दमक/ झापाको गौरादहमा सञ्चालनमा आएको अस्पतालको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उदघाटन गरेका छन । गौरादह –१ मा रहेको स्वास्थ्य चौकीलाई स्तरन्नती गरि गत असोज १ गतेदेखि सञ्चालनमा आएको अस्पतालको आज बुधबार मुख्यमन्त्री कार्कीले उद्घाटन गरेका हुन । उनले नागरिकहरुलाई स्वास्थ्य सेवा सर्वसुलभ रुपमा उपलब्ध गराउने प्रदेश सरकारको नीति रहेको बताए ।
१५ शैया क्षमता भएको सो अस्पतालमा आकस्मिक सेवा चौबिसै घण्टा सञ्चालन हुने बताइएको छ । गौरादहका नगर प्रमुख छत्रपति सुवेदीले गौरादह स्वास्थ्य चौकीलाई स्तरन्नति गरि अस्पताल सञ्चालनमा ल्याइएको बताए ।
अस्पतालमा अहिले एक जना एमडीसहित ३ जना चिकित्सकले सेवा दिइरहेका छन् । अस्पतालमा दैनिक ओपिडि सेवा, प्रयोगशाला, एक्सरेको सेवा छ । यस्तै नियमित खोप सेवा, परिवार नियोजन सेवा, एकिकृत बालरोग व्यवस्थापन सेवा, कुपोषित बालबालिकाको उपचार सहितका कार्यक्रम सञ्चालनमा छन् ।
अस्पतालमा आमा सुरक्षा कार्यक्रम, ८ हप्ता सम्मको गर्भपतन, क्षयरोग, कुष्ठरोग सम्बन्धी सेवा, रेबिज बिरुद्धको खोप, डेँगु, मलेरिया, काराजारको जाँच, फार्मेसी, इसीजी सेवा अहिले सञ्चालनमा छन् ।
नगर प्रमुख सुवेदीका अनुसार अस्पताल निर्माणका लागि गौरादह– १ मा डेढ बिगाह जग्गा व्यवस्थापन भइसकेको छ । सरकारले विस २०७६÷०७७ मै नगर अस्पतालका लागि १८ करोड ६८ लाख २ हजार रुपैयाँ बिनियोजन गरे पनि जग्गा व्यवस्थापन हुन नसक्दा निर्माण हुन ढिलाई भएको हो ।
अस्पताल निर्माणका लागि डिपीआर निर्माणको काम भइरहेको छ । यस्तै अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनका लागि सबै प्रकृया पुरा भइसकेको छ । अस्पतालमा चालू महिना भित्रै स्वास्थ्य बिमाबाट उपचार सेवाको कार्यक्रम समेत शुरु गरिने नगर प्रमुख सुवेदीले बताए ।
