दमक/ गत फागुनमा उपचारको क्रममा मृत्यु भएकी झापा दमक १ की एक महिलाको परिवारलाई आज कर्णाली बचत तथा ऋण सहकारी विर्तामोडले वीमा वापतको नगद २ लाख १८ हजार ८ सय १६ रुपैयाँ हस्तान्तरण गरेको छ ।

संस्थाकी सदस्य गंगामाया नेम्वाङ शेर्पाको परिवारलाई संस्थाको नेतृत्वले घरमै पुगेर सो सुविधा रकम प्रदान गरेको हो । संस्थाका उपाध्यक्ष ईश्वरी प्रसाद खरेल र सचिव भुपाल बस्नेतसहितको टिमले दमक १ का वडाध्यक्ष ताराप्रसाद अधिकारी र वडा नं ७ का वडाध्यक्ष भीम पौडेल मार्फत मृतकका पति गोरे शेर्पालाई सो रकम हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा वडाध्यक्ष पौडेल , कर्णाली सहकारीका उपाध्यक्ष खरेल र सचिव बस्नेत लगायतले मन्तव्य राखेका थिए ।

संस्थाका दमक शाखा व्यवस्थापक सुजन भण्डारीका अनुसार कर्णाली साकोसले आफ्ना सदस्यहरु तथा सदस्य परिवारको समेत उपचारमा राहत र मृत्युपछि समेत विभिन्न सुविधा दिदैं आएको छ । संस्थाको साधारण उपचार कोषमा र विशेष उपचार तोकिएको रकम जम्मा गर्ने सदस्यलाई कम्तीमा ४ हजारदेखि बढीमा १० लाख सम्मको रोग तथा उपचारको प्रकृति हेरेर राहत सुविधा दिईँदै आएको व्यवस्थापक भण्डारीले बताए । त्यस्तै संस्थाका सदस्यहरुलाई एलआईसी वीमा कम्पनील वीमा सुविधा वापत वीमाकं हेरी न्यूनतम एक लाख देखि माथि वीमा सुविधा वापत रकम दिदैं आएको छ ।

Facebook Comments Box