दमक/ सार्वजनिक यातायातका साधन (यात्रुबहाक बस) मा याताात कर्मचारीको दादागिरी शैली रोकिन सकेको छैन । बसमा छोटो दुरीका यात्रु नचढाउने, लामो दुरीका यात्रुलाई तानातान गर्ने , अभद्र व्यवहार गर्ने जस्ता घटना रोकिन नसकेका हुन् । आज बिहान करिब ९:३० बजे झापाको कमल गाउँपालिका–५ पाडाजुङगी चोकस्थित पूर्व–पश्चिम लोकमार्गमा भएको सवारी दुर्घटनामा बसको लापरबाही (हेल्चेक्राइ) मुख्य कारण रहेको खुलासा भएको छ।
प्राप्त विवरणअनुसार काकडभिट्टाबाट दमकतर्फ जाँदै गरेको मे १ ख ३०६८ नम्बरको यात्रुबाहक बसले टाढाको यात्रु भन्दै केहीलाई चढाउन खोजेको तर नजिकै दमक जाने यात्रु भन्दै ३५ वर्षीय निर्मल कार्कीलाई चढ्न नदिएको बताइएको छ। सोही क्रममा बस चालकले गाडी अगाडि बढाउँदा कार्की लड्न पुगेका थिए।
लड्ने क्रममा बसको चक्काले उनको बाँया खुट्टामा किच्दा उनी गम्भीर घाइते भएका छन्। घाइते कार्कीको दमकस्थित निम्स अस्पतालमा उपचार भइरहेको छ भने उनी बोल्न नसक्ने अवस्थामा रहेका छन्।
घटनापछि बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको छ। यसअघि हिजो शुक्रबार बिहान दमक बसपार्कबाट पूर्व तर्फ जाँदै गरेको को १ ख ७८७१ नम्बरको यात्रुबहाक बसले बसपार्कमा यात्रु चढाउन इन्कार गरेको बिषयमा ट्राफिक प्रहरी कार्यालयले ५०० रुपैयाँ जरिवाना गरेर छाडेको थियो ।