दमक/झापाको दमक ३ मा आज सम्पन्न प्रथम दमक चुलाचुली कप फुटबल प्रतियोगिताको उपाधी झापाको कमल गाउँपालिकाले जितेको छ । उपाधीका लागि आज भएको फाइनल खेलमा भुटानी शरणार्थी खेलाडीको टिम फेन्स क्लब भुटान बीआरसीलाई शुन्यका विरुद्ध १ गोल गर्दै कमलले उपाधी जितेको हो । मध्यान्तर अघि कमल गाउँपािलकाको खेलकुदा विकास समितिका तर्फबाट विनोद गुरुङले गरेको एक गोलनै उपाधीका लागि निर्णायक बनेको आयोजक समितिका संयोजक कुमार गिरीले जानकारी दिनु भयो ।
उपाधीसंगै कमलले नगद ५० हजार ५ रुपैयाँ पुरस्कार राशीसहित ट्रफी हात पारेको छ ।
उपविजेता फेन्स क्लबले नगद ३० हजार ५ रुपैयाँमा चित्त बुझाउनु पर्यो । विजेता तथा उपविजेता टिमका खेलाडीहरुलाई प्रदेश सभा सदस्य अर्जुन राईको प्रमुख आतिथ्यमा पुरस्कार तथा प्रमाण पत्र वितरण गरिएको दमक ३ का वडाध्यक्ष नविन बरालले जानकारी दिनु भयो ।
प्रतियोगिता समापन कार्यक्रममा दमक नगरपालिकाकी उपमेयर गीता अधिकारीको विशिष्ट आतिथ्य तथा विभिन्न वडाका वडाध्यक्षहरु, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ, संघका लेखा समिति सदस्य कृष्णराज दाहाल,दमक जेसीजका अध्यक्ष भीमराज केसी लगायतको आतिथ्य रहेको थियो ।
दुवै टिमका खेलाडीहरु कडा प्रतिस्पर्धामा उत्रिएका कारण आजको फाइनल खेल निक्कै रोचक बनेको थियो । दमक नगरपालिकाको संरक्षकत्व र वडा नं ३ को संयोजकत्वमा सञ्चालन भएको सो प्रतियोगितामा प्रतियोगिता अवधीभर प्रत्येक खेलको म्यान अफ द म्याचलाई समेत पुरस्कृत गरिएको थियो ।
दमक ३ स्थित चुलाचुली स्कूलको खेलमैदानमा गत असोज २९ गतेदेखि शुरु भएको सो प्रतियोगितामा दमक र आसपासका एक दर्जन टीमले सहभागिता जनाएका थिए ।