आज देशभर साउने सङ्क्रान्ति पर्व हर्षोल्लासका साथ मनाइँदै छ ।  साउने संक्रान्ति नेपाली हिन्दू संस्कृतिमा एक महत्वपूर्ण पर्व हो, जुन प्रत्येक वर्ष साउन १ गते मनाइन्छ। यो दिनलाई वर्षाको स्वागत गर्ने र प्रकृतिसँग जोडिने विशेष दिनका रूपमा पनि लिइन्छ। साउने संक्रान्तिलाई “साउन संक्रान्ति” वा “सिरुवामुंखी संक्रान्ति” पनि भनिन्छ।
किसानदेखि सरकार सम्मका लागि साउन महिनाको १ गते बिशेष दिन हो । नेपालमा आजकै दिनदेखि नयाँ आर्थिक बर्षको शुरुवात हुन्छ ।
आजकै दिनदेखि विभिन्न निकाय, सरकारी तथा गैह्रसरकारी संस्थाहरुले पनि आजको दिनलाई नै आर्थिक कारोबारको थालनीका लागि बर्षको पहिलो दिनका रुपमा लिने व्यवस्था छ ।
सूर्यले मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने यस दिनबाट सूर्य दक्षिणायन लाग्ने र वर्षायामको मध्य विन्दु मानिने भएकाले यसको सांस्कृतिक एवं खगोलीय महत्व विशेष छ । यो पर्व कृषि संस्कृतिको सम्मान, प्रकृतिसँगको तादात्म्यता र पारिवारिक जमघटको अनुपम प्रतीकका रूपमा रहेको छ ।
खगोलीय रूपमा आजदेखि सूर्य दक्षिणतिर ढल्कने अर्थात दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुरु हुने उत्तरायण र आजदेखि सुरु हुने दक्षिणायन, दुवै दिनलाई वैदिक परम्परामा विशेष मानिन्छ ।
यस दिनलाई किसानहरूले एक महिना लामो धान रोपाइँ र अन्य खेतीपातीको कामबाट विश्राम लिने अवसरका रूपमा पनि मनाउँछन् ।
आफन्तजन भेला भई मीठा परिकार खाने र सुखदुःख साटासाट गर्ने चलनले यस पर्वलाई सामाजिक रूपमा अझ जीवन्त बनाएको छ ।
साउने सङ्क्रान्तिको सबैभन्दा मौलिक र रोचक पक्ष भनेको ‘लुतो फाल्ने’ परम्परा हो । असार महिनाभर हिलोमाटोमा काम गर्दा लाग्न सक्ने छालासम्बन्धी रोग र एलर्जीबाट मुक्ति पाइयोस् भन्ने कामनासहित यो विधि गरिन्छ ।
धर्मशास्त्रविद् प्रा। डा। देवमणि भट्टराईका अनुसार, ‘कृषि कर्मको क्रममा शरीरमा लाग्ने विभिन्न चर्मरोग र विकारलाई हटाउन औषधीय गुणयुक्त वनस्पतिहरूको प्रयोग गरी शरीरलाई शुद्ध पार्ने प्रतीकात्मक विधि नै लुतो फाल्नु हो ।’
साउने सङ्क्रान्तिसँगै भगवान् शिवको प्रिय महिना ‘श्रावण’ पनि प्रारम्भ भएको छ । यो महिनाभरि श्रद्धालुहरू, विशेषगरी महिलाहरू, भगवान् शिवको भक्ति–आराधनामा लीन हुन्छन्।् । प्रकृति हरियालीले ढाकिने यो समयमा महिलाहरू हरियो र रातो रङका वस्त्र, चुरा र मेहन्दीमा सजिएर प्रकृतिसँग एकाकार भएको सन्देश दिन्छन् ।
यसरी, साउने सङ्क्रान्ति केवल एक दिनको पर्व मात्र नभई, कृषि–संस्कृति, प्रकृति–पूजा, स्वास्थ्य–चेतना र सामाजिक–सद्भावको अनुपम संगम हो । यसले नेपाली समाजको प्रकृति र परम्पराप्रतिको गहिरो सम्मानलाई उजागर गर्दछ ।

 

 

Facebook Comments Box