दमक/नेपाली चलचित्र आरुसी शनिबार अष्ट्रेलियामा प्रदर्शन हुँदैछ । सो चलचित्र नेपाल बाहिरबाट प्रदर्शन आउन लागेको हो । सो चलचित्रको पहिलो प्रदर्शन अष्ट्रेलियाबाट सुरु हुने भएपछि चलचित्रका नायक इशक राई अष्ट्रेलिया पुग्नु भएको छ ।
सोही चलचित्र’ मार्फत नेपाली चलचित्र क्षेत्रमा नायकको भुमिकामा प्रवेश गर्नुभएका नायक राई चकलेटी अनुहारमा हुनुहुन्छ । नेपाली गायन क्षेत्रबाट कलाकारितामा प्रवेश गर्नुभएका ईशकको लागि चलचित्र आरुसी आफैंमा एउटा महत्वपूर्ण प्रवेशद्धार हो ।
निर्देशक उदय सुब्बाद्वारा निर्देशित ‘आरुसी’ मा मुख्य नायकका रुपमा देखिन लागेका इशकले भने, ‘यो मेरो डेब्यु फिल्म हो, जहाँ सम्म सबैले माया गरिदिनु हुन्छ भन्ने विश्वास छ ।’ करिब १ करोड रुपैयाँको लगानी रहने भनिएको फिल्म ‘आरुसी’मा इशकसँगै रमा लिम्बु, सुनिल थापा, सुरविर पण्डित, दमन रुपाखेती लगायतका कलाकारको अभिनय छ ।
बिकाश चौधरी र ताराप्रकाश लिम्बुको संगीत रहेको सो फिल्मका लागि निर्देशक सुब्बाले नै गीत लेखेका छन् ।
त्रिकोणात्मक प्रेमकथामा आधारित यस फिल्ममा साहारा प्रधान, बिरु गुरुङ र केशवकुमार श्रेष्ठको संयुक्त लगानी रहेको छ भने नृत्य निर्देशक दिनेश पाख्रिन र कमल राई रहनु भएको छ । सो चलचित्र झापा, इलाम, तिर्थुङ, ताप्लेजुङ र संखुवासभालगायत पुर्वका विभिन्न स्थानमा छायांकन गरिएको छ ।