विष्णु पौडेल
दमक/ दशैंमा धेरै परिवारमा पारिवारिक पुनर्मिलनको सुखद क्षण बितिरहेको बेला दमक ७ सयपत्री टोलकी ७९ बर्षिया मनमाया भुजेलको भने पीडा बल्झिएको छ । १२ बर्ष अघि विदेश जाने पैसाको अभावमा घरबाट विरक्तिएर हिंडेको कान्छो छोरो लाल बहादुर आज सम्म घर नफर्किँदा उनलाई यसपालीको दशैंले पनि खुशी दिन सकेन ।

दुई बर्ष अघि जेठो छोरा लिलामणी विते । यसैपालीको असारमा आफनो जिन्दगीको सहयात्री पति विरबहादुर विते । जेठी बुहारी वितेको धेरै बर्ष नै भइसक्यो । अहिले जेठा छोराकी छोरी ( नातिनी) मनमायाकी एक मात्र सहारा हुन । पारिवारिक वियोगको यो दुर्दशामा परेकी मनमायालाई छोरो लाल बहादुर भारततिर गएको भन्ने सम्म सुनाउने गाउँकै मान्छे हुन । तर कुन ठाउँमा छन र के कस्तो अवस्थामा छन ? भन्ने कसैले सूचना दिन सकेको छैन ।
बुढेसकालको सहाराका लठठी सबै भाँचिदै जाँदा बेखबर जस्तै बनेको कान्छो छोरा लालब हादुर फर्किने आशामा बाटो हेर्दा हेर्दै मनमायाका आँखा दुखिरहेका छन तर छोरा आएनन । दमक ७ का वडाध्यक्ष भिम पौडेल मनमायाको समस्या र पीडालाई बुझेर नै आफूले सक्ने सम्मको सरसहयोग गर्दै आएपनि छोरोको बारेमा अत्तोपत्तो लाग्न नसकेको बताउँछन । कुन ठाउँमा के कस्तो अवस्थामा छन ? भन्ने सम्म थाहा हुन सकेको छैन घर कसरी फर्काउने धेरै नै जटिल बिषय हो यो– वडाध्यक्ष पौडेल भन्छन । लाल बहादुरलाई जहाँ जे जस्तो अवस्थामा भेटेपनि घर फर्किने वातावरण बनाइदिन वडाध्यक्ष पौडेलले सार्वजनिक अपिल पनि गरेका छन ।