काठमाण्डाै/ निर्वाचन आयोगले स्थिर समयमा चुनावको प्रचारप्रसार गर्न नपाइने भन्दै सामाजिक सञ्जालमा प्रचारका लागि राखिएका सामग्री हटाउन फेरि पनि आग्रह गरेको छ।

आयोगले स्थिर समय सुरु हुनुभन्दा अघिदेखि नै प्रचारका सामग्री सामाजिक सञ्जालबाट हटाउन अनुरोध गरे पनि धेरैले अझै हटाएका छैनन् । कतिपयले सामाजिक सञ्जालबाट प्रचारका सामग्री हटाए पनि धेरैले राखिराखेको पाइएको भन्दै आयोगले फेरि पनि यस्ता सामग्री हटाउन आग्रह गरेको हो ।

आयोगले स्थिर समयमा सामाजिक सञ्जाल तथा अनलाइन सञ्चार माध्यमबाट कुनै पनि राजनीतिक दल वा उम्मेदवारको विज्ञापन गर्न नपाइने भएकाले त्यस्ता सामग्री हटाउन पनि भनेको छ । चुनावी प्रचार सामग्री सामाजिक सञ्जालमा नराख्न र लाइक, कमेन्ट, सेयर, ट्याग वा प्रतिकमेन्टसमेत नगर्न आयोगले प्रयोगकर्तालाई आग्रह गरेको हो ।

यस्तै, चुनावका दिन मतदान केन्द्रका वरपर दल वा उम्मेदवारका चुनाव चिह्न भएका पोसाक, लोगो, ब्याज, झण्डा, टिसर्ट, टोपी, स्टिकरलगायत प्रयोग गर्न पाइने छैन । पर्सि बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुनेछ । आयोगले कसैको दबाबमा नपरिकन ढुक्क भएर मत दिन पनि आग्रह गर्दै आएको छ।

उज्यालो अनलाइन बाट

Facebook Comments Box