दमक/ दमकस्थित बहुमुखी क्याम्पसमा अध्यापनका लागि अब सबै कक्षा कोठामा स्मार्ट टेलिभिजनको प्रयोग हुने भएको छ ।

क्याम्पसलाई समय सापेक्ष प्रविधिमैत्री बनाउँदै लगेको यो क्याम्पसले बीबीए लगायतका आंशिक संकायका कक्षा कोठामा केही बर्षअघिदेखिनै स्मार्ट टेलिभिजनको प्रयोग गर्दै आएको थियो ।
पूर्ण निजी स्वामित्वका कतिपय कलेजहरुले कक्षामा प्रविधिको उच्चतम सदुपयोग गर्दै कक्षा सञ्चालन गर्न थालेपछि शैक्षिक गुणस्तरको प्रतिस्पर्धामा उत्रिनु आवश्यक हुने महसुस गरेर यसबर्षदेखि अन्य सबै संकायका कक्षामा पनि अध्ययनका लागि यसको प्रयोग थालिएको क्याम्पस प्रमुख यज्ञराज गिरीले जानकारी दिए ।

क्याम्पसले यस अघि क्याम्पसमा रहेका ८ वटा स्मार्ट टेलिभिजनको प्रयोगलाई निरन्तरता दिँदै आज (आइतबार)देखि थप १२ वटा कक्षा कोठामा स्मार्ट टेलिभिजन जोडेको क्याम्पस प्रमुख गिरीले बताए । संक्षिप्त कार्यक्रमकाबीच क्याम्पस सञ्चालक समितिका अध्यक्ष ढुण्डीराज भण्डारीले कक्षाकोठामा थप स्मार्ट टेलिभिजनबाट अध्यापन कार्यको शुभारम्भ गर्दै प्रविधिलाई पछ्याउन सके समय र अध्ययनमा पर्ने व्ययभार समेत कम हुन सक्ने बताए । बिद्यार्थीहरुले बोलेर भन्दा सिकेर पढ्ने बानीको बिकास गर्न उनले आग्रह गरे ।

क्याम्पसको निर्माणाधिन भौतिक संरचना निर्माणले पूर्णता पाउनै लागेको जानकारी दिँदै अध्यक्ष भण्डारीले पूर्व क्षेत्रमा स्थापित दमक बहुुमुखी क्याम्पसको गौरवलाई बढाउन प्राध्यापक, शिक्षक, बिद्यार्थी , कर्मचारीसँगै आम समुदायको पनि उत्तिकै भुमिका हुने चर्चा गरे ।
सो अवसरमा बीबीए संकायका कोअर्डिनेटर प्राध्यापक रामचन्द्र अधिकारीले दमक बहुमुखी क्याम्पसले विज्ञान र प्रविधिलाई पछ्याउँदै गएको उल्लेख गरे । यस किसिमका स्मार्ट टेलिभिजनको प्रयोग दमक क्याम्पसमा पहिलो पटक गरिएको नभए पनि सबै संकायका सबै कक्षा कोठामा भने पहिलो पटक यसको प्रयोग हुनु सुखद पक्ष भएको उल्लेख गरे ।
इ–लाइब्रेरीको शुरुवात
यसैबीच आजदेखिनै दमक बहुमुखी क्याम्पसमा इ–लाईव्रेरी सञ्चालनमा ल्याईएको छ ।
क्याम्पसको पुस्तकालय तथा प्रयोगशाला ब्यबस्थापन उपसमितिले एक कार्यक्रम बीच इ–लाईव्रेरीको क्याम्पस सञ्चालक समितिका अध्यक्ष ढुण्डिराज भण्डारीले शुभारम्भ गरे ।
लाईव्रेरी शाखाका प्रमुख हरि ढकालका अनुसार शुरुवातीका क्रममा पाँच वटा कम्प्यूटर राखेर इ–लाईव्रेरीको सञ्चालनमा ल्याईएको छ । आवश्यकता अनुसार थप विस्तार गदैं लैजाने लक्ष्य राखिएको उनको भनाई छ ।
उनले इ–लाईव्रेरीबाट विद्यार्थीहरुले केन्द्रीय पुस्तकालयको समन्वयमा इरिसोरेर्स लगायतका शैक्षिक अध्ययन गर्न प्रत्यक्ष सुविधा पाउने बताए ।
क्याम्पसको पुस्तकालय ताथा प्रयोगशाला ब्यबस्थापन उपसमितिका संयोजक वेदु गौतमको अध्यक्षतामा भएको इ–लाईव्रेरी उदघाटन कार्यक्रममा क्याम्पस प्रमुख यज्ञराज गिरी, सञ्चालक समितिका सदस्य गेहनाथ पोख्रेल लगायतले इ–लाईव्रेरीको महत्व र उपयोगिताको विषयमा चर्चा गरेका थिए ।

क्याम्पसले यसअघि भने अध्यापकहरुका लागि इ–लाईव्रेरी स्थापना गरेको थियो ।
क्याम्पसमा विद्यार्थीका लागि लाईवे्ररी स्रोत ,साधनले मजवुत भएपनि हाल सञ्चालनमा रहेको लाईव्रेरी कक्षको भवन भने पर्याप्त नभएकाले छुट्टै भवन निर्माणका लागि प्रदेश तथा संघीय सरकारसंग आवश्यक बजेटका लागि पहल भईरहेको पुस्तकालय ताथा प्रयोगशाला ब्यबस्थापन उपसमितिका संयोजक गौतमले बताए ।

Facebook Comments Box