दमक/ शुक्रबारदेखि दमक नगरपालिका वडा नं १० को आधारभूत स्वास्थ्य केन्द्रमा सर्वसाधारणको आधारभूत स्वास्थ्य परिक्षणका लागि प्रयोगशाला (ल्याब) को सेवा शुरु भएको छ ।
यसअघि वडा नं ९ र ६ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा यो सेवा शुरु भइसकेको छ भने असोज भित्रै वडा नं ३ र ४ मा पनि यो सेवा शुरु गर्ने तयारी भइरहेको दमक नगरपालिकाले जनाएको छ ।
केएचडीसी नेपालको विशेष सहयोगमा दमक अस्पताल, किओच बाल अस्पताल र नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकसँग सहकार्यमा विशेषज्ञ चिकित्सक सेवा पनि प्रत्येक स्वास्थ्य केन्द्रहरूबाट प्रदान गर्ने लक्ष्यसहित आधारभूत स्वास्थ्य केन्द्रहरुमा ल्याब सेवा शुरु गरिएको नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई (प्रसाइँ)ले जानकारी दिइन् ।

ल्याब सेवा तथा शिविरको उदघाटन दमक १० का वडाध्यक्ष राजेन्द्र भण्डारी, दमक नगर प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्य र उपप्रमुख रेगिना भट्टराई प्रसाइको विशेष आतिथ्यमा दमक १० का पूर्व वडाध्यक्ष बोधराज न्यौपाने, दमक अस्पतालका मेसु डा. कृष्ण साह लगायतको आतिथ्यमा गरिएको हो ।

वडा नम्बर ४ र ३ मा असोज महिनाभित्रै ल्याब सेवाको शुभारम्भ गरिने र यस आर्थिक वर्षमा वडा नम्बर २ र वडा नम्बर ८ मा पनि ल्याब सेवाको शुभारम्भ गर्ने योजनासहित बजेट लगायत आवश्यक जनशक्ति व्यवस्थापन भइसकेको उनले बताइन् । वडामा स्थापना भएका आधारभूत स्वास्थ्य केन्द्रमा सञ्चालित ल्याबबाट विभिन्न ३३ प्रकारका स्वास्थ्य परिक्षण गर्न सकिने जनाइएको छ ।
वडा नं १० मा ल्याब सेवा उदघाटनको अवसर पारेर नाक, कान, घाँटी र बालरोग सम्बन्धी एकदिवसीय शिविर पनि आयोजना गरिएको दमक १० का वडाध्यक्ष राजेन्द्र भण्डारीले जानकारी दिए ।
गत वर्षमा जस्तै दमकमा यस बर्ष पनि महिलाहरूको प्रजनन स्वास्थ्य आङ खस्ने समस्या पाठेघरको मुखको क्यान्सर स्तन क्यान्सरको स्क्रिनिङ शिविरलाई पनि यो वर्ष निरन्तरता दिइने उपप्रमुख भट्टराईले जानकारी दिइन् ।
२०७९ को स्थानीय तह निर्वाचनपछि पदबहाली गर्दै दमकका सबै वडामै ल्याब सेवा शुरु गर्ने उपप्रमुख प्रसाइँले पहिलो निर्णय लिएकी थिइन् । वडा तहमा शुरु भएको ल्याब सेवाले सो निर्णय कार्यान्यवन भइरहेकोको रुपमा लिन सकिन्छ ।