दमक/ दमक र गौरीगञ्जमा शुद्ध पिउने पानीका लागि भन्दै वडाले वितरण गरेका बायोस्याण्ड फिल्टरको गुणस्तरका बिषयमा बायोस्याण्ड फिल्टर उत्पादनकर्ताहरुको साझा संस्थाले नै प्रश्न उब्जाएको छ ।
बायोस्याण्ड फिल्टर उद्यमी संगठन नेपालको केन्द्रिय समितिले शनिबार दमकमा पत्रकार भेटघाटको आयोजना गर्दै अघिल्ला दुई आर्थिक बर्षमा दमकका दुई वटा र गौरीगञ्जको एउटा वडामा वडाले शुद्ध पिउने पानी उपलब्ध गराउन भन्दै वितरण गरेको फिल्टरको गुणस्तरनै मापदण्ड अनुसारको नभएको जिकिर गरेको हो ।
संगठनका केन्द्रिय अध्यक्ष इश्वरी प्रसाद दाहालले गौरीगञ्जको २ नम्बर, दमकको २ नम्बर र १० नम्बर वडाले वितरण गरेका सयौं फिल्टर गुणस्तरहीन र मापदण्ड विपरित रहेको जिकिर गरे । अहिले सम्म खानेपानीको फिल्टर गुणस्तर प्रमाणित गर्ने व्यवस्था राज्यका निकायबाट हुन नसकेको बताउँदै अध्यक्ष दाहालले उद्यमीहरुको साझा संगठनले केही मापदण्डहरु तय गरेर उपभोक्ताहरुलाई सुसूचित गरिरहेको अध्यक्ष दाहालको भनाई छ । उनले संगठनले तय गरेका मापदण्डहरुको उल्लंघन गर्दै मोरङको रतुवामाईमा सञ्चालित एक उद्योगले ति वडाहरुमा उपलब्ध गराएका कतिपय फिल्टर उपयोग गर्न अयोग्य र गुणस्तरहीन रहेको अनुगमनका क्रममा भेटिएको पनि सो संगठनले जनाएको छ । अनुगमनमा त्रुटीपूर्ण देखिएका फिल्टर समेत सेटिङका भरमा वडाका कर्मचारीहरुले खरिद गरेर उपभोक्तालाई वितरण गरि स्वास्थ्यमाथिनै खेलबाँड गरिरहेको प्रति संगठनको गम्भिर ध्यानाकर्षण भएको पनि अध्यक्ष दाहालले उल्लेख गरे ।
पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तीमा वितरण गरिएका फिल्टरको मेडियाको गुणस्तर नरहेको, पानी र बालुवाको सतह नमिलेको, फिल्टर चर्किएको र पानी चुहिएको, फिल्टर उपयोग सम्बन्धि उपभोक्तालाई कुनै पनि ज्ञान नदिएको अनुगमनका क्रममा पाइएको पनि उल्लेख छ । बायोस्याण्ड फिल्टर उद्यमीहरुलाई गुणस्तर र एकरुपताका फिल्टर उत्पादन र वितरणमा सचेत गराउन सरकारी तथा गैह्रसरकारी संस्थाहरुबाट गुणस्तर र एकरुपताका लागि पहिचान गरी आर्थिक रुपमा विपन्न परिवारलाई फिल्टर उपलब्ध गराउन, बायोस्याण्ड फिल्टर उद्यमीहरुको मिलेमतोमा नीतिगत भ्रष्टाचारलाई रोक लगाउन, यसको गुणस्तर र एकरुपताका बिषयमा जनस्तरमा सचेत गराउनु संगठनको कर्तव्य भएको पनि पत्रकार सम्मेलनमा जनाइयो ।
पत्रकार सम्मेलनमा संगठनका एक नम्बर शाखा प्रमुख दिपक भण्डारीसहित उद्यमी नेतृत्वको उपस्थिती रहेको थियो ।
