दिपेनवाला राई समाजवादी पार्टी नेपाल झापा जिल्ला समन्वय समितिका अध्यक्ष हुन् । दमकमा सम्पन्न जिल्ला समन्वय समितिको प्रथम अधिबेशनबाट अध्यक्षमा निर्वाचित भएका व्यक्तित्व हुन् । पार्टी जिल्ला उपाध्यक्ष रहेका उनले निर्वाचनबाट पार्टी नेतृत्व लिन सफल भएका हुन् ।
झापाको कमल ६ निवासी राई विद्यार्थी उमेरदेखि नै राजनीतिमा लागेका हुन् । ३८ बर्षिय राई राजनीतिबाहेक विभिन्न सामाजिक संघसंस्थाहरुमा आवद्ध छन् । उनले अव पार्टीको संगठन विस्तार गर्न सवैको सहकार्य ,समन्वयमा अघि बढ्ने वताँउछन् । राजनीतिवाहेक सामाजिक क्षेत्रमा सक्रिय राई किरात राई विद्यार्थी संघका पूर्व केन्द्रीय उपाध्यक्ष, किरात राई यायोक्खाका पूर्व केन्द्रीय सदस्य , नेपाल पत्रकार महासंघ झापाका पूर्व सचिवसहित कमल ५ स्थित आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानका महासचिव लगायतको जिम्मेवारी पनि छन् । प्रस्तुत छ राईसंग विविध विषयमा गरिएको कुराकानीको निष्कर्ष ः
निर्वाचनबाट पार्टीको जिल्ला नेतृत्वमा पुग्नुभएको छ, कस्तो लागिरहेको छ ?
खुसी लागेको छ । साथीहरुले जिल्ला समन्वय समितिको नेतृत्व तहमा जुन जिम्मेवारी दिनुभएको छ ,यसलाई अवसरसंगै चुनौतीका रुपमा लिएको छु । पार्टी भित्र नेतृत्वमा सहमति जुट्न नसकेपछि लोकतान्त्रिक विधि अपनाउनु पर्ने वाँध्यता आएको हो । त्यही विधिबाट मलाई साथीहरुले जिम्मेवारी दिएका हुन् भन्ने मैले विश्वास लिएको छु । चुनावी प्रतिष्पर्धाको नतिजालाई हामी राजनीति गर्नेहरुले सधै सम्मान गर्नुपर्छ । मैले आफूसंगै प्रतिष्पर्धामा उत्रिएका साथीहरुबाट असहयोग होला भन्ने कहिल्यै सोचेको पनि छैन् । किनकी उहाँहरुको अनुभवलाई पार्टी भित्र सधै उर्जाका स्रोतका रुपमा लिने छु । अव पार्टीको संगठन निर्माणमा सवै साथीभाईहरुको साथसहयोगबाट अघि बढ्ने छु ।
तपाई युवा नेतृत्व हुनुहुन्छ, युवाहरुलाई राजनीतिमा दुरुपयोग गरिएको गुनासो पनि छ नि ?
युवानै भोलिका आधार स्तम्भ हुन् । युवा शक्ति विना देश न त समृद्धि हुन्छ न त विकासले गति लिन्छ । राजनीतिमा युवा आउनु जरुरी छ । नेपालको राजनीतिमा युवाको प्रभाव विस्तार बढ्दै गएको छ । हिजोको अवस्था छैन्, हरेक ठाँउमा युवा धमाधम नेतृत्वमा स्थापित हुदै गएका छन् । यो अत्यन्त सकरात्मक हो । हरेक दलहरुमा युवालाई अवसर पनि दिनुपर्छ । राजनीतिमा युवा सहभागिताको विकल्प छैन् । पछिल्ला वर्ष हरेक दलहरुमा युवा नेतृत्व तहमा स्थापित हुदै गएका छन्,यो अत्यन्त सकरात्मक मान्न सकिन्छ ।
युवाले अध्ययन गर्ने की राजनीति गर्ने ?
राम्रो प्रश्न उठाउनु भयो । राजनीतिमा युवा लागे भने अध्ययन त्याग्नु जरुरी छैन् । अध्ययनसंगै राजनीतिमा पनि सक्रियता गर्न सकिन्छ । उमेरमा कमाउने ,अध्ययन गर्ने सोचले मात्र भविष्य निर्माण निर्माण हुदैन् । आफनो भविष्यसंगै देशको पनि उज्जवल भविष्यका बारेमा थोरै चिन्तन अनी सकरात्मक कदम चाल्न सकिए पनि देशले गति लिने छ भन्ने लाग्छ । राजनीतिलाई मर्यादित संस्कारका रुपमा विकास गर्न खाँचो छ । मलाई लाग्छ , हरेक दलहरुले युवालाई नेतृत्व तहमा ल्याउने वातावरण निर्माण गर्नुपर्छ । युवाको उपस्थिति विना न त पार्टी न त देशले समृद्ध प्राप्त गर्न सक्छ र ? त्यसैले पनि हामी युवा आफै पनि सृजनसील हुनु जरुरी छ ।
पार्टी संगठन विस्तारको योजना के छ ?
निश्चय पनि अव तीन वर्षका अवधिमा जिल्लाको सवै १५ वटै स्थानीय तहसम्म मात्र होइन् टोल टोलसम्म पार्टी विस्तार गर्ने योजना वनाएको छु । संगठन निर्माणलाई गतिशील संगै ससक्त विस्तार गर्ने लक्ष्य राखेको छु । संगठन नै पार्टीको शक्ति हुने भएकाले पनि मैले संगठन निर्माणमा जोड् दिन विभिन्न कार्यक्रम थाल्ने छु । निश्चय पनि पार्टीलाई तल्लो तहसम्म सुढृण संगै गतिशील वनाउने यो अभियान केवल अध्यक्षको मात्र नभएर पार्टीको नै हो । पार्टीका तमाम साथीभाई,दिदीवहिनी, मजदुर,किसान, युवा विद्यार्थी भित्र पार्टीलाई वलियो वनाउन सवै नेता,कार्यकर्ताहरुको नै मुख्य जिम्मेवारी हो भनेर बुझनुपर्छ ।
हालै नयाँ शक्तिवीच पार्टी एकीकरण भएको छ, जिल्लामा अव के हुन्छ ?
हाम्रो पार्टी र नयाँ शक्ति पार्टीवीचको एकीकरणले हामीलाई नयाँ उर्जा मिलेको छ । यसबाट नेपाली जनताको आशा र भरोसाको केन्द्रविन्दुका रुपमा एउटा वैकल्पिक राजनीतिक शक्तिका रुपमा समाजवादी पार्टी नेपाल स्थापित हुँदै गरेको प्रमाणित भएको छ ।
एकीकरण पछि केन्द्रीय समितिसहित विभिन्न वर्गीय तथा शुभेच्छुक जनवर्गीय संघसंगठनहरु अहिले नै पूर्ण आकार लिईसकेको छैन् । छिटै तल्लो तहसम्म एकीकरणको प्रकृया ठोस रुपमा लागू हुने मैले अनुमान गरेको छु । पार्टी निर्देशन आए छिटै एकीकरण गरेर अव जिल्लाका हरेक स्थानीय तहमा पार्टी बलियो शक्तिका रुपमा स्थापित गराउन सवै जुट्नु पर्ने खाँचो देखेको छु ।
तपाईँ आदिवासी रंगशाल तथा स्मृति प्रतिष्ठानको महासचिव पनि हुनुहुन्छ अहिले रंगशाला बिषयमा आईरहेको चर्चा के हो ? कहिले बनाउने रंगशाला ?
सान्दर्भिक र गहन बिषय आएको छ । सबभन्दा पहिला म रंगशालाको महासचिव हुनुका नाताले मेरो र समग्र हाम्रो समितिको धारणा यहाँ प्रष्ट पार्न चाहन्छु । आदिवासी जनजातीहरु विकास विरोधी हुँदै होइनौं । एकाथरी मानिसहरुले पहिल्यैदेखी लगाउँदै आएको आरोप भने पनि हुन्छ एउटा निराधार चर्चा भने पनि हुन्छ कि कमल ५ साविक लखनपुर १ मा आदिवासी रंगशाला बनाउन यहाँका आदिवासी जनजातीहरुले नै अवरोध गरे भनेर । त्यो हाँस्यास्पद र सोझा सिधा आदिवासी जनजाती साथीहरुको ब्लड तताउने कुरा मात्रै हो । हामीले हाम्रा पूर्खाहरुको चिहान मास्न किन तयार भयौं । आज भन्नुस कोहि यस्तो मानिस छ जहाँ आफ्ना पिता पूर्खाको चिहान भत्काउन आफैं तयार हुन्छ । तर हामी छौं हामीले चिहान भत्काउनमा सहमती जनाएकै हो । म मात्रै होइन त्यसबेला हाम्रा अग्रजहरु जो कतिपय अहिले दिवंग भईसक्नु भएको छ उहाँहरु सबैले एउटा सामुहिक अठोट गरेर चिहान भत्काउन सहमती जनाएका थियौं त्यो केवल विकासका लागि ।
कसैको राजनीतिक स्वार्थका लागि वा कसैसंग पैसामा साटेर हामीले चिहान भत्काउने सहमती दिएका थिएनौं । तर राज्यपक्षले यसको मर्म र भावनालाई बुझ्नुको सट्टा आदिवासी जनजातीहरुलाई कम्जोर आंकलन गर्ने काम भयो । हामीले विरोध गर्र्योै । शिलान्यास हुँदा आदिवासी रंगशालाका नाममा हुने त्यसपछि रातारात मदनभण्डारी नामाकरण गर्ने यो कहाँ सम्मको इमान्दारिपूर्ण कुरा हो कि बेइमान चरित्रको हद हो ? हामीलाई झुक्याएर, ललिपप देखाएर हामीमाथि गरिने प्रहार सह्य छैन । हामीले भन्दै आएको कुरा यही हो । त यो बिषयलाई कतिपय साथीहरुले भन्नु भयो तपाइँहरुको धारणा पनि सहि छ । राज्य पक्षको पनि धारणा सही छ । आपसमा कुरा मात्रै बुझाबुझ नभएको हो सम्वादमा बसौं । समाधान निकालौं भने पछि हामी सम्वादमा बसेकै हौं र आदिवासी जनजातीहरुको समाधीको सम्मान गर्दै यहाँ रंगशाला निर्माणको कामलाई पनि अघि बढाऔं भन्ने कुरा आएकै हो । हामीले त्यसलाई फेरी एकपटक सोचेर र विचार गरेर आन्तरिक रुपमा यो यो कुराहरु भयो भने यहाँ रंगशाला निर्माणको बाटो सहज हुन सक्छ भन्ने कुरा राखेका हौं ।
राज्यपक्ष त्यसकुरामा सहमत भएको हो । तर कुनैपनि कुराको हद म्याद हुन्छ । औषधीको पनि निश्चित समय सीमा हुन्छ त्यो समय नाघेपछि औषधीले काम गर्दैन । अहिले सहमतीको समय सीमा नाघी सक्यो । राज्यपक्ष यतिबेर चुपचाप बसेर सहमती कार्यन्वयनमा उदासिन रह्यो अहिले केही राज्यपक्षका अरौटे भरौटेहरु सहमती कार्यान्वयनका लागि भन्दै दगुरिरहेका छन रे । अनि सहमती कार्यान्वयनका लागि गुहार मागिरहेका छन रे । औषधी पनि डेट एक्स्पायर भएपछि बिष समान हुन्छ । त्यसको कुनै अर्थ छैन हाम्रो समितिको अध्यक्ष ज्यूले सञ्चारमाध्यमहरु मार्फत यो कुरा प्रष्ट्याई सक्नु भएको छ । अब हामी पूर्ववत निर्णयमा छौं । राज्यपक्षले रंगशाला निर्माणमा यस्तै उदासिनता र बेइमानी देखाइरहे हामी जनस्तरबाटै रंगशाला बनाएर देखाउन पनि तयार छौं ।