दमक/ यतिबेला हरेक कार्यालयका इन्जिनियरहरुलाई योजनाको फर फराकका लागि काम सम्पन्न भए नभएको प्रतिवेदनमा सहि छाप गर्ने चटारो छ ।

प्राविधिक स्टिमेट अनुसार सडक, पूल पूलेसा, आदिको काम भए नभएको रिपोर्ट इञ्जिनियर अर्थात प्राविधिकहरुबाटै रिपोर्ट नलेखाए सम्म काम सम्पन्न भएको भएपनि निर्माण व्यवसायी तथा उपभोक्ता समितिले गरेको कामको भुक्तानी नपाउने बाध्यता छ ।

यही बाध्यतालाई उपयोग गर्दै ठाउँ ठाउँमा इञ्जिनियरहरुले मोटो घुस रकम पाए मात्रै सहि गरिदिने नपाए नगर्ने परिपाटीका कारण धेरैले सास्ती ब्यहोर्नु परिरहेको छ । यस्तै सन्दर्भमा भोजपुरको हतुवागढी गाउँपालिकामा कार्यरत दुई जना प्राविधिक क्षेत्रका कर्मचारी घुस रकमसहित पक्राउ परेका छन् । ईन्जिनियर मिसुहाङ्ग किराँत र सव–इन्जिनियर नइन्द्र पारोहाङ्ग राई घुस रकम सहित पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले उनीहरुलाई गाउँपालिकाको कार्यालयबाट नियन्त्रणमा लिएको हो । मिसुहाङ्ग किराँतले ५० हजार घुस रकम र सव–इन्जिनियर नन्इद्रले २० हजार घुस रकम लिइसकेको अवस्थामा उनीहरुलाई रंगेहात नियन्त्रणमा लिइएको अख्तियार प्रवक्ता (सहसचिव) प्रदिप कुमार कोइरालाले जानकारी दिए । सो बारे थप अनुसन्धान भईरहेको आयोगले जनाएको छ ।

Facebook Comments Box