दमक/प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले भोली सोमबार गृह जिल्ला झापाको दमकमा निरन्तर करीब ४ घण्टा रहने कार्यक्रम तय भएको छ ।

वडादशैं अन्तर्गत महानवमी पर्वको दिन प्रधानमन्त्री ओलीले बर्षेनी गृह जिल्लामा आएर जिल्लाबासीहरुसंग शुभकामना साटासाट गर्ने कार्यक्रमलाई निरन्तरता दिने तय भएको हो ।

झापाको पश्चीम भुगोलबाट निर्वाचन जितेपनि प्रधानमन्त्री ओलीले यस अघि बर्षेनी विर्तामोडमा आफैंले शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्दै आएकोमा पहिलो पटक यस बर्ष दमकमा कार्यक्रम गर्न लाग्नुभएको हो ।
प्रधानमन्त्री ओलीका सचिवालय सदस्य तथा नेकपाका स्थानीय नेता होमबहादुर थापाका अनुसार प्रधानमन्त्री ओली सोमबार बिहान १० बजे यति एयरको विमान चढेर भद्रपुर विमानस्थलमा उत्रिने योजना छ ।

भद्रपुरबाट उहाँ सोझै दमकको कस्मिक पार्टी प्यालेसमा आयोजना हुने शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रममा सहभागी हुनुहुनेछ । लगभग १२ बजे अघिदेखि ४ बजे  सम्म निरन्तर प्रधानमन्त्री ओली सो कार्यक्रममा रहनु भई शुभकामनासंगै जिल्लाबासी सर्वसाधारण तथा पार्टी नेता, कार्यकर्ताहरुसंग भलाकुसारीमै व्यस्त रहनु हुने बताइएको छ । उहाँ भोलीनै ४ बजे काठमाडौं फर्किने र दशमीका दिन बालुवाटारमा ईच्छुक सर्वसाधारणहरुलाई दशैं टिका लगाइदिने थापाले बताए ।

Facebook Comments Box