दमक/ दमक १ स्थित दमक अस्पतालमा रक्त परिक्षणका लागि प्रयोग गरिने उपकरणमा आएको समस्याका कारण प्रयोगशालाको नियमित सेवा आज सोमबार पनि अवरुद्ध हुन पुगेको छ ।


प्रयोगशालामा उपलब्ध एउटा मेसिनमा खराबी आएपछि २२ मसिंरदेखि यहाँको सेवा नियमित छैन । अस्पतालका ल्याब टेक्निसियन निरिक्षक लोकनाथ पौडेलले उपकरणमा समस्या देखिएपछि काठमाडौंबाट प्राविधिक इञ्जिनियर बोलाएर मर्मतको काम जारी रहेको बताए ।
निरिक्षक पौडेलका अनुसार मर्मतका लागि खटिएका प्राविधिक मर्मतको काम गर्दा गर्दै अकस्मात पारिवारिक वियोगमा परेपछि अर्को प्राविधिक परिवर्तन गरेर मर्मतको काम गराइएकाले ढिलाई हुन पुगेको हो । पौडेलले भने– मेसिन मर्मतको काम भइरहेकै समयमा उहाँ ( प्राविधिक) को परिवारमा शोक परेपछि अर्को प्राविधिक काठमाडौंबाट बोलाएर बन्दोबस्ती मिलाउँदा ढिला भएको हो । हामी मध्यरात सम्म पनि काममा नै छौं ।

प्राविधिक भन्छन – चाप थेग्न थप उपकरण आवश्यक
सो अस्पतालमा आउने बिरामीको चाप अधिक छ । टेक्निसियन निरिक्षक पौडेलका अनुसार दैनिक ३ सय देखि ४ सय सम्म बढी रगतको नमुना परिक्षण गर्नुपर्ने हुन्छ । एकपटकमा ४०  नमुना परिक्षण गर्न सक्ने क्षमताको यहाँ उपलब्ध उपकरणले राख्दछन ।

एक पटक परिक्षणका लागि मेसिनमा हालिएको रगतको नमुना परिक्षण पूरा हुन २ घण्टा लाग्छ । त्यसैले यहाँ जनशक्ति थपिँदा मात्रै सेवा छिटो नहुने भएकाले उपकरण थपिन आवश्यक रहेको प्राविधिकहरुको भनाई छ । अहिले भइरहेको यहाँको प्रमुख उपकरणको संख्या बढाएर तीन वटा सम्म पुरयाउन सके मात्रै यहाँ अहिले देखिएको चापलाई व्यवस्थापन गरेर छिटो छरितो सेवा प्रदान गर्न सकने प्राविधिकहरु बताउँछन । अस्पतालमा आवश्यक उपकरणको बन्दोबस्तीका लागि सम्बन्धित विभाग र निकायहरुमा पहल जारी रहेको बताइएपनि द्रुत गतिमा चुस्त सेवाको आवश्यकता खडकिएको छ ।

बनेन सञ्चालक समिति
अस्पतालको रेखदेख तथा व्यवस्थापनमा सहजताका लागि अस्पताल व्यवस्थापन समिति आवश्यक पर्ने भएपनि नयाँ जनप्रतिनिधिहरुले नगरपालिकामा कार्यभार सम्हालेको ७ महिना बित्नै लाग्दा समेत समिति गठन हुन सकेको छैन । कार्यपालिकाका एक जना सदस्यका अनुसार कार्यपालिका बैठकमा नगर प्रमुखलेनै प्रस्ताव ल्याउने अभ्यास रहेकोमा सो सम्बन्धमा दमक नगर प्रमुखले अहिले सम्मका कुनै पनि बैठकमा अस्पताल सञ्चालक समिति गठनको प्रस्ताव ल्याएका छैनन ।

 

Facebook Comments Box