दमक/ हिन्दुहरुले मनाउने महत्वपूर्ण पर्वका रुपमा लिइने गरेको तिहार अर्थात दिपावलीको चौतर्फी उल्लास छाएको छ । पाँच दिन सम्म मनाइने गरेको तिहार यसबर्षको नेपाली पात्रो अनुसार ४ दिनमा सिमित छ ।

शनिबारदेखि शुरु भएको तिहारको अन्तिम दिन अर्थात भाई टिका लगाएसंगै मंगलबार समापन हुनेछ । तिहारको अवसरमा झिलिमिली बत्ती बालिने भएका कारण यो पर्वलाई झिलिमिलीको पर्व र फुलहरुको पर्व पनि भनिन्छ । तिहारका लागि सर्वसाधारणहरुले आआफ्नो घर आँगन सजाएर चौतर्फी बत्ती बालेर उज्यालो बनाएका छन भने विद्युतीय वत्तीको खपत समेत तिहारमा अधिक हुने गरेको छ । यसका कारण बजारमा अनेकौं किसिमका सामाग्रीहरुको व्यापारिक कारोबार उच्च हुने व्यवसायीहरुले बताएका छन् ।

दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ बजारमा दैनिक उपभोग्य सामाग्रीको किनबेचसंगै अन्य विलासिताका बस्तुहरुको पनि कारोबार बढ्दो गतिमा रहेको बताउनु हुन्छ । विशेष गरी क्षणिक मनोरञ्जनका लागि बजारमा विद्युतीय दियो, बत्ती ( झिलिमिली) आदीको किनबेच उच्च हुने गरेको छ । खाद्यन्न तथा उपहार स्वरुप आदनप्रदान हुने लत्ता कपडाको पनि व्यापार बढेको छ ।
मनोरञ्जनका लागि बजारमा प्रतिबन्धित विस्फोटक पदार्थ पटाकादेखि स्वास्थ्यका लागि जोखिमयुक्त खानेकुराहरु छ्याछ्याप्ती भएका छन् । तिहारलाई पूर्ण मनोरञ्जनको पर्वका रुपमा लिदैं द्यौसी भैलो तथा नाचगानका कार्यक्रमहरु पनि शुरु भएका छन् । कतिपय स्थानमा शुभकामना आदनप्रदानका लागि सांगितिक कार्यक्रमहरुलाई माध्यम बनाइएको छ ।

तिहार शुरु हुन अघिदेखिनै झापा क्षेत्र नं ४ का सांसद एलपी साँवा आफ्नो निर्वाचन क्षेत्रमा शुभकामना आदनप्रदान तथा सांगितिक कार्यक्रमहरुमा केहि दिन यता व्यस्त हुनुहुन्छ । झापाको शिवसताक्षीमा पर्ने झिलझिलेमा बर्षेनी दशैं तिहारकै अवसरमा गरिँदै आएको बृहत सांगितिक कार्यक्रम तथा कन्सर्टलाई यस बर्ष पनि निरन्तरता दिइएको छ । गत शुक्रबार झिलझिलेमा चर्चित ब्याड तथा कलाकारहरुले आआफ्नो प्रस्तुतीका माध्यमबाट मनोरञ्जन दिलाएका छन भने
शनिबार गौरीगञ्ज १ स्थित कुञ्जीबारी बजारमा राष्ट्रिय कलाकारहरुको उपस्थितीमा बृहत सांगितिक कार्यक्रम आयोजना गरिएको छ । सो कार्यक्रममा चर्चित राष्ट्रिय कलाकारहरुसंगै स्थानीय कलाकारहरुले मनोरञ्जन दिलाएका छन् ।
तिहारकै अवसर पारेर नेकपा झापाले शुभकामना आदनप्रदानसहित देउसी भैलो सञ्चालन गरेको नेकपा झापाकी जिल्ला सदस्य लिला दाहालले जानकारी दिनु भयो । पार्टी नेता एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यमा विर्तामोडमा सो कार्यक्रम शुरु गरिएको हो । त्यस्तै शिवसताक्षीको दुधेमा रहेको सदाबहार सांगितिक समुहले पनि तिहारको अवसरमा सांगितिक कार्यक्रमसहित देउसी भैलोलाई निरन्तरता दिएको समुहका संयोजक दिपक तामाङले जानकारी दिनु भयो ।
नेपाली कांग्रेसले पनि तिहारको अवसरमा स्थानीय गाउँ÷नगर र वडा समितिको अगुवाईमा ठाउँ ठाउँमा देउसी भैलो सञ्चालन गरेर शुभकामना आदनप्रदानलाई निरन्तरता दिने कांग्रेस झापा क्षेत्र नं ५ का सचिव धर्मानन्द भट्टराईले जानकारी दिनु भयो । विशुद्ध शुभकामना आदनप्रदान र मनोरञ्जन केन्द्रित देउसी भैलो खेल्न सबै साथीहरु आआफ्नो तयारीमा हुनुहुन्छ – सचिव भट्टराईले भन्नु भयो ।

 

Facebook Comments Box