चुलाचुली/ बिकट मानिएको इलामको दक्षिणवर्ती चुलाचुली गाउँपालिकाको ६ नम्बर वडा (साविक साक्फारा)बासीलाई लक्षित गर्दै गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।
सो क्षेत्रमा पहिलो पटक एम्बुलेन्स सेवा स्थानीय सरकारले आफैं सञ्चालनमा ल्याएको हो । गाउँपालिकाले आन्तरिक स्रोतबाट बजेट व्यवस्थापन गरी खरिद गरेको एम्बुलेन्स शुक्रबार साक्फारामा निशुल्क स्वास्थ्य शिविर समेत आयोजना गर्दै सोही अवसरमा वडा कार्यालयलाई हस्तान्तरण गरिएको छ ।
सो एम्बुलेन्स वडाबासी ज्येष्ठ नागरिक र सुत्केरीका लागि निशुल्क सेवा दिनका लागि भएको र अन्य नागरिकहरुले भने गाउँपालिकाबाट तोकिएको सिमित शुल्क तिरेर उपयोग गर्न सक्ने जनाइएको छ ।
गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङ र उपाध्यक्ष दिलकुमारी लाओतीले संयुक्त रुपमा वडा नं ६ का वडाध्यक्ष दिलकुमार राईसहित वडाका जनप्रतिनिधिहरुलाई एम्बुलेन्सको साँचोसहित एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा अध्यक्ष केरुङले साक्फाराबासीको पुस्तौंदेखिको मानवीय स्वास्थ्यमा अतिआवश्यक सेवाका रुपमा रहेको एम्बुलेन्स सेवा सुचारु गराउन पाउँदा आफैंले फरक अनुभूती गरेको सुनाए ।
उनले चुलाचुली गाउँपालिका सबै भुगोल, क्षेत्र, जातजाती , भाषाभाषी, धर्म, संस्कृतिको बिकासमा सन्तुलित रुपमा अघि बढेको बताउँदै चुलाचुलीबासी कसैले पनि पछुतो मान्नु नपर्ने गरि आफूले न्यायपूर्ण बिकासको नीति अवलम्बन गरेको उल्लेख गरे ।
गाउँपालिका उपाध्यक्ष लाओतीले नागरिकहरुको सबैभन्दा नजिकको सरकारका रुपमा रहेको स्थानीय सरकारले संघ तथा प्रदेश सरकार, यस क्षेत्रका जनप्रतिनिधिहरुसँग समेत समन्वय र सहकार्य गर्दै यहाँको सन्तुलित र समुचित बिकासमा ध्यान दिएको बताइन् ।
वडा नं ६ का वडाध्यक्ष दिलकुमार राईको अध्यक्षतामा सञ्चालन भएको एम्बुलेन्स हस्तान्तरण तथा स्वास्थ्य शिविर कार्यक्रममा नेपाली कांग्रेसका वडा सभापति अदिप राई, नेकपा एमालेका धिरेन राई, नेकपाका गंगा श्रेष्ठ लगायतले साक्फाराबासीका लागि प्राप्त भएको एम्बुलेन्सको सही सदुपयोगमा जोड दिँदै स्थानीय सरकारलाई धन्यवाद व्यक्त गरे । सो कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दुस्यान्त दाहालले स्वागत मन्तव्य राख्दै शाखाले पालिकाबासीको स्वास्थ्य सेवालाई लक्षित गर्दै विभिन्न आकर्षक स्वास्थ्य कार्यक्रमहरु ल्याइरहेको बताए ।
सो अवसरमा सञ्चालित स्वास्थ्य शिविरमा सर्वसाधारणको सुगर, प्रेसर, ज्वरो आदीको जाँच गरि तत्काल रिपोर्ट उपलब्ध गराइएको छ भने ४० बर्ष माथिको उमेर समुहको खकार परिक्षणका लागि नमुना समेत सकंलन गरिएको छ । चुलाचुली गाउँपालिकामा विगतमा ४२ जना क्षयरोगका बिरामी भेटिएका र साक्फाराबासी समेत यसबाट पीडित रहेको पाइएकाले खकारको नमुना संकलन गरि परिक्षणका लागि ल्याबमा पठाइएको स्वास्थ्य शाखा प्रमुख दाहालले बताए । शिविरमा चुलाचुली अस्पतालका डा. पारुहाङ छा नेतृत्वको चिकित्सक तथा स्वास्थ्यकर्मी टोलीले प्राविधिक सहयोग पुरयाएको थियो । शिविरमा ७० जनाले स्वास्थ्य जाँच तथा निशुल्क औषधी सेवा लिएका जनाइएको छ । कार्यक्रमको सञ्चालन वडा सचिव पदम पौडेलले गरेका थिए ।

Facebook Comments Box