दमक/  इलामको दक्षिणवर्ती क्षेत्र चुलाचुली गाउँपालिकामा नयाँ जनप्रतिनिधिले कार्यभार सम्हालेसँगै आधारभुत स्वास्थ्य सेवा सहज बन्न थालेको छ ।

स्थानीय सरकारले गएको माघदेखि चुलाचुली आधारभुत अस्पताल सञ्चालनमा ल्याएको र लगत्तै फागुन २ गतेदेखि स्वास्थ्य बीमाको समेत उपचार सेवा दिन थालेपछि सर्वसाधारणलाई यो सेवा लिन सहज बनेको हो ।
पालिकाका कतिपय बासिन्दा त्यसअघि स्वास्थ्य बीमा कार्यक्रममा सहभागी भएपनि सेवाका लागि प्रथम विन्दु टाढा हुँदा हैरान थिए ।


आधारभुत अस्पताल स्थापना लगत्तै स्वास्थ्य बीमाको कार्यक्रम लागू भएपछि यहाँ स्वास्थ्य परिक्षण र उपचारका लागि आउने सर्वसाधारणको संख्या दिनहुँ बढदो दरमा रहेको गाउँपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक दुष्यान्त दाहालले जानकारी दिए । उनका अनुसार अस्पताल स्थापनाको ९ महिनामा करीब ३ हजार बिरामीले सेवा लिएका छन । हरेक दिन कम्तीमा ५० देखि १५० जना सम्मले सो अस्पतालबाट सेवा लिँदै आएका छन ।
सो अस्पतालबाट हाल २४ सै घण्टा इमर्जेन्सी सेवा, एक्सरे, भिडियो एक्सरे, इसिजी, ल्याब, फार्मेसी लगायतका सेवा प्रदान गरिँदै आएको निरिक्षक दाहालले जानकारी दिए  ।

गाउँपालिकाको प्रशासनिक भवनकै पहिलो तलामा सञ्चालन गरिँदै आएको चुलाचुली आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट शुरु गर्ने प्रयास भइरहेको गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले बताए । भौतिक पूर्वाधार निर्माणको काम अन्तिम चरणमा रहेकाले छिट्टै यसलाई पूर्णता दिएर सुविधा सम्पन्न अस्पतालबाट सहज रुपमा सेवा प्रदान गर्ने तयारीमा स्थानीय सरकार लागिरहेको अध्यक्ष केरुङको भनाई छ । उनका अनुसार पालिकाले दुर्गम भेगका नागरिकहरुको सेवालाई मध्यनजर राख्दै छिट्टै दुई वटा एम्बुलेन्स सञ्चालन गर्ने तयारी गरिरहेको छ ।

गाउँपालिका भित्रका दुई वटा वडामा रहेका स्वास्थ्य चौकीमा प्रसुती सेवा समेत दिन सक्ने व्यवस्था मिलाइएको छ । वडा नं २ को बाह्रगोठे स्वास्थ्य चौकी र ३ स्थित पेल्टीमारी स्वास्थ्य चौकीमा प्रसुती सेवा समेत दिन सक्ने गरिको व्यवस्था मिलाइएपनि अहिले यातायातको सहज पहँुचका कारण प्रसुती गराउने ९० प्रतिशत महिलाहरु सुरक्षित र सुविधायुक्त सेवा लिन छिमेकी पालिका दमक नगरमा अवस्थित आम्दा अस्पताल, दमक अस्पताल, ऊँ मेची अस्पताल लगायतका अन्य अस्पतालहरुमा जाने गरेका छन ।

 

Facebook Comments Box