दमक/प्रदेश १ का समानुपातिक सांसदहरुलाई पनि प्रदेश १ सरकारले संसद विकास कोष मार्फत जनही २५ देखि ५० लाख रुपैयाँ दिने गृहकार्य शुरु गरेको छ ।

यस अघि प्रदेश संसद विकास नरहेकोमा अब कोष स्थापना गरी सबै सांसदहरुलाई सोही कोष मार्फत विकासका नाममा बजेट दिइन लागेको हो ।
आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि प्रदेश सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रमको विषयमा उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री शेरधन राईले ९३ जनै सांसदलाई उचित सम्मानका साथ रकम प्रदान गरिने बताए ।
गत जेठ २३ गते बसेको नेकपा संसदीय दलको बैठकमा सांसदले विकास बजेट सबैलाई समान हिसावले दिनुपर्ने माग गरेपछि मुख्यमन्त्री शेरधन राईले २५ देखि ५० लाख रुपैयाँसम्म बजेट दिन सकिने बताएका हुन् ।
अघिल्लो पटक ५६ जना प्रत्यक्ष निर्वाचित सांसद मार्फत त्यस्तो बजेट दिइएको थियो । यसअघि सांसदले संसद विकास कोषमार्फत प्रत्येक सांसदलाई एक करोड दिनुपर्ने र निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट पाँच करोडसम्म र्पुयाउनु पर्ने माग गरेका थिए । प्रदेशमा प्रत्यक्ष निर्वाचित सांसदका लागि पूर्वाधार विकास कार्यक्रम मार्फत चालू आर्थिक वर्षमा सरकारले दुई करोड बजेट छुट्याएको भए पनि संसद विकास कोष भने स्थापना गरेको थिएन । केन्द्र सरकारले भने आर्थिक वर्ष २०७६÷०७७ का लागि निर्वाचित सांसदका लागि ६ करोड रुपैयाँ विनियोजन गरेको छ ।

Facebook Comments Box