दमक/ दशैंमा जस्तै तिहारको अवधीमा पनि झापासहित प्रदेश नं १ का विभिन्न स्थानमा अकालमा ज्यान गुमाउनेको संख्या उच्च देखिएको छ । मंगलबार सकिएको तिहारको अवधीमा दुर्घट्नामा परी ६ जनाले ज्यान गुमाएका छन भने ५३ जनालाई घाईते भई उपचारका लागि अस्पताल भर्ना गर्नुपरेको छ ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको सुचना समन्वय एकाईका अनुसार दुर्घट्ना न्यूनिकरणका लागि ट्राफिक प्रहरीसंगको सहकार्यमा भएका प्रयासका बाबजुद मादक पदार्थ सेवन, चालकको लापरवाही, तिव्र गति, सडकको जीर्णवस्था, सवारी व्यवस्थापनको अभाव, सर्वसाधारणमा चेतनाको कमी जस्ता कारणवाट १ नम्बर प्रदेशका विभिन्न स्थानमा ति दुर्घट्ना भएका हुन् । सो अवधिमा ४१ वटा सवारी साधन दुर्घटनामा परेका छन् । जस अनुसार बस ७, माईक्रो १, कार जिप १ , ट्याक्टर १, ट्याम्पो ३, मोटरसाईकल २६ र साईकल २ वटा थिए ।
यसैगरी तिहारको अवधीमै प्रदेश १ का बिभिन्न स्थानहरुमा १४ जनाले आत्महत्याको बाटो रोजेका छन् । प्रहरीका अनुसार ११ जनाले झुण्डीएर र ३ जनाले बिषादी सेवन गरेर आत्महत्या गरेका छन् भने झुण्डीएर आत्महत्या गर्ने क्रममा २ जना र बिषादी सेवनबाट १४ जना घाईते भएका छन् भने भौगोलिक विकटताका कारण कतिपय ठाउँमा लडेर ४ जनाको मृत्यु भएको छ ।
त्यस्तै मादक पदार्थ सेवन गरी कुटपीट तथा झै झगडा हुँदा एक जनाको मृत्यु भएको छ भने २० जना घाईते भएका छन् ।
दिपावली गर्ने क्रममा ५ घरमा आगलागी हुदा ४२ लाख बराबरको क्षति भएको छ । यस्तै बिद्युत सर्ट भएर १० घरमा आगलागी भएको र अन्दाजी १ करोड ४५ लाख बराबरको क्षति भएको छ । आगलागीमा परी २ जनाको मृत्यु र ३ जना घाईते भएका छन् ।