दमक/ झापाको कमल ५ साविक लखनपुर १ स्थित प्रस्तावित आदिवासी रंगशालाको नामाकरणमा राज्यपक्षबाट परिवर्तन गर्दै मदन भण्डारी स्मृति रंगशाला बनाउन खोजिएको विरोधमा झापाली आदिवासी जनजातीहरुले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको ध्यानाकर्षण गराउने प्रयास गरेका छन् ।
शुक्रबार ९ अगष्ट अर्थात विश्व आदिवासी दिवस विश्वभरका आदिवासीहरुले आफ्नो हक अधिकार सुनिश्चीतताको माग गर्दै दिवस मनाउने सिलसिलामा मुख्यमन्त्री राईलाई कार्यक्रमको प्रमुख अतिथीका रुपमा बोलाएर आफ्नो एजेण्डाबारे ध्यानाकर्षण गराउन खोजेपनि मुख्यमन्त्री राईले सो स्थानमा आदिवासी स्मृति पार्क निर्माणलाई प्राथमिकता दिईने बताएको भन्दै सामाजिक सञ्जालहरुमा केही आदिवासी जनजाती अगुवाहरुले आफूहरुलाई आदिवासी रंगशालानै चाहिएको धारणा सार्वजनिक गरेका छन् ।
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् झापा सहित जिल्लाका १५ वटै स्थानीय तहका शाखाहरुको सहभागितामा सो कार्यक्रम आयोजना गरिएको थियो ।
आदिवासी रङ्गशालाको नाम परिवर्तन गरेर मदन भन्डारी रङ्गशाला राख्ने स्थानीय र सङ्घीय सरकारको प्रयास विरुद्ध आन्दोलित हुने चेतावनी दिँदै आएको महासंघले आदिवासी दिवस कार्यक्रमलाई शक्ति प्रदर्शनका रूपमा लिँदै मुख्यमन्त्रीलाई साक्षी राखेर संघीय र स्थानीय सरकारबाट रंगशालाको नाम परिवतर्नको प्रयासको विरोध जनाएका हुन् ।
आदिवासी रङ्गशालाको नाम परिवर्तन नगराउन दबाव दिँदै विभिन्न जातीय संस्था र पहिचान पक्षधर राजनीतिक शक्तिहरुले पनि पटक पटक आन्दोलनको चेतावनी दिँदै आएका छन् ।

Facebook Comments Box