दमक/ झापाको दमकमा कोरोना संक्रमणको त्रास बढदो छ । अहिले सम्म नगरमा १८९ जनामा कोरोना संक्रमण देखिइसकेको छ । ति मध्ये १५५ जनाले कोरोना जितेका छन भने एक संक्रमित महिलाले कोरोनासंग हारेर ज्यान गुमाइसकेकी छिन ।
संक्रमितहरु मध्ये नगर प्रमुख रोमनाथ ओलीसहित ३ जना जनप्रतिनिधि छन । स्वास्थ्यकर्मी, उद्योगी व्यवसायी, कर्मचारीदेखि सर्वसाधारण सम्म कोरोनाबाट पीडित छन । अहिले नगरमा सक्रिय संक्रमितको संख्या ३३ रहेको छ । ति मध्ये २५ जना होम आइसोलेसनमै उपचाररत छन । दमकमा कोरोना परिक्षणको लागि स्वाव संकलनको क्रम पनि जारी छ । हिजो र आज ठुलो संख्यामा स्वाव संकलन भएको छ । करिब साढे ३ सय जनाको स्वाव संकलन गरि परिक्षणका लागि कोटीहोमस्थित प्रयोगशाला पठाइएको छ । यस अघि संक्रमण देखिइसकेको व्यक्तिसंग प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिहरुको स्वाव संकलन भएकाले थप ठुलो संख्यामा दमकमा संक्रमितहरु थपिने सम्भावना प्रवल छ । संक्रिय संक्रमितहरुले देशभरका कोभिड १९ विशेष अस्पतालहरु भरिभराउ भएका खबर सञ्चारमाध्यमहरु मार्फत बाहिर आइरहेका छन । संघीय सरकारले स्थानीय तहमै कोभिड १९ विशेष कम्तीमा ३० बेडको आइसोलेसन कक्ष निर्माण गर्न सर्कुलर गरिसकेको छ । तर दमक नगरपालिकाले अहिले सम्म छुट्टै आइसोलेसन कक्ष सञ्चालन गरेको छैन । आम्दा अस्पतालमा केही आइसोलेसन कक्ष रहेका भएपनि प्राय खाली छैनन । नगरपालिकाले छुट्टै कोरोना विशेष उपचारस्थल र संक्रमितहरुको मृत्यु भइहाले शव व्यवस्थापनका लागि कुनै पूर्व तयारी गरेको छैन ।
कोभिड १९ को उपचारका लागि दमक २ स्थित पुरानो शरणार्थी समन्वय एकाइको कार्यालय रहेको भवन र सशस्त्र प्रहरीको बेलडाँगी १ स्थित बेस क्याम्प परिसरमा भौतिका पूर्वाधारहरुको व्यवस्था मिलाउने जनाएको भएपनि एक महिना अघि शुरु भएको सो कामले पूर्णता पाउन सकेको छैन । अन्य गाउँपालिका , नगरपालिकाहरु धेरैले छुट्टै आइसोलेसन कक्ष निर्माण गरेर आवश्यक जनशक्ति व्यवस्थापनका लागि तयारी थालेपनि दमकको पूर्व तयारी कमजोर देखिन्छ । दमक २ मा निर्माणाधिन आइसोलेसन भवनमा आवश्यक पूर्वाधारहरुको व्यवस्थापन सुस्त गतिमा हुँदा यहाँका संक्रमितहरु भोली घरमै राख्न नमिल्ने र थप उपचारका लागि छुट्टै अस्पतालमा लैजानु पर्ने अवस्था आएको खण्डमा समस्या पर्न सक्छ तर स्थानीय सरकार त्यसको व्यवस्थापनमा निक्कै सुस्त छ । दमक नगरपालिकाका एक जना जनप्रतिनिधिले भने – हामीले धेरै अघिनै आइसोलेसन बनाउँ भन्यौं , हाकीम साबहरुले सुने नसुनेझै गर्नुभयो । अहिले सम्म आइसोलेसन भवन छैन । आफूहरु मर्यादा क्रममा तल्लो तहमा पर्ने भएकाले उपल्लो तहका जनप्रतिनिधि, प्रमुख प्रशासकिय अधिकृत लगायतले सुझाव , सल्लाहको वेवास्ता गर्ने गरेकाले दमकमा समस्याले विकराल रुप लिन सक्ने अवस्था आएको उनले बताए ।
३० बेड क्षमताको निर्माणाधिन आइसोलेसन कक्षसंगै त्यहाँ खटिने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीका लागि पनि छुट्टै आवाससहितको बन्दोबस्ती आवश्यक हुन्छ तर त्यसका लागि निक्कै ढिलो भइसक्यो– नगरपालिकाको स्वास्थ्य शाखाका एक जना कर्मचारीले भने ।
ओली दम्पत्ती वीपि प्रतिष्ठानमा, वडाध्यक्ष आम्दामा
दमकमा पछिल्लो समय देखिएका सक्रिय संक्रमितहरु मध्ये नगर प्रमुख रोमनाथ ओली र पत्नी लिला ओली अहिले वीपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा उपचाररत छन । वडा नं १० का वडाध्यक्ष बोधराज न्यौपाने आम्दा अस्पतालमा सञ्चालित आइसोलेसनमा छन । अर्का एक जनप्रतिनिधि पनि संक्रमित छन । ५१ बर्षका पुरुष जनप्रतिनिधि उनले आफनो पहिचान गोप्य राख्न चाहेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । दमकमा सञ्चालित क्वारेन्टाइनमा रहनेको संख्या भने आज बुधबारको दिन कूल १७ रहेको छ ।

Facebook Comments Box