दमक/ दमक १ स्थित दमक अस्पतालमा रक्त परिक्षणका लागि प्रयोग गरिने उपकरणमा आएको समस्याका कारण अवरुद्ध बनेको प्रयोगशाला आज मंगलबारदेखि पूर्ववत सञ्चालनमा आएको छ । प्रयोगशालाको उपकरणमा २२ मसिंरदेखि समस्या आउँदा नियमित सेवा अवरुद्ध हुन पुगेको थियो ।
सो उपकरणको आवश्यक मर्मतपछि आजैदेखि पूर्ववत रुपमा ल्याब सेवा सञ्चालनमा रहेको अस्पतालका ल्याब टेक्निसियन निरिक्षक लोकनाथ पौडेलले जानकारी दिए । पौडेलले उपकरणमा समस्या देखिएपछि काठमाडौंबाट प्राविधिक बोलाएर मर्मतको काम सोमबार रातीनै सकिएको र आजदेखि पुनः सेवा सञ्चालनमा आएको बताए ।
सो अस्पतालमा आउने बिरामीको चाप अनुसार अस्पतालको ल्याबमा थप उपकरणको आवश्यकता भने उत्तिकै खडकिएको छ ।
टेक्निसियन निरिक्षक पौडेलका अनुसार दैनिक ३ सय देखि ४ सय सम्म बढी रगतको नमुना परिक्षण गर्नुपर्ने भएकाले थप उपकरणहरुको आवश्यकता खडकिएको हो । एकपटकमा ४० वटा नमुना परिक्षण गर्न सक्ने क्षमताको यहाँ उपलब्ध उपकरणले राख्दछन । एक पटक परिक्षणका लागि मेसिनमा हालिएको रगतको नमुना परिक्षण पूरा हुन २ घण्टा लाग्छ । त्यसैले यहाँ जनशक्ति थपिँदा मात्रै सेवा छिटो नहुने भएकाले उपकरण थपिन आवश्यक रहेको प्राविधिकहरुको भनाई छ ।
अहिले भइरहेको यहाँको प्रमुख उपकरणको संख्या बढाएर तीन वटा सम्म पुरयाउन सके मात्रै यहाँ अहिले देखिएको चापलाई व्यवस्थापन गरेर छिटो छरितो सेवा प्रदान गर्न सक्ने प्राविधिकहरु बताउँछन ।
