दमक/ बढ्दो जीवनशैलीसम्बन्धी रोगहरूको जोखिम न्यूनीकरण गर्दै नागरिकलाई समयमै उपचारको पहुँचमा ल्याउने उद्देश्यसहित कमल गाउँपालिका–७ मा नसर्ने रोगसम्बन्धी स्वास्थ्य परीक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।
विशेषगरी ३० वर्षभन्दा माथिका नागरिकहरूलाई लक्षित गर्दै सञ्चालन गरिएको उक्त कार्यक्रम समुदायमै पुगेर स्वास्थ्य सेवा प्रवाह गर्ने स्थानीय सरकारको प्राथमिकताको प्रतिफलका रूपमा लिइएको छ।
कमल गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा सञ्चालन गरिएको कार्यक्रममा सहभागी नागरिकहरूको मधुमेह (सुगर) परीक्षण, रक्तचाप मापन, मृगौला सम्बन्धी रोगको प्रारम्भिक जाँच साथै उचाइ र तौलका आधारमा मापन गरिएको थियो ।
परीक्षणका क्रममा जोखिममा देखिएका नागरिकहरूलाई थप परीक्षण तथा उपचारका लागि स्वास्थ्य संस्थामा सम्पर्क गर्न सुझावसमेत दिइएको थियो।
कार्यक्रममा खटिएका स्वास्थ्यकर्मीहरू ड्म्बर कुमारी शर्मा, प्रतीक्षा शाह, श्रद्धा भट्टराई ले नसर्ने रोगहरू कसरी विस्तार हुँदै गइरहेका छन्, किन यस्ता रोगहरू मौन रूपमा शरीरमा बढ्छन् र समयमै पहिचान नगरेमा कस्ता जटिलता देखिन सक्छन् भन्ने विषयमा सहभागीहरूलाई सचेत गराएका थिए ।
साथै स्वस्थ जीवनशैली, नियमित व्यायाम, सन्तुलित आहार, धूम्रपान तथा मदिरा सेवन नियन्त्रण र नियमित स्वास्थ्य परीक्षण नै नसर्ने रोग नियन्त्रणका मुख्य उपाय भएकोमा जोड दिइएको थियो।कमल–७ का वडा अध्यक्ष पृथ्विपति राईले समुदायमा पछिल्लो समय उच्च रक्तचाप, मधुमेह र मृगौला सम्बन्धी रोगहरूको संख्या बढ्दै गएको उल्लेख गर्दै भने,
“यी रोगहरू सुरुमा देखिँदैनन्, तर ढिला हुँदा जटिल बन्छन्। त्यसैले रोग लागेपछि होइन, रोग लाग्न नदिन र प्रारम्भिक अवस्थामै पत्ता लगाउन यस्ता कार्यक्रम आवश्यक छन्।”
स्थानीय बासिन्दाहरूले आफ्नै टोल–समुदायमै निःशुल्क रूपमा स्वास्थ्य परीक्षण सेवा पाउन पाउँदा खुशी व्यक्त गरेका छन्। धेरै नागरिकले पहिलो पटक आफ्नो रक्तचाप, सुगर र BMI को अवस्था थाहा पाएको भन्दै यस्ता कार्यक्रमले स्वास्थ्यप्रति सचेत हुन ठूलो सहयोग पुगेको प्रतिक्रिया दिएका छन्।कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले आगामी दिनहरूमा पनि पालिकाका सबै वडाहरूमा नसर्ने रोगसम्बन्धी स्वास्थ्य परीक्षण तथा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइने स्पष्ट पारेका छन् । उनका अनुसार, “स्वस्थ नागरिक बिना समृद्ध स्थानीय तहको कल्पना गर्न सकिँदैन। त्यसैले पालिकाले उपचारभन्दा पनि रोकथाम र सचेतनालाई प्राथमिकतामा राखेर कार्यक्रमहरू अघि बढाइरहेको छ ।” यस्ता समुदायस्तरीय कार्यक्रमहरूले नागरिकमा स्वास्थ्यप्रति चेतना अभिवृद्धि हुनुका साथै नसर्ने रोगको जोखिम न्यूनीकरण गर्दै समग्र समुदायको स्वास्थ्य अवस्थामा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।