दमक/ झापाको दमकमा यहि भदौ २० गते हुने दमक उद्योग वाणिज्य संघको निर्वाचनका लागि सत्तारुढ नेकपा निकटका प्रगतिशील व्यवसायीहरुको उम्मेद्वारी घोषणा गरिएको छ ।
दमक उद्योग वाणिज्य संघ निर्वाचन परिचालन समिति प्रगतिशील व्यवसायी समुहको ब्यानरमा दमकको केन्द्रविन्दु नमुना मार्ग नजिकैको सडक बीचमा उम्मेद्वारी घोषणा कार्यक्रम गरिएको हो ।
समुहका संयोजक ध्रुव भट्टराईले पार्टी नेता, कार्यकर्ता तथा व्यवसायीहरुको माझ विमल खतिवडा नेतृत्वका उम्मेद्वारहरु सार्वजनिक गरे ।
घोषित उम्मेद्वारहरुमा संघको अध्यक्षका लागि विमल खतिवडा, वरिष्ठ उपाध्यक्षमा लागि देवी प्रसाद गुरागाइँ ( गोपाल), प्रथम उपाध्यक्षमा युवराज घिमिरे, द्धितीय उपाध्यक्षमा घनश्याम खनाल, तृतीय उपाध्यक्षमा ज्ञाननाथ ( ज्ञानु) पौडेल रहेका छन् । त्यसैगरी कार्य समिति सदस्यहरुमा भरत चम्लागाइँ, पदम प्रसाद न्यौपाने, राजकुमार थापा, रिङकुमार आचार्य, असिम राई, सुभाषचन्द्र गड्तौला र सुमन काफ्लेलाई उम्मेद्वार घोषणा गरिएको छ ।
त्यसैगरी महिला कोटाबाट सदस्यहरुमा चन्द्रकला ( जमुना) निरौला अधिकारी र विन्दु सिटौलाको नाम घोषणा गरिएको छ । लेखा समिति संयोजकमा खोमप्रसाद बगाले र सदस्यहरुमा लाल बहादुर श्रेष्ठ र मोहन मगरलाई उम्मेद्वार घोषणा गरिएको छ ।
नेकपाका केन्द्रिय सदस्य देवेन्द्र दाहाल, प्रदेश कमिटी सदस्य गगन पुरी, जिल्ला कमिटी सदस्यहरु अम्बिका खनाल, दुर्गा चौंलागाइँ, नेत्र दाहाल, लीला दाहाल, बेदु गौतम राष्ट्रिय वाणिज्य संघका केन्द्रिय सदस्य राजकुमार श्रेष्ठ लगायतको उपस्थितीमा ति उम्मेद्वार घोषणा गरिएको हो । घोषणा कार्यक्रमको सञ्चालन रमेश अधिकारीले गरेका थिए भने स्वागत मन्तव्य निर्वाचन परिचालन समिति सहसंयोजक राजेन्द्र ढकालले स्वागत मन्तव्य राखेका थिए ।
एजेण्डा पुरानै
सत्तारुढ नेकपाको उम्मेद्वार घोषणा कार्यक्रमका वक्ताहरुले यस अघिका स्थानीय तह, प्रदेश र संघको निर्वाचनमा पार्टीले उठाएका प्रमुख मुद्धाहरुमा केन्द्रित रहे । जिल्ला सदस्य खनालले आफ्नो मन्तव्यका क्रममा औद्योगिक पार्क, बुद्ध मूर्ति र भ्यू टावरको योजनाको चर्चा गर्दै ति योजनाहरु पूरा गर्न वाणिज्य संघमा आफ्नो पार्टीको नेतृत्व आवश्यक भएको जिकिर गरे ।

जिल्ला सदस्य बस्नेतले उम्मेद्वारका आकांक्षीहरु धेरै भएपनि ( पद) ठाउँ सिमित भएका कारण सबैलाई अटाउन नसकिएको यथार्थ बुझेर एक ढिक्का भई चुनावमा होमिन आग्रह गरे । उनले जसरी पनि यो निर्वाचन प्रगतिशील व्यवसायीका उम्मेद्वारहरुले जित्ने घोषणा गरे ।
अध्यक्षका प्रत्यासी खतिवडाको प्रतिबद्धता
अध्यक्षका उम्मेद्वार खतिवडाले आफू एक कार्यकाल मात्रै अध्यक्षका लागि उम्मेद्वार बनेको र दोहोरयाएर अध्यक्ष नबन्ने प्रतिबद्धता जनाए । उनले संघमा सबैलाई जिम्मेवारी बाँडफाँड गरेर कार्यसम्पादन गर्ने पनि बताए ।