दमक/ यतिबेला जताततै बजेट सक्ने चटारोमा उपभोक्ता समिति र निर्माण व्यवसायी मार्फत असारे विकासको काम चलिरहेको छ । धेरै जसो नगर तथा गाउँपालिकाहरुमा बर्षौं अघिनै रहेको सडक संरचनाका आधारमा खानेपानीका पाइप विस्तार गरिएका थिए ।
ति सडकको स्तरोन्नती अन्तर्गत अहिले कतै ग्राभेल त कतै कालोपत्रेका योजनाहरु चलिरहेका छन् ।
एउटा विकासे काम गर्दा अर्को विकासे संरचनामा अन्धाधुन्दा क्षति पुरयाउने क्रम नरोकिँदा खानेपानीका पाइपहरुमा करोडौं क्षति भईरहेको छ भने कतिपय ठाउँहरुमा सम्बन्धित क्षेत्रका उपभोक्ता र उपभोक्ता समिति र स्थानीय तहबीच अन्तरद्धन्द्धको खतरा समेत देखिएको छ । कमल –५ स्थित लखनपुर खानेपानी तथा सरसफाई उपभोक्ता समिति अध्यक्ष उषा भण्डारी सडक विस्तारका नाममा खानेपानीका संरचनाहरुमाथि ठुलो क्षति पुरयाउने काम भईरहेको भन्दै दिगो समाधानका लागि स्थानीय सरकारले ध्यान दिनु पर्ने बताउँछिन् ।
जिल्ला खानेपानी तथा सरसफाई उपभोक्ता महासंघकी उपाध्यक्ष समेत रहेकी भण्डारीले भनिन– साविकको लखनपुर गाविसको खानेपानी पहुँच पुगेका क्षेत्रमा दिनहुँ २÷४ ठाउँमा पाइप फुटाईदिएका कारण पानीमा अवरोध पुगेको जानकारी आउने गरेको छ । उनले सहलगानीमा निर्माण भई सञ्चालनको तयारीमा रहेको कमल ६ स्थित खानेपानी आयोजनाका पाइपहरु समेत पटक पटक बाटो बनाउने नाममा फुटाइएका कारण सहलगानीको सो आयोजनाबाट पानी वितरण गर्न ढिलो भईरहेको पनि बताइन् ।
पाइप फुटेका कारण तत्काल पानी जस्तो अति संवेदनशील क्षेत्रमा अवरोध पुगेपनि स्थानीय सरकारले यो समस्यालाई गम्भिरतापूर्वक नलिदिँदा समस्या भएको लखनपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका उपाध्यक्ष राजेन्द्र संग्रौला बताउँछन् ।
सडक स्तरोन्नतीका क्रममा खानेपानीका पाइप लगायत कुनैपनि संरचनामा क्षति पुरयाएमा के गर्ने भन्ने बिषयमा पूर्व तयारी हुनुपर्ने संग्रौला बताउँछन् । उनी भन्छन–पाइप जसले फुटाउँछ त्यसलाई क्षतिपूर्ति भराउने व्यवस्था स्थानीय सरकारले गर्नुपर्छ । अन्यथा खानेपानी जस्तो संवेदनशील क्षेत्रमा परेको असरले सबैलाई पिरोल्नेछ ।
ठाउँ ठाउँमा रहेको खानेपानीको पाइप फुटाउने पक्षलाई सार्वजनिक सम्पत्तिमा क्षति पुरयाए वापत विद्यमान कानुनमा व्यवस्था भए अनुसारको दण्ड सजायँ गर्नु पर्ने समितिका सचिव विष्णु प्रसाद पौडेल बताउँछन् ।
साविकको लखनपुर १ क्षेत्रबाट समितिमा प्रतिनिधित्व गरेका सन्तोष कार्की आफ्नो क्षेत्रमा खानेपानीको पाइपमा क्षति हुन नदिन सम्बन्धित क्षेत्रका उपभोक्ताहरुनै सचेत हुनुको विकल्प नरहेको बताउँछन् ।
उपभोक्ताहरुले आफ्नो घर अगाडी सडक विस्तारको काम चलिरहँदा कहाँ कहाँ पाइप छ भन्ने पूर्व जानकारी सम्बन्धित निर्माण व्यवसायीलाई गराउनु पर्ने र त्यसो गर्दा गर्दैपनि अटेर गरेर क्षति पुरयाएमा कानुन अनुसार दण्डित गरि क्षतिपूर्ति भराउने व्यवस्था स्थानीय सरकारले गर्नुपर्ने कार्कीको सुझाव छ ।
पुरानो पाइप अर्को समस्या
लखनपुरमा खानेपानी योजना सञ्चालनका क्रममा करीब १०÷१३ बर्ष अघिनै विस्तार गरिएका पाइपहरुमा आइरनयुक्त पानी प्रवाह हुँदा लागेको खिया (आइरन)को असर अझै पनि देखिने गरेको छ ।
अहिले पूर्ण स्वस्थ्यकर पानी उत्पादन भई आपूर्ति गर्ने गरिएको भएपनि यस अघि पाइपमा रहेको खिया बेला बखत पानीमा देखिने गरेको समितिले जनाएको छ । खानेपानी तथा सरसफाई उपभोक्ता समितिले तत्काल पुरानो पाइप विस्तार गर्न लाग्ने करोडौं लागत खर्चिने सामथ्र्य नरहेका कारण पाइपमा लगातार पानी छोडेर सके सम्म शुद्ध पिउने पानी उपलब्ध गराउनुपर्ने अवस्था रहेको अध्यक्ष भण्डारी बताउँछिन् । उनका अनुसार सहलगानीमा वडा नं ६ मा अर्को आयोजनाको काम अन्तिम चरणमा पुगिसकेको छ । त्यसबाट उत्पादन हुने पानी वितरण शुरु भएपछि नयाँ क्षेत्रमा कुनै किसिमको समस्या नरहने उनले स्पष्ट पारिन् । पुरानो पाइप भएको क्षेत्रमा भने ति पाइप विस्थापित गरेर नयाँ पाइप विछ्याउनुपर्ने भएपनि अहिलेनै त्यो सामथ्र्य समितिसंग नरहेका कारण बेला बखत पानीमा समस्या आउने गरेको उपाध्यक्ष संग्रौला बताउँछन् । उनी भन्छन– त्यसैपनि हाम्रो सानो खानेपानी आयोजना हो हामी यसलाई विस्तारको क्रममा छौं त्यसमाथि हाम्रा पाइपहरु फुटाइदिँदा उपभोक्ताहरुलाई ठूलो मर्का परेको छ ।
समितिका पदाधिकारी र सदस्यहरुका बीचमा तत्कालै क्षति भएको खानेपानीको संरचना अनुगमन गरी दोषीमाथि कारवाहीका लागि सिफारिस गर्न र दिगो समाधान गर्न स्थानीय सरकारमा ज्ञापन पत्र बुझाई ध्यानाकर्षण गराउने योजना रहेको उपाध्यक्ष संग्रौलाले बताए ।