सल्यान/  कक्षा ६ मा पढ्ने केटा र ७ मा पढ्ने केटीका बीच विवाह गरिएपछि बाल विवाह गराउने पण्डितसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको कपुरकोट गाउँपालिका वडा नंं. ५ जामुनेबाट दुलाहा–दुलही, उनीहरुका आमा–बुवा र विवाह गराइदिने पण्डितसहित सात जनालाई मंगलबार प्रहरीले पक्राउ गरि हिरासतमा राखेको छ ।

स्थानीय सरस्वती आधारभूत विद्यालयमा कक्षा ७ मा अध्यनरत १४ वर्षीया किशोरी र सोही विद्यालयमा कक्षा ६ मा अध्यनरत १५ वर्षीय किशोर प्रेममा परेपछि आइतबार भागेका थिए ।
भागेर आफन्तकोमा बसेका उनीहरुलाई अभिभावकहरुले सल्लाह गरेर औपचारिक रुपमा धुमधाम पूर्वक विहे गरिदिएका हुन् । लगत्तै कपुरकोट प्रहरी गएर बेहुला–बेहुलीसहित उनीहरुका आमा–बुवा र विहे गराउने पण्डित समेतलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक उमाकान्त जोसीले मंगलबार बेलुका साढे ६ बजेतिर उनीहरु सबैलाई घरबाटै पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेकाहरुविरुद्ध मंगलबार नै म्याद थप गरिसकिएको छ । उनीहरुविरुद्ध बालविबाह सम्वन्धी मुद्दा दर्ता गरेर कानुनी कारवाहीको प्रक्रिया सुरु भइसकेको प्रहरी निरीक्षक जोसीले जानकारी दिए ।

Facebook Comments Box