काठमाण्डाै / दशैँको मुख्य दिनमा केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाले दशैँको लागि विशेष मनसुन बुलेटिन सार्वजनिक गर्दै चारवटा प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जनाएको हो ।
महाशाखाकाअनुसार आउँदो बुधवार विजयादशमीदेखि शुक्रवार द्वादशीसम्म लुम्बिनी, गण्डकी, कर्णाली र सूदूरपश्चिम प्रदेशका केही ठाउँहरुमा भारी वर्षाको सम्भावना छ।
आउँदो मङ्गलवार महानवमीको दिन देशभर आंशिकदेखि सामान्यतया बदली रही प्रदेश-१, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै ठाउँमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
बुधवार विजयादशमीमा देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै ठाउँमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महशाखाकाअनुसार बिहीवार एकादशीमा देशभर सामान्यदेखि पूर्णतया बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै ठाउँमा तथा बाँकी प्रदेशहरूका केही ठाउँमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशहरूका थोरै ठाउँहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।
शुक्रवार द्वादशीमा देशभर सामान्यदेखि पूर्णतया बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै ठाउँमा तथा बाँकी प्रदेशका केही ठाउँमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै ठाउँमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।