दमक/ झापाको दमकका महिलाहरु पाठेघरको क्यान्सरको जोखिममा रहेका पाइएको छ । दमक नगरपालिकाको स्वास्थ्य शाखाले पछिल्लो समय दुई वटा वडामा सञ्चालन गरेको पाठेघरको मुखको परिक्षण ( भिआइए) गर्दा त्यस्तो तथ्य पत्ता लागेको हो । नगरपालिकाको वडा नं ४ र १० मा हालै गरिएको भिआइए परिक्षणसहितको महिला स्वास्थ्य शिविरमा आएका मध्ये १० जनामा पाठेघरको मुखको क्यान्सरको जोखिम देखिएको स्वास्थ्य शाखाले जनाएको छ ।
शाखाकी पब्लिक हेल्थ नर्स देवीका न्यौपाने (अर्याल) का अनुसार वडा नं ४ मा स्वास्थ्य परिक्षण गराउन आएका कूल २१० जना महिला मध्ये ५ जनामा गरिएको भिआइए परिक्षण रिपोर्ट पोजिटिभ आएको हो भने वडा नं १० का १५५ जना महिलामा गरिएको परिक्षणमा पनि ५ जनामनै पोजिटिभ देखिएको छ । भिआइए परिक्षण रिपोर्ट पोजिटिभ देखिनु भनेको क्यान्सर पनि हुन सक्छ भन्ने हो–उनले भनिन । यस किसिमको जोखिममा परेका महिलाहरु ३० देखि ६० बर्ष उमेर समुहका रहेका पनि अर्यालले जानकारी दिइन । नगरपालिकाले वडा नं ३ मा समेत यसैबर्ष सोही प्रकृतिको शिविर सञ्चालन गर्ने जनाइएको छ ।
स्त्री रोग विशेषज्ञ डा. दिप्ती कुँवरसहित स्वास्थ्यकर्मीहरुको टोलीले ति दुवै वडामा नगर स्वास्थ्य शाखाको पूर्व निर्धारित कार्यक्रम अनुसार आयोजना गरेको स्वास्थ्य शिविरमा महिलाहरुको स्वास्थ्य परिक्षण गरेको थियो । यो किसिमको परिक्षणको नतिजा तुरुन्तै पाउन सकिने भएकाले रोगको पहिचान समयमै गर्न सहज हुने र उपचार तथा स्वास्थ्य सेवाको परामर्शमा लाग्न सहज हुने स्थानीय सरकारको भनाई छ । नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाइँ महिलाहरुमा देखिएको यो तथ्याङकले दमकका समग्र महिलाहरुको स्वास्थ्य अवस्थाको चित्रण गरेको बताइन । उनले यस किसिमको जोखिममा परेका महिलाहरुको संख्या अझै धेरै हुन सक्ने भएकाले यस किसिमको शिविर अझै बढाएर आवश्यक उपचारको प्रकृयामा समेत लैजाने बताएकी छिन ।