दमक/ केन्द्रमा तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकतापछि शुरु भएको दुई पार्टीबीचको युवा संगठनबीचको एकताले अझै पूर्णता पाएको छैन ।
तत्कालिन युवा संघ नेपाल र वाइसिएल नेपालबीचको एकतापछि बन्ने भनिएको राष्ट्रिय युवा संघको केन्द्रिय नेतृत्व तत्कालिन वाइसिएल नेपालका अध्यक्ष रामप्रसाद सापकोटा ( दिपशिखा)लाई दिइएपनि केन्द्रिय कमिटीलाई पूर्णता दिने र प्रदेश कमिटीहरुमा भागवण्डाको बिषय अझै टुंगिन नसकेको हो ।
तत्कालिन युवा संघ नेपालले ६०/४० को भागवण्डा प्रस्ताव गरेपनि पार्टीमा एकता भईसकेकाले अब भागवण्डाको सिस्टम अन्त्य गरेर बृहत एकतामा जानुपर्ने तत्कालिन वाइसिएलका नेताहरुको तर्क रहँदै आएको छ ।
दुवै संगठनले १ नम्बर प्रदेशको नेतृत्व दाबी गरेपनि तत्कालिन वाइसिएलका प्रदेश संयोजक तथा नेकपा झापाका जिल्ला कमिटी सचिवालय सदस्य डम्बर पूलामी ( कर्म) बलियो दाबेदारका रुपमा देखिएका छन् । युवा संगठनको कमिटीमा रहनका लागि ४० बर्षको उमेर हद तोकिएका कारण पूलामी बलियो दाबेदारका रुपमा उभिन सक्ने सम्भावना औंल्याइएको हो ।

तत्कालिन युवा संघका प्रदेश अध्यक्ष पर्शुराम बस्नेतको उमेर हद नाघिसकेकोले तत्कालिन वाइसिएका प्रदेश संयोजक पूलामीले संगठनमा आन्तरिक रुपमा आफ्नो नेतृत्व दाबी पेश गरिरहेका बताइएको छ ।
को हुन प्रदेश अध्यक्षका दाबेदार पूलामी ?
छापामारदेखि युवा नेतृत्वसम्म
ताप्लेजुङ हाङपाङ ८ मिचिरिङमा २०४४ सालमा बुबा कूलबहादुर र आमा अम्बिका पूलामीको कोखबाट कान्छो छोराको रुपमा जन्मिएका डम्बर पूलामी तत्कालिन नेकपा माओवादीेले सञ्चालन गरिरहेको सशस्त्र क्रान्तीका छापामार हुन् । सिपाही हुँदै कमाण्डर सम्मको जिम्मेवारी सम्हालेका पूलामीले पूर्वका धेरै लडाइँहरुको नेतृत्व गरेर माओवादी जनयुद्धलाई चर्काएका थिए । मोरङको जाँते र इलाममा तत्कालिन शासकका पहरेदार ( सेना प्रहरी ) संग कैयौं पटक आम्ने साम्ने भएर भिडे । आफूसंगैका कैंयौं सहयोद्धाहरु घाईते भई अपाङग बने । त्यसबेला उपचारका लागि त्यस्तो सुविधा थिएन । रातारात लुकिछिपी अस्पतालमा पुग्नु पथ्र्यो । त्यहाँ पनि शासकहरुका सुराकी हुन्थे । अस्पतालमा जानु उपचारका लागि त छर्दै थियो तर बाँचेर आइएला भन्ने कुनै ग्यारेन्टी हुँदैन थियो ।

विद्यमान असमानता, वर्गीय विभेद र तत्कालिन शासकको ज्यादती अन्त्य गर्दै निरंकुश राजतन्त्रलाई घुँडा टेकाई छोड्ने र जनताको सत्ता स्थापित गर्ने लक्ष्यका साथ लडेका उनी शान्तिप्रकृयासंगै छापामारहरुको क्याम्पेनिङमा बसे । अन्तराष्ट्रियस्तरको संयुक्त राष्ट्रसंघीय मिसन अनमिनको निगरानीमा रहेका जनसेनाको भुमिका निर्वाचनमा अप्रत्यक्ष रुपमा रह्यो । २०६७/०६८ तिर माओवादी जनसेनाका लागि विकल्पसहित सेनामा समायोजनको अवसर पनि आएको थियो उनलाई । पूलामीले सेनामा भर्ति भएर सरकारी जागिरे हुन भन्दा स्वैच्छिक अवकाश रोजेर पार्टीले लिएको राजनीतिक उदेश्य पूरा गराउन खुल्ला राजनीतिको प्रतिस्पर्धामा आउने हिम्मत गरेर पार्टी संगठनमै व्यस्त रहे ।
पार्टीले पनि शिविरबाट बाहिरिएका पुलामी जस्ता जनसेनालाई पार्टीको उत्तराधिकारी संगठनका रुपमा रहेको योङ कम्युनिष्ट लिग ( वाइसिएल)को विभिन्न जिम्मेवारी दिएर भुगोल राजनीतिमा सक्रिय हुने मौका प्रदान गर्यो । वाइसिएलको तत्कालिन झापा क्षेत्र नं ७ मा क्षेत्रीय अध्यक्षको जिम्मेवारी सम्हाल्दै खुल्ला राजनीतिमा आएका उनले शिविरबाट स्वैच्छिक अवकाश रोजेका, विगतमा माओवादी जनयुद्धमा लागेका र सहयोग पुर्याएका युवाहरुलाई समेटेर वाइसिएलको संगठन झापामा विस्तार गरेका हुन् । वाइसिएल झापाको अध्यक्ष र पार्टीको निर्वाचित जिल्ला सदस्य समेत भएका उनी पार्टी एकतासंगै अहिले नेकपा झापाको सचिवालय सदस्य छन् । पूलामी माओवादी केन्द्रले यस अघि निर्माण गरेको जम्बो केन्द्रीय आयोजक समिति सदस्य समेत भएका थिए ।
अहिले उनी वाइसिएलको केन्द्रिय सदस्य तथा प्रदेश नं १ को संयोजकको जिम्मेवारीमा छन् ।
राजनीतिसंगै उद्यममा
राजनीति र व्यवसायलाई युवाहरुले संगसंगै डोहोर्याउन सके मात्रै राजनीतिमा सक्रिय हुन सकिन्छ भन्ने चेत पाइसकेका उनी पार्टी संगठन निर्माणका अतिरिक्त शिविरबाट बाहिर निस्किएपछि व्यवसायिक कृषि उद्यममा पनि लागे ।
सरकारको निरिहपन र गैह्रजिम्मेवारीका कारण पूलामी जस्ता कैयौं नेपाली युवाले शुरु गरेको व्यवसायिक कृषि उद्यम ( बंगुरपालन) अहिले बंगुरको बजार अभावका कारण संकटमा पर्यो ।
भारत तर्फ निर्यात गरिदै आएको बंगुरको निकासीमा भारतले रोक लगाएपछि व्यवसाय मात्रै धराशायी भएन पूलामीले स्वैच्छिक अवकाश रोजे वापत पाएको भत्ता तथा सुविधा वापतको रकम वंगुरपालनमा नै स्वाहा भयो ।
तापनि आफ्नो पुख्र्यौली थलोमा रहेको सानो तिनो पुँजी, आफन्त, साथीभाईहरुको सरसहयोग र परिवारका सदस्यहरुको मेहेनत र परिश्रमले अहिले दमकको वडा नं ४ मा बसोबास गर्दै आएका छन् । युवाहरुलाई राजनीति संगै व्यवसायिक र दिगो आय आर्जनका बाटोमा पनि लगाउन सके मात्रै राजनीतिप्रति युवाको आकर्षण बढ्ने र मुलुकलाई समृद्धीका बाटोमा डोहोर्याउने युवा जनशक्तिको सदुपयोग हुने उनको बुझाई छ ।