गौरादह/झापाको गौरादह नगरपालिकामा फरक राजनीतिक दलको तर्फबाट निर्वाचित जनप्रतिनिधिबीच विवादका कारण बैठक बस्न नसकेको भन्ने प्रचारका बीच शुक्रबार नगर प्रमुख, उपप्रमुखसहित २ वटा वडाका वडाध्यक्षहरुको संयुक्त सहभागितामा नगरपालिकाको नीति, बजेट तथा कार्यक्रम सार्वजनिक भएको छ ।

सो नगरमा कांग्रेसका तर्फबाट जननिर्वाचित नगर प्रमुख रोहित कुमार साह र नेकपाबाट जननिर्वाचित उपप्रमुख गीता भेट्वालसहित नेकपा समर्थित जनप्रतिनिधिहरुबीच आपसी तालमेलको अभाव हुँदा नगर कार्यापालिकाको बैठक समेत बस्न नसकिरहेको भन्ने चर्चाका बाहिर आईरहेको थियो ।
त्यस्तो चर्चाका बीच प्रमुख, उपप्रमुख, वडा नं १ , २ र ३ का वडाध्यक्षहरु संयुक्त रुपमा सहभागी भई नगरपालिकाको तर्फबाट वडा नं १ को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा गत असारमा सम्पन्न भएको नगरपालिकाको आर्थिक बर्ष २०७६/०७७ को नीति, बजेट तथा कार्यक्रम विवरण उल्लेखित पुस्तिका सार्वजनिक गर्दै नगरपालिकामा व्याप्त समस्याहरुका बिषयमा समेत जानकारी गराईएको छ ।
के छ पुस्तिकामा ?
चालू आर्थिक बर्षको झण्डै ४ महिनापछि सार्वजनिक भएको बजेट पुस्तीकामा नगर प्रमुखबाट चौथो नगर सभामा प्रस्तुत भएको बार्षिक नीति तथा कार्यक्रम, उपप्रमुखबाट प्रस्तुत बजेट तथा कार्यक्रम, नगर सभाबाट पारित विभिन्न ६ वटा ऐन, गत आर्थिक बर्षको आय व्यय, आगामी तीन बर्षको आय प्रक्षेपण, चालू आवमा सञ्चालन हुने नगरस्तरीय योजना तथा कार्यक्रमहरु, वडास्तरीय योजना तथा कार्यक्रम, बिषयगत शाखाहरुको योजना, संघ र प्रदेश सरकारसंग माग गरिने योजना तथा कार्यक्रमहरु, न्यायिक समितिको कार्य प्रगति विवरण, नगर सभाबाट स्वीकृत गरेको थप दरबन्दी विवरण आदि बिषयहरु समेटिएको छ ।
त्यस्तै नगर गौरवका योजनाहरु, वडागत वजेट सिलिङ, पूँजीगत , चालू र प्रशासनिक खर्चको विवरण आदि समेत समावेश गरिएको छ । नगरपालिकाका प्रमुख रोहित कुमार साहले चौथो नगर सभाबाट करीब ८५ करोड ५२ लाख रुपैयाँ आय व्ययसहितको बजेट कार्यान्वयनको चरणमा रहेको बताउनु भयो । नगर सभाका निर्णयहरु यस अघिनै सार्वजनिक भएपनि प्राविधिक कारणले पुस्तकका रुपमा सार्वजनिक गर्न भने ढिलाई भएको नगर उपप्रमुख गीता भेट्वालले स्वीकार्नु भयो । उहाँले नगरपालिकाका कार्यालयबाट भईरहेका कामहरुको बिषयमा नगरबासीहरुबाट आईरहेको गुनासो सम्बोधन गर्न नगरपालिका लागिपरेको पनि बताउनु भयो ।
नगरको काममा किन ढिलाई ?
नगर प्रमुख साहले गौरादह नगरको कार्य सम्पादनमा उत्पन्न असहज परिस्थितीबारे पत्रकारहरुले राखेको जिज्ञासामा राजनीतिक आस्था र विचारका कारण विधि सम्मत सञ्चालन हुनुपर्ने नगरका कामहरुमा अवरोध नआएको तर संघीय सरकारले पर्याप्त कर्मचारी नपठाएका कारण र पछिल्लो समय प्रमुख प्रशासकिय अधिकृतले गैह्र जिम्मेवार ढंगबाट एकाएक विदा वसिदिँदा नियमित कार्य सम्पादनमा समस्या भने आएको स्वीकार्नु भयो । उहाँले भन्नु भयो – हामी जनप्रतिनिधिले नीतिगत निर्णय गर्ने हो , गरेकै छौं त्यसको कार्यान्वयनका लागि प्रमुख प्रशासकिय अधिकृत र कर्मचारीहरुको हात हुन्छ कर्मचारीनै नभएपछि कार्य सम्पादनमा गुनासो त आउनेनै भयो । अब एक÷दुई दिन भित्रै गौरादहले प्रमुख प्रशासकिय अधिकृत पाउँदैछ उहाँँको उपस्थिती हुनासाथ यहि कार्तिकको मसान्तदेखि नगरको कामले गति लिन्छ । नगर प्रमुख साहले सहि उद्धेश्य लिएर आउने राष्ट्रसेवक कर्मचारीलाई गौरादह नगरमा कुनै पनि किसिमको वाधा व्यवधान नरहेको पनि जिकिर गर्नु भयो ।
५ वडालाई निशुल्क जग्गा
पत्रकार सम्मेलन मार्फत बजेट तथा कार्यक्रम पुस्तिका सार्वजनिक गर्दै नगर प्रमुख साहले विभिन्न ५ वटा वडामा नगरबासीहरुले वडा कार्यालय भवन निर्माणका लागि निशुल्क जग्गा प्रदान गरेको जानकारी गराउनु भयो । जग्गा प्राप्त भईसकेका वडाहरुमा वडा कार्यालय भवन निर्माणको प्रकृया समेत अघि बढिसकेको उहाँले जनाउनु भयो । प्रदेश सरकार र संघीय सरकारले विनियोजन गरेको बजेटबाट भवन निर्माण कार्य अघि बढेको पनि पत्रकार सम्मेलनमा जनाइयो ।
पोखरीको पुनः डीपिआर
त्यसैगरी गौरादह पोखरीको विकासका लागि यस अघि बनेको डीपिआर क्यान्सिल गरेर दोश्रो डीपिआर बनाउने काम भईरहेको वडा नं १ का वडाध्यक्ष एवम् नगर प्रवक्ता नगेन्द्र भण्डारीले जानकारी दिनु भयो । सो पोखरीको संरक्षण र विकासका लागि चालू बर्ष प्रदेश सरकारले १ करोड ५० लाख रुपैँया बजेट विनियोजन गरेको पनि भण्डारीले बताउनु भयो ।
वडा वडामा सेवा
नगरपालिकाले भविष्यमा सबै वडाहरुमा कम्तीमा एक ÷ एक जना पशु, कृषि तथा प्राविधिक सहायक उपलब्ध गराएर नगरबासीलाई वडा वडाबाटै सेवा प्रदान गर्ने नगरपालिकाको योजना रहेको नगर प्रमुख साहले बताए । नगरमै एमबीबीएस डाक्टरको दरबन्दी थप गरिसकिएको, दामुनामा खसी बोका निर्देशनालय, बैगुन्धुरा बजार विकास लगायतका योजनाहरुमा विभिन्न निकायको बजेट समावेश गराइने पनि उहाँले बताउनु भयो ।

Facebook Comments Box