चन्द्रगढी/ एक नम्बर प्रदेशमा पछिल्लो समय डेंगुबाट ३ सय ४७ संक्रमित भएका छन । प्रदेश नम्बर १ स्वाथ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर वस्नेतका अनुसार प्रदेशभरिमा हाल ३४७ जना डेंगुबाट संक्रमित भएका हुन । संक्रमितहरु मध्ये झापाका २७ जना छन । प्रदेश एकमा सबैभन्दा धेरै तेह्रथुममा ११२ जना संक्रमित रहेका जनाइएको छ ।
जिल्ला समन्वय समिति झापाको आयोजनामा आज चन्द्रगढीमा आयोजित स्वास्थ्य सम्बन्धिको एक कार्यक्रममा सो तथ्याकं प्रस्तुत गरिएको हो । क्षयरोग, मलेरिया, एचआईभी र कोभिड संक्रमणको नियन्त्रण, निदान र उपचारका बारेमा पालिकास्तरीय अभिमुखीकरण तथा सुदृढीकरण गोष्ठीमा गोष्ठीमा जिल्लास्थित पालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, स्वाथ्य शाखाका प्रमुखहरु सहभागी भएका थिए । सेभ द चिल्ड्रेनको आर्थिक र प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा क्षयरोग, एचआइभी, मलेरिया, कोभिड र डेंगु रोगका बारेमा प्रदेश र जिल्लाको बर्तमान अवस्थाका बारेमा जानकारी दिइएको थियो ।
कार्यक्रममा कार्यालयका क्षयरोगका फोकल पर्सन तुलसीप्रसाद गुरागाईले प्रदेशमा क्षयरोगको समस्या र समाधानका उपायका बारेमा जानकारी दिए । उनले देशभरमा प्रतिबर्ष ७९ हजार नयाँ क्षयरोगका विरामी थपिने गरेको बताए । उनले गत आर्थिक बर्ष मात्र १६ हजारको मृत्यु भएको बताए ।
उनले मुलुकमा प्रत्येक दिन १९१ जना नयाँ क्षयरोगका विरामी थपिने र ४४ जनाको मृत्यु हुने गरेको बताए । सन् २०५० सम्ममा क्षयरोगमुक्त देश बनाउने उद्देश्य अनुरुप सरकारले काम गरिरहेको उनको भनाई छ । उनले आर्थिक बर्ष २०७८÷७९ मा प्रदेशमा चार हजार ५०० क्ष्यरोगका नयाँ विरामी पत्ता लागेको बताए । झापामा मात्र एक हजार १८२ जना क्षयरोगका बिरामी पत्ता लागेका बताइएको छ ।
कार्यक्रममा गत साउन महिनामा फेला परेको मलेरियाका दुई जना विरामी मध्ये एक झापामै रहेकोे डा. नितेश मिश्रले बताए ।
सेभ द चिल्ड्रन प्रदेश नम्बर १ का बरिष्ठ कार्यक्रम संयोजक कुमार ढकालले एचआइभीका बारेमा जानकारी दिएको थिए । संस्थाकी डिना कार्कीले स्वाथ्य आपूर्ति व्यवस्थापन केन्द्रले गर्ने कामका बारेमा बताएकी थिइन् ।
जिसस प्रमुख विश्वनाथ बरालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको प्रमुख आतिथ्य रहेको थियो ।
