राम्रो व्यावसायिक योजना बनाउन यस्तो तयारी गर्नुहोस्
व्यावसायिक लक्ष्य हासिल गर्न व्यावसायिक योजना बनाउनु जरुरी हुन्छ । स्पष्ट र आकर्षक योजना बनाउनाले व्यवसायको लक्ष्य सजिलै प्राप्त गर्न सहयोग गर्छ । आजकाल विज्ञहरूले पनि आफ्नो सेवा बापत केही रकम लिएर व्यावसायिक योजना बनाउन सहयोग गरेको भेटिन्छ। तर आफ्नो व्यवसायको व्यावसायिक योजना उद्यमी आफैले बनाउँदा झनै राम्रो हुन्छ र यो धेरै गाह्रो कुरा पनि हैन। व्यावसायी आफैले पनि घरमै बसी व्यवसायको उत्कृष्ट व्यावसायिक योजना बनाउन सक्छन्। यस्तो उत्कृष्ट योजना बनाउनको लागि योजना बनाउन बस्नुअघि यी कामहरू गर्दा राम्रो हुन्छ:
के व्यवसाय गर्ने भन्ने बारेमा स्पष्ट हुनुहोस्
सर्वप्रथम तपाईँको बजारमा कुन कुराको (समान, बस्तु वा सेवा) को माग छ तर पुरा हुन सकी रहेको छैन भन्ने बारेमा खोजी गर्नुहोस् । कुनै कुराको माग बढी छ तर कसैले पनि त्यस्तो व्यवसाय सुरु गरेको छैन भने त्यही कामलाई प्राथमिकतामा राख्नुहोस् । आफ्नो व्यवसायको लक्ष्य के हुने, कुन समय भित्र कति सफलता हासिल गर्ने भन्ने बारे निश्चित लक्ष्य निर्द्गारण गर्नुहोस ।
बजारीकरण(मार्केटिङ) कसरी गर्ने सुरुमै सोच्नुहोस्
कस्तो व्यवसाय सुरु गर्नु जरुरी छ भन्ने कुराको सम्भावना अध्ययन गर्नुहोस् र एउटा कुनै काम गर्नेबारे प्रस्ट हुनुहोस् । व्यवसायको नाम के राख्ने, प्रतिस्पर्धी भन्दा राम्रो कसरी बन्ने, आफ्नो उत्पादन नै ग्राहकले किन्ने बनाउन कस्तो रणनीति अपनाउने, कुन सामान उत्पादन गर्ने, मूल्य कति तोक्ने, प्याकेज कस्तो बनाउने, कुन ठाउँमा व्यवसाय गर्ने भन्ने बारेमा प्रस्ट हुनुहोस् । व्यवसाय स्थापाना गर्दा आउन सक्ने कानुनी जटिलताका बारेमा पनि स्पष्ट हुनुहोस् र समाधानका उपाय पत्ता लगाउनुहोस् ।
व्यवसाय स्थापना गर्न आवश्यक सामग्रीको सुची तयार पार्नुहोस्
तपाईँले पुरानै व्यवसाय किन्नुभयो भने तपाईँलाई नयाँ सामाग्रीहरूको र कामदारहरूको आवश्यकता नहुन सक्छ रे आफैले नयाँ व्यवसाय सञ्चालन गर्दै हुनुहुन्छ भने तपाईँलाई के के आवश्यक पर्न सक्छ त्यसको सुची बनाउनुपर्छ । जस्तै फर्निचरहरू, कामदार, कच्चा पदार्थ, मेसिनरी, व्यावसायको लागि उचित ठाउँ (घर, कोठा या सटर),अध्ययन र समयको आवश्यकता जस्ता देखिने र नदेखिने कुराहरूको अपना सुची बनाएर तयारी गर्नुपर्छ । जस्तै म:म पसल सुरु गर्दै हुनुहुन्छ भने पिठो, म:म बनाउने भाँडो, किमाकालागि चाहिने सामग्रीहरू, स्टोभ, ग्यास सिलिन्डर, प्लेटहरू, चम्चाहरू, सरसफाइका सामग्रीहरू, अचारका लागि चाहिने सामग्रीहरू, टेबल, कुर्सीहरू जस्ता सामान कसरी ल्याउने भन्ने बारेमा पहिल्यै सोंच्नुपर्छ ।
लगानीको तयारी गर्नुहोस्
लगानी जुटाउनका लागि ऋण लिने, साथीभाइ सँग सापटी माग्ने, बैङ्क, माइक्रो फाइनान्स, सहकारी जस्ता संस्थाबाट कर्जा लिने, अचल सम्पत्ति बेच्ने, पुरानो बचत चलाउने जस्ता काम गर्न सकिन्छ । व्यवसायको सोंच छ भने पहिल्यैदेखि बचत गर्नु नै सबैभन्दा राम्रो उपाय हो । भएको रकमको सदुपयोग गर्नु पनि कम लगानीमा धेरै लाभ लिने उपाय हो । सकेसम्म सुरुमै महङ्गो सामान किन्ने तयारी गर्नु हुँदैन । तर चाहिने नै कुरामा भने खर्च गर्नैपर्छ । अरू उस्तै व्यवसाय गरेकाहरुको आवश्यकता तपाईँको पनि आअश्यकता नहुन सक्छ । व्यवसाय बढ्दै जाँदा आवश्यकता थपिएमा पुनः लगानी गर्न पनि सकिन्छ ।
राम्रो टिमको तयारी गरेर जिम्मेवारी बाँड्नुहोस्
व्यवसायको नेतृत्व कसले गर्ने अनि कस्ता र कति कामदार राख्ने भन्ने बारेमा पनि योजना बनाउनु पर्छ । आफ्नो व्यवसायको लागि आवश्यक सिप, ज्ञान, दक्षता र सही अनुभव भएका व्यक्तिहरूको एउटा समूह निर्माण गरेर जिम्मेवारी बाँड्ने तयारी गरेमा व्यवसाय सफल हुने सम्भावना बढी हुन्छ ।
सूचना एकत्रित गर्नुहोस् र योजना बनाउहोस
माथिका सबै सूचनाहरू एकैठाउँमा जम्मा भएपछि व्यावसायिक योजना बनाउन सुरु गर्नुहोस् । व्यावसायिक योजनामा के के हुनुपर्छ भन्ने थाहा पाउन यहाँ क्लिक गर्नुहोस् ।