा भएको सो कार्यक्रममा संस्थाका सदस्य महिलाहरुको सहभागिता थियो । कार्यक्रममा दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारी, प्राध्यापक राधिका ओझा, आदिवासी जनजाती महिला नेतृ तथा साहित्यकार सुमित्रा वाङदेल चेली, मञ्चकी केन्द्रिय सदस्य मन्दरा पौडेल , अनाथ बाल बृद्धाश्रम दमककी अध्यक्ष सुमित्रा प्रसाइँ, राष्ट्रिय महिला अधिकार मञ्चको प्रेरणा कार्यक्रम संयोजक कविता चौधरी लगायतले मन्तव्य राखेका थिए । महिला अधिकार मञ्चकी दमक नगर अध्यक्ष लिम्बुको स्वागत रहेको कार्यक्रमको सञ्चालन सचिव गीता दाहालले गरेकी थिइन् ।