दमक/गत बिहिबारदेखि शुरु भएको शुद्धता, सद्भाव र आस्थाको पर्व छठको आज मुख्य दिन ।

आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्व अन्र्तगत व्रतालुले आज बेलुकी कुण्ड, पोखरी र तलाउमा उभीएर दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षता, फूल हालेर खेतबारीमा भएका पूजा सामग्री र घरमा बनाइएको विशेष पकवान अस्ताउन लागेको सूर्यलाई अघ्र्य दिई पूजापाठ गर्ने छन् ।

झापाका विभिन्न खोला नदीका तटहरुमा आज अस्ताउँदो सूर्यलाई अघ्र्य दिनका लागि घाट अर्थात पूजा निर्माणस्थल सिंगारिएका छन् । रतुवा खोलाका दुवै किनार छठ पूजाका लागि सिंगारिदा त्यहाँको दृश्य मनमोहक र आकर्षक देखिएको छ । त्यसैगरी कन्काई, विरिङ, मेची, कमल खोला, गेरिया, किस्नी लगायतका खोला नदीका किनारमा समेत आकर्षक ढंगबाट भक्तजनहरुले पूजास्थल सजावट गरेका छन् ।
सन्तान प्राप्ति, निरोगिता, सुख, समृद्धि र चर्मरोग निको हुने जनविश्वासअनुरुप पारस्परिक आत्मीयता र सद्भावको प्रतीक यो पर्व मनाइन्छ ।
यस पर्वमा धनी, गरीब, उचनिचको भेदभावलाई छोडेर सबै वर्ग, समुदाय एउटै सांस्कृतिक पृष्ठभूमिमा पूजाअर्चनाका लागि उभिने गरेको पाइन्छ ।

Facebook Comments Box