विराटनगर/ अविवाहित युवतीबाट जन्मिएको शिशु अस्पतालबाटै खरिद बिक्री गरेको अभियोगमा पक्राउ परेका ६ जना मध्ये ३ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
बाँकी ३ जना धरौटीमा रिहा भएका छन्। । जिल्ला अदालत मोरङले ग्रीनक्रस अस्पतालका चिकित्सकसहित ३ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले अन्य ३ जनालाई धरौटीमा छाडेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो ।
शिशु बिक्रीको सो घटनामा संलग्न रहेको अभियोगमा विराटनगर–२ तीनपैनी घर भएका वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ ६८ वर्षीय डा. तपेश्वरलाल कर्ण, शिशुका बाबु भोजपुरको हतुवागढी गाउँपालिका–४ का २७ वर्षीय गोविन्द राई र डा. तपेश्वरसँग शिशु खरिद गरेर लैजाने मोरङको कटहरी गाउँपालिका–२ आदर्श टोलका ३० वर्षीय सूर्यनारायण राजवंशीलाई थुनामा राख्न अदालतले आदेश दिएको हो ।

सिरहा घर भई विराटनगर–११ जनपथ टोल बस्ने ४० वर्षीया नीरु भनिने निर्मला यादव, मोरङको कटहरी–२ की ३३ वर्षीया सुधा भनिने शुक्री राजवंशी र ४७ वर्षीया दिलमनीदेवी राजवंशीलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । अदालतले शुक्रीसँग २ लाख, निर्मलासँग १ लाख र दिलमनीदेवीसँग १० हजार रूपैयाँ धरौटी माग गरिएको छ ।

 

 

Facebook Comments Box