वि.सं. २०८१ साल नेपालका प्रधानमन्त्री के.पी. शर्मा ओलीका लागि राजनीतिक, कूटनीतिक, र आर्थिक दृष्टिकोणले मिश्रित अनुभवहरूको वर्षका रुपमा बित्यो ।
यो वर्ष उनले मुलुकमा चौथो पटक प्रधानमन्त्रीको पद सम्हाल्ने अवसर जुर्यो । असारको ३० गते ओली मुलुकमा चौथो पटक प्रधानमन्त्रीमा नियुक्त भए । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरे । श्रावण ६ गते संसदबाट विश्वासको मत लिए ।
मुख्य प्रतिस्पर्धी दल नेपाली कांग्रेसबाट समेत विश्वासको मत पाएपछि उनले सोही दिन नेपाली राजनीतिमा आश्चर्यजनक मानिएको कांग्रेस–एमालेबीचको सहमति पत्रनै वाचन गरेर संसदमा सुनाए ।
१७ असारमा कांग्रेससँग भएको सहमति अनुसारनै ओलीले कांग्रेसबाट विश्वासको मत पाएका थिए ।
प्रचण्डलाई आफैं प्रधानमन्त्री प्रस्ताव गरेर यसअघि प्रधानमन्त्री बनाएका ओलीले कांग्रेससँग सहकार्य गर्दा आफैं प्रधानमन्त्री हुने मौका पाए ।
यद्यपी प्रधानमन्त्रीको हैसियतमा ओलीले चालेका प्रयासहरू विभिन्न विवाद, चुनौती, र अवसरहरूका रुपमा परिणत भएका छन् ।
प्रधानमन्त्री नियुक्तिको पाँच महिनापछि १६ मसिंरमा ओलीले आफ्नो पहिलो विदेश भ्रमणको रूपमा चीनको यात्रा गरे ।
परम्परागत रूपमा भारतलाई नेपालका प्रधानमन्त्रीहरुले पहिलो गन्तव्य बनाउने गरेका थिए यसलाई तोड्दै ओलीले चीनसँगको सम्बन्धमा पाइला अघि बढाए । नेपाल र चीनबीच बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआरआइ) अन्तर्गत सहकार्यको लागि एउटा ढाँचागत सम्झौतामा हस्ताक्षर भयो ।
तर, वित्तीय पक्षमा नेपालभित्रै विवादहरू उठे । स्वयं सत्तारुढ पार्टीका सांसदहरुले पनि यसको बिरोधमा संसदमै आवाज उठाए ।
प्रधानमन्त्री पदमा पुनरागमनदेखि चीनसँगको सम्बन्ध विस्तार, भारतसँगको सीमा विवाद, आन्तरिक पार्टी कलह जस्ता घटनाक्रमहरूले उनको नेतृत्व क्षमताको परीक्षा लियो ।
पार्टी भित्र र बाहिरको आक्रमण
उनले बर्ष २०८१ मा नै आफ्नै पार्टीका नेता, पार्टी महाधिवेशनमा अध्यक्ष पदमा आफूसँग प्रतिस्पर्धामा आएका डा. भिम रावललाई पार्टीबाट निकाले ।
१० पुषमा रावललाई ओलीकै इच्छा बमोजिम पार्टीबाट निष्काशन गरियो ।
यस क्रममा उनले नेता रावलबाट दर्जनौं बुँदामा आरोप खेप्नु पर्यो ।
त्यति मात्रै होइन एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले देशका प्रमुख स्थानीय तहहरुमा निर्वाचित मेयरहरुसँग पनि टकरावको सामना गर्नु पर्यो ।
काठमाडौंका मेयर बालेन्द्र साह र धरानका मेयर हर्क साम्पाङले ओली विरुद्ध बारम्बार सामाजिक सञ्जालमा प्रहार गरे ।
रास्वपा सभापति एवं आफ्नै सत्ता सहकार्यमा एकपटक उपप्रधानमन्त्री तथा गृह मन्त्री बनाइएका रवि लामिछाने पक्षधरहरुको पनि सामाजिक सञ्जालमा कडा प्रहार सहनु पर्यो ।
अन्तत ओली नेतृत्वको सरकारको सक्रिय भुमिका पछि सहकारीमा करोडौं अपचलन गरेको आरोप लागेका रवि लामिछाने प्रहरी फन्दामा परे ।
नातीसँग बिग्रीएको सम्बन्ध

प्रधानमन्त्री ओलीले कुनै बेला आफ्नै नाती सो सरह माया गरेर संरक्षकत्व प्रदान गर्दै आएका दुर्गा प्रसाइँको प्रहार उनले झनै नराम्ररी झेल्नु पर्यो ।
१५ चैतमा काठमाडौंको तीनकुनेमा प्रसाइँको नेतृत्वमा भएको प्रदर्शनपछि उत्पन्न परिस्थितीका कारण बर्षको अन्तिम दिन तिर आइपुग्दा २९ चैतमा ओली नेतृत्वको सरकारले उनलाई प्रहरीको खोरमा पुरयाई छाड्यो ।
संयोग यस्तो पनि पर्यो कि प्रसाइँलाई आसामबाट भारतीय प्रहरीले झापा ल्याएर नेपाल प्रहरीको जिम्मा लगाउँदै गर्दा प्रधानमन्त्री ओली काठमाडौंबाट झापा आउँदै थिए ।
दमकमा पनि विवाद
आफ्नै निर्वाचन क्षेत्रमा पर्ने दमक ३ मा अरब बढीको भ्यु टावर बनाएर विवादस्पद बनेका प्रधानमन्त्री ओलीले बर्ष ८१ मानै यसको नाम विजनेश कम्प्लेक्स बनाएर उदघाटन गरे ।
३० चैतमा गृह जिल्ला झापाको दमकमा पार्टीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न आएका ओली यहाँ पनि विवादबाट टाढा बस्न सकेनन् ।
उनले दमकमा सभालाई सम्बोधन गर्दै गर्दा सहभागीहरु सभा छोडेर बाहिरिएको दृश्य सामाजिक सञ्जालमा भाइरल बन्यो ।
बर्ष २०८१ को अन्तिम दिन ३१ चैतमा ओलीले गौरादहमा यसअघिनै निर्माण शुरु भएर झण्डै २० प्रतिशत काम भइसकेको गौरादह नगर अस्पतालको शिलान्यास गरे । यसले उनलाई लाग्दै आएको शिलान्यास मोह, बिकासमा राजनीतिक हस्तक्षेपको आरोपलाई पथ पुष्ट्याइँ गर्न टेवा दियो ।