दमक/ झापाको झापा गाउँपालिकामा पर्ने नेपाल रेडक्रस सोसाईटी शरणामती उपशाखाले यस बर्षको तिहारमा सञ्चालन गरेको देउसी भैलो बाट नगद १ लाख ८० हजार रुपैयाँ संकलन भएको छ ।
सोसाइटीको हालै बनेको नयाँ नेतृत्वले विभिन्न किसिमका प्राकृतिक प्रकोपमा परी राहत तथा सहयोगको पर्खाइमा रहेका सर्वसाधारणलाई आपत्तकालिन अवस्थामा सहयोग पुरयाउन कोष स्थापनाका लागि सो देउसी भैलो सञ्चालन गरेको थियो ।
उपशाखाका सभापति केशब बजगाइँका अनुसार तिहार अवधीभर रेडक्रसकर्मी तथा सर्वसाधारणले उत्साहपूर्वक देउसीभैलोमा सहभागिता जनाएका थिए ।
देउसी भैलोमा मनोरञ्जनसंगै संकलन भएको दक्षिणा वापतको सो रकमबाट उपशाखाको आकस्मिक राहत कोष स्थापना गरी पीडितहरुलाई आवश्यक परेको समयमा राहत उपलब्ध गराउने योजना रहेको सभापति बजागाइँले जानकारी दिनु भयो ।
आफ्नै भवनमा सञ्चालित रेडक्रस उपशाखा शरणामती अन्तर्गतको क्षेत्र खोला नदीको बाढीबाट बर्षेनी धेरै मानिसहरु प्रभावित हुने क्षेत्र हो । सोसाइटीले यस अघि समेत विभिन्न राहत सहयोग तथा मानवीय सेवाका कार्यहरुमा अग्रणी भुमिका निर्वाह गर्दै आएको छ ।